Logo
Logo

कस्तो हुनेछ ‘स्मार्ट लकडाउन’ ?


दृष्टि संवाददाता



काठमाडौं । कोरोना संक्रमणमा केही कमी आएपछि सरकारले ‘स्मार्ट लकडाउन’को अवधारण अघि बढाएको छ । संक्रमण फैलन नदिने गरी आर्थिक क्षेत्रलाई विस्तारै खुला गर्ने सरकारको योजना छ ।


बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको कोभिड–१९ संकट व्यवस्थापन समिति (सिसीएमसी)को बैठकले ‘स्मार्ट लकडाउन’को अवधारण अघि सारेको हो । जसअनुसार निषेधाज्ञालाई व्यवहारिक बनाइने सिसिएसमीका प्रमुख कार्यकारी अधिकृत बालानन्द शर्माले बताए । ‘फेरि संक्रमण फैलन नदिने गरी आर्थिक क्षेत्र खुला गराउने योजनाअघि स्मार्ट लकडाउनको अवधारणा सारिएको हो,’ उनले भने,‘यसअन्र्तगत परिस्थितीअनुसार निर्णय गर्दै गइनेछ ।’


शर्माका अनुसार ८ असारबाटै ‘लुजडाउन’ हुने सम्भावना छैन । त्यसपछिको हप्तामा पनि संक्रमणदर र मृत्युदुर घट्दै गएमा स्मार्ट लकडाउनको अवधारण लागू हुने छ ।

गत वर्ष असारबाटै सरकारले लकडाउन खुकुलो बनाएको थियो । तर, एक महिनामै संक्रमण बढेपछि फेरि कडा लकडाउन गरिएको थियो । त्यही घटनबाट सिकेर यसपटक सरकारले निषेधाज्ञा खोल्दा थप सतर्कता अपनाउन लागेको हो । ‘हामी हचुवाको भरमा निषेधाज्ञा खोल्ने पक्षमा छैंनौं, गत वर्ष असारमा लकडाउन खोल्दा संक्रमण बढ्यो,’ शर्मा भन्छन्,‘यसपटक हामी फेरि त्यस्तो अवस्था नआओस् भन्नेमा छौं, जनताको जीवन मुख्य कुरा हो, त्यसकारण हामी परिस्थितीको गहन मूल्याङकन गरेर अघि बढ्नेछौं ।’
शर्माका अनुसार सकेसम्म आर्थिक क्षेत्रलाई पनि केही खुकुलो गर्दै जाने र ५÷६ जना भन्दा धेरै व्यक्ति भेट नहुने गरी स्मार्ट लकडाउनको अवधारण लागू गरिने छ । ‘गत वर्ष हामी जोर–बिजोर प्रणालीमा गयौं,’ उनी भन्छन्,‘यसपटक हामी अत्यावश्यकताको आधारण निर्णय गर्छाै, एक तिहाई मात्र सवारी चलाउँदा पुग्ने अवस्था जोर–बिजोर नै गरिरहनुपर्ने आवश्कयता नहुन सक्छ ।’

संक्रमणदर पाँच प्रतिशतबाट नघटी निषेधाज्ञा खुल्दैन
बालानन्द शर्मा, प्रमुख कार्यकारी अधिकृत, सिसिएमसी
स्मार्ट कन्ट्रक्सजन भने जस्तै हामीले स्मार्ट लकडाउनको अवधारण अघि सारेका हौं । यो भनेको जति आवश्यता छ, त्यती मात्र खुकुलो गर्ने र संक्रमण बढ्न नदिने गरी स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्दै आर्थिक क्षेत्रलाई खुकुलो बनाउने हो ।
हचुवाको भरमा खुकुलो गर्न मिल्दैन । अहिले हाम्रोमा संक्रमणदर २३÷२४ प्रतिशत छ । त्यो भनेको एकदमै उच्च हो । हिजो हाम्रो देशमा भारतमा भन्दा दयनिय अवस्था थियो । हाम्रोमा दैनिक दुई सय जनाको मृत्यु हुनु भनेको जनसंख्याका आधारमा भारतमा दैनिक २० हजारको मृत्यु भएको बराबर हो । त्यो अवस्थाबाट हाम्रोमा अहिले अवस्था नियन्त्रणमा आएको छ । तर, संक्रमणदर अझै उच्च नै छ ।
विश्व स्वास्थ्य संगठनले संक्रमणदर पाँच प्रतिशतबाट तल नआई लकडाउन खोल्न मिल्दैन भनेको छ । त्यसकारण हामी गम्भीर मूल्याङकन गरेर मात्र निर्णय गर्दै जान्छौं । अर्काेतर्फ कोरोनाको नयाँ भेरियन्ट पनि आउन सक्छ ।
अहिले निषेधाज्ञाकै कारण अवस्थामा नियन्त्रणमा आएको हो । त्यसकारण तत्कालै निषेधाज्ञा हट्ने सम्भावना छैन । अब हामीले भ्यासिनमा पनि पहल गरिरहेका छौं । चीनबाट ४० लाख डोज खोप किन्ने निर्णय भयो भन्ने सुनेका छौं । खरिदको प्रक्रिया परिपक्क हुँदैछ ।
सर्वसाधरणको दैनिक रोजीरोटी पनि नगुमोस् र कोरोना संक्रमण पनि नफैलियोस् भन्ने हाम्रो उदेश्य छ । त्यसकारण लागि निषेधाज्ञालाई व्यवहारिक र स्मार्ट बनाउने हाम्रो तयारी छ ।

प्रतिक्रिया दिनुहोस्