Logo
Logo

ठूलो संख्यामा प्रहरी अधिकारीको हेरफेरको तयारी


दृष्टि संवाददाता



काठमाडौं । गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी अधिकारीको हेरफेरको तयारी थालेका छन् । डिएसपीदेखि डिआइजीसम्मका प्रहरीको सरुवा हुन लागेको हो ।


सातै प्रदेशमा इन्चार्जका रुपमा कार्यरत डिआइजीको सरुवाको तयारी भइरहेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गृहमन्त्री खगराज अधिकारीलाई डिआइजी सरुवामा आफ्नो सूची बुझाइसकेको स्रोत बताउँछ ।


प्रदेशका लागि सहकुल थापा, अरुण बिसी, दिवेश लोहनी, प्रकाशजंग कार्की, गणेश ऐर, मुकुन्द आचार्य, डा देवबहादुर बोहरा, पुरुषोत्तम कँडेलबीच प्रतिस्पर्धा छ । यो वर्ष चुनाव हुन सक्ने भएकाले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आफ्ना निकट डिआइजीलाई प्रदेश पठाउन लागेका छन् । गृहमन्त्री खगराज अधिकारीले आज भोलि नै प्रधानमन्त्री ओलीसँग छलफल गरेर सरुवाको निर्णय गर्ने तयारी गरेका छन् ।
त्यस्तै, विभिन्न संघीय प्रहरी इकाई तथा तालिम केन्द्रमा समादेशकका रुपमा कार्यरत एसएसपीको पनि सरुवा गर्न लागिएको छ ।
विभिन्न जिल्लाका एसपीको पनि सरुवाको समय भइसकेको छ । मोरङ, सुनसरी ,कास्की, दाङ, बाँके, कपिलवस्तु, पूर्वी नवलपरासी लगायत जिल्लामा एसपीको सरुवा तयारी भइरहेको छ ।
उपत्यकाका वृत्त लगाउत विभिन्न जिल्ला र इप्रकाका कार्यरत डिएसपीको पनि सरुवा गर्न लागिएको छ । तुलनात्मक रुपमा स्वच्छ छवीको भनेर चिनिएका गृहमन्त्री अधिकारीले सरुवा तथा बढुवामा कति निष्पक्षता अपनाउन सक्छन् त्यसमा उनको पहिलो मुल्याङकन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्