Logo
Logo
साहित्य

दोहामा विशिष्ट श्रोता बन्दा


तीर्थ सिग्देल



प्रहरीको केरकारमा परेँ

सबै यात्रा सुखद् हुन्छन् भन्ने हुँदैन र सबै दुःखद् पनि । पहिलो कतार यात्रामा दुबै अनुभूति संगालेको छ ।
सन् २०१३ डिसेम्बर । म कतारका लागि भिजिट भिषामा निस्केको थिएँ ।

आज पनि कतार, दुबई, मलेशिया, ओमान, साउदी, कुबेत लगायतका देशमा लाखौं नेपाली कामदारका रुपमा काम गर्न गइरहेका छन् । स्वाभाविकै हो, स्वदेशमा विकल्प नभएपछि विदेशिनै पर्छ । जतिबेला मान्छेहरुले देशमा कामको अवसर पाउँदैनन्, त्यतिबेला विदेशिनु उनीहरुको बाध्यता बन्छ । विदेशलाई बलियो विकल्पको रुपमा लिदै आफ्नो घरबार छाडेर अर्काको देशमा रगत पसिना बगाउन बाध्य छन्, उनीहरु ।

म पनि त्यस्तै आम नेपालीहरु, जो विदेशिन बाध्य थिए, त्यही लाइनमा खडा थिएँ । म त्रिभुवन अन्तर्राट्रिय विमानस्थलको त्यो कक्षमा थिएँ, जहाँबाट दैनिक सरदर १५ सय भन्दा धेरै नेपाली बाहिर गइरहेका हुन्छन् । बोर्डिङ पास लिने बेला लाइनमा म अलग्गै दरिएँ । कामका लागि विदेशिने नेपाली युवालाई खासै फरक परेन । तर, म माथि किन जान लागेको ? कति दिन बस्ने ? भिजिट भिषामा किन जान लागेको ? भन्ने जस्ता प्रश्नहरु धेरै तेर्सिए । यस्ता प्रश्न बरु सामान्य लाग्थे, त्यो भन्दा अघिको पीडा भुल्न सकिन्न ।

पहिलो दिन जब म एयरपोर्ट भित्र प्रवेश गरें । भिजिट भिषामा विदेश जाने नेपालीले १५ सय डलर सो गर्नु पर्ने रहेछ । त्यो सूचनाको अभावमा मैले अलिकति दुःख पाएँ । तर, त्यो तत्कालै प्रबन्ध गरियो । एयरपोर्टमा रहेको मनी चेन्जरमा जब मैले त्यो रकम साटें । तब एयरपोर्टमै खटिएका एकजना प्रहरीको केरकारमा परें म ।

मैले भने, म कतार कार्यक्रममा जान लागेको हो । म लेखक । पत्रकार हुँ ।
त्यति भन्दा पनि उसले मानेन । मैले मेरो पहिलो प्रकाशित पुस्तक पनि देखाएँ । तैपनि ऊ मलाई रोक्ने मनस्थितिमै देखियो । मैले यो कुरा जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई बताएँ । उहाँले विश्वमणिलाई भन्नु भन्नुभयो । विश्वमणिले विमानस्थलका डीआइजी राजेन्द्रसिंह भण्डारीलाई भनेछन् । दुःखको कुरा त्यतिन्जेलसम्म प्लेनले मलाई पर्खेन ।

मलाई बिना कारण एयरपोर्टमा रोक्ने ती बिचरा प्रहरी निरिक्षक राजकुमार राई रहेछन् । उनी हाल कहाँ कार्यरत छन्, त्यो खोजको विषय बनाइएको छैन । तर, तिनकै कारण मलाई कतार एयरबेजले त्यसदिन पर्खिन सकेन । भोलिपल्ट सोही जहाजमा म कतारका लागि प्रस्थान गरें । मनभरि एउटा गम्भीर सवाल खडा गरेर ।

त्यो सवाल, आज पनि उत्तिकै पेचिलो छ । आज पनि नेपालीलाई विदेशतिर हेर्ने दृष्टिकोण राम्रो छैन । कतिपय नेपालीकै कारण पनि त्यसो भएको होला तर कतिपय नीतिगत व्यवस्थाका कारण पनि समस्या भइरहेको छ । आम नेपालीलाई के दोष दिनु ? यहाँ त आफ्नै देशको सरकार, आफ्नै प्रशासन, आफ्नै प्रहरीले ठिक बेठिक छुट्याउन सक्दैन । विदेश जाने नेपालीलाई विदेशकै सरकारले शंका गर्नु त अचम्मको विषय होइन । तर, दुःखको कुरा यहाँ त आफ्नै सरकारले शंका पर्छ । यस्तो शंकास्पद नजरको कथा डरलाग्दो छ ।

आजपनि नेपालीहरुले सहजरुपमा विश्वका धेरै देशमा प्रवेश पाउँदैनन् । भिषा दिने प्रावधान कडा छ । युरोप, अमेरिकाको कुरै छाडौं, सानातिना देशले पनि भिषामा कडाइ गर्ने गर्छन् । जबसम्म आफ्ना नागरिकले अरु देशको भ्रमण गर्न पाउँदैनन्, त्यति नै अनुभव आदानप्रदान हुन सक्दैन । सिक्ने त अरुले गरेको देखेर र भोगेर नै हो । अचम्म, हाम्रो मुलुक यस्तो हो ? जसले आफ्ना नागरिकलाई घुम्न जानबाट रोक्छ !

युरोपियन, अमेरिकनहरुमा मात्र होइन, भारतीयहरुले पनि घुम्नुलाई प्राथमिकता दिन्छन् । मेरा एकजना अमेरिकन साथी छन्, क्रिष्टोफर स्ट्याम्पर नामका । उनी अहिले २७ वर्षका भए । उनले २८ बटा देश घुमिसकेका छन् । उनी भन्छन्, जति धेरै भ्रमण गर्यो, उति नै सम्भावना र अवसर आउँछ । ज्ञानको दायरा बढने मात्र नभई, सोच्ने तरिकामा पनि फरक पर्छ ।

मलाई बिना कारण एयरपोर्टमा रोक्ने ती बिचरा प्रहरी निरिक्षक राजकुमार राई रहेछन् । उनी हाल कहाँ कार्यरत छन्, त्यो खोजको विषय बनाइएको छैन । तर, तिनकै कारण मलाई कतार एयरबेजले त्यसदिन पर्खिन सकेन । भोलिपल्ट सोही जहाजमा म कतारका लागि प्रस्थान गरें । मनभरि एउटा गम्भीर सवाल खडा गरेर ।

उनीहरुमा भिजिट कल्चर बनिसकेको छ । यहाँ बिडम्बना ! यदि कोही नेपालीले भ्रमण गर्न चाह्यो भने एयरपोर्टमै रोकिन्छ । मानिसले आफ्नो शरीर स्वस्थ राख्नका लागि जसरी वकिङ गर्न जरुरी हुन्छ, त्यही मानिसका लागि देश विदेशको भ्रमण उति नै आवश्यक हुन्छ । जति धेरै यात्रा गरियो, त्यति नै ज्ञानको संचार हुन्छ । जतिजति भ्रमण गरियो, त्यति नै सीप र शैलीको आदानप्रदान हुन्छ ।

यद्यपि, हाम्रो शासन, प्रशासनको सोच नै विपन्न छ । उनीहरुको मनस्थितिमै खोट छ । आफ्ना नागरिकको हित र सुरक्षाभन्दा पनि आफ्नो फाइदा कसरी हुन्छ भनेर हेरिन्छ यहाँ ! विदेशीलाई पोस्ने र स्वदेशीलाई खोस्ने, यो शैली आज पनि त्यही एयरपोर्टमा देखिन्छ । जो आफ्नो घरखेत बन्दक राखेर विदेशिन्छन्, फर्केर आउँदा एयरपोर्टमा सुरक्षाकर्मीबाटै लुटिन्छन् ।

बेलाबेला सरकारले खाडी मुलुकमा भिजिट भिषामा प्रतिबन्ध लगाउँछ । ठीक छ, गलत काम रोक्नुपर्छ । तर, यसो भन्दैमा सबैलाई सास्ती दिने काम हुनुहँदैन । त्रिभुवन अन्तराट्रिय विमानस्थल सरकार मातहतमा छ । त्यहाँबाट गलत काम हुन्छ भने त्यो रोक्ने काम सरकारको होइन ? सरकार आफ्ना काम र कर्मचारीमाथि निगरानी गर्न नसकेर अर्को गल्ती गर्दैछ । के हिँडडुल गर्न पाउने अधिकार छैन जनताको ? जबसम्म मान्छेले सहजरुपमा घुमफिर गर्न सक्दैन । चेतनाको विकास कहाँबाट हुन्छ ? यो कुरा कसले बुझ्ने ? त्यही विमानस्थल हो, जहाँबाट अर्बौको सुन तस्करी हुने हुन्छ । लाजमर्दो छ ।

ठूलो छालले छोएर गयो

अनेसास नवोदित साहित्यिक वाचन शृंखला ३२औं डबलीमा दोहामा कार्यरत सम्पूर्ण साहित्यानुरागीहरुलाई उपस्थितिको लागी हार्दिक अनुरोध गरिन्छ ।

महिनाको हरेक दोस्रो शुक्रबार बिदाको दिन ३२ महिनादेखि निरन्तर संचालन गरिँदै आईरहेको यस साहित्यिक वाचन शृंखलामा सुन्ने र सुनाउने कार्यक्रम रहिआएको छ । यो विशुद्ध साहित्यिक कार्यक्रम हो । दोहामा कार्यरत साहित्यकारहरुको जमघट हुने साहित्यिक चौतारी पनि हो । कार्यक्रमको हरेक नयाँ सस्करणमा भिन्न संयोजक र एक जना विशिष्ट स्रोता रहने परम्परा रहिआएको छ ।

कार्यक्रम प्रवेशको लागि कुनै शुल्क तोकिएको छैन । तसर्थ, दोहामा कार्यरत साहित्यनुरागीलाई साहित्यिक रचनाहरु सुन्न सुनाउन तथा आफ्नो साहित्यिक यात्राको प्रबर्धनका लागि उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ ।

यस ३२औँ शृंखलामा गजलकार लेख कार्कीद्वारा लिखित गजल संग्रह ‘मन्दिर’ लोकार्पण गरिने छ ।

मिति : १३ डिसेम्बर २०१३
स्थानः टपफर्म रेस्टुरेण्ट, दोहा
समयः दिनको ३ः०० बजेदेखि
संयोजक : एम पी पोखरेल
बिशिष्ट स्रोता : तीर्थ सिग्देल, पत्रकार, लेखक (झापा)

आयोजक : अन्तराष्ट्रिय नेपाली साहित्य समाज, कतार च्याप्टर तथा नवोदित साहित्यिक मोवाईल पुस्तकालय, कतार

कतार पुगेपछि त्यहाँ रहेका नेपालीहरुले नियमितरुपमा गर्ने कार्यक्रमको ३२औं श्रृंखलामा मलाई विशिष्ट स्रोता बनाए । त्यहाँ पुगपछि नेपालीहरुको एकता र भाइचारा देख्न पाइयो । खासमा म त्यो कार्यक्रमका लागि अति नै योग्य थिइनँ । किनकि त्यो भन्दा अगाडिका कार्यक्रमहरुमा नेपालबाट गएका साहित्यकारहरुको लिस्ट हेरेपछि म छक्क परें । खगेन्द्र संगौलादेखि डा. गोबिन्दराज भट्टराईसम्मका ख्यातिप्राप्त लेखकहरुले रोशन गरेको त्यो मन्च मैले पाएको थिएँ । यसका लागि मैले विशेषगरेर रेगिस्तानी कवि तीर्थ संगम राई र दाइ चानक पोखरेललाई धन्यवाद दिनै पर्दछ ।

त्यो भन्दा पनि गजब के छ भने यो शैलीको कार्यक्रम आजपर्यन्त चलिरहेको छ । हरेक महिनाको दोस्रो शुक्रबार दोहामा रहेका नेपालीहरुले मन बहलाउने माध्यम बनाएका छन्, यस कार्यक्रमलाई । विदेशमा बसेपछि घरपरिबारको याद बढी आउँछ । सँगसँगै देशको पनि । त्यही भएर हरेक देशमा पुगेका नेपालीहरुले आ–आफ्ना क्षेत्र विशेषका संघसंगठन बनाएका मात्र छैनन्, त्यस संघसंस्थामार्फत विभिन्न अभियान पनि चलाइरहेका छन् । विदेशमा कामको सन्दर्भमा दुःख पाएका नेपालीहरुलाई जोगाउनेदेखि उनीहरुलाई सुरक्षितरुपमा घर फर्काउनेसम्मका काम नेपाली संघसंस्थाहरुले गरिरहेका छन् । त्यस्तै साेंचले दुई दशकदेखि काम गरिरहेका उनै इटहरी घर भएका चानक पोखरेलको विशेष पहलमा म त्यहाँ पुगेको थिएँ ।

जापान, अमेरिका, युरोपतिर बस्ने नेपाली मात्र होइन । कामका लागि अझ बढी मेहनत गर्नुपर्ने मुलुक खाडीतिरका नेपालीहरुले पनि आ(आफ्नो गच्छेअनुसार सामाजिक सेवामा लगानी गरिरहेका छन् । यो अनेसास नवोदित साहित्यिक वाचन शृंखला एउटा विशुद्ध साहित्यिक कार्यक्रम मात्र हो । जहाँ म विशिष्ट श्रोताको रुपमा उपस्थित भएको थिएँ । विदेशी भूमिमा आयोजित कार्यक्रममा मैले यो स्थान पाउनु कम् गौरवको विषय थिएन । त्यो भन्दा पनि कतारमा बस्ने नेपालीहरुसँग भेटघाट, सम्पर्क र सम्बन्ध विस्तार गर्ने मौका जो मैले पाएँ । यो झन् ठूलो कुरा थियो ।

हुनतः विदेशी भूमिमा कामदारका रुपमा गएका मान्छेहरु त्यस देशको नियम र कानुनको परिधिमा विशुद्ध कामदार मात्र हुन् । उनीहरुलाई ठूलो संख्यामा भेला हुन र सभा सम्मेलन गर्न प्रतिबन्ध छ । तर, मान्छे हो । अझ ऊ नेपाली हो । उसको पनि मन हुन्छ । उनीहरु विशुद्ध कामदारका रुपमा मात्र कहाँ बस्न सक्छन् र ? हरेक मान्छेको मनभित्र भावना हुन्छ । त्यो भावना कहिले उर्लेर आउँछ । कसलाई थाहा हुन्छ र ?

यसरी मनमा उर्लेका भावनारुपी लहरहरु पोख्नदेखि आ(आफ्ना क्षमताको प्रस्फुटन गर्ने त्यो मञ्च सुन्दर रहेछ । कोही कविता सुनाउन, कोही गीत गाउने, कोही नृत्य गर्ने त कोही गजल गाउने ।

अन्तर्राष्ट्रिय नेपाल साहित्य समाज (अनेसास) अहिले विश्वभर फैलिएको छ । अझ डायस्पोरामा यसको बढी महत्व हुन्छ । ती साहित्यिक मनहरुलाई एकै सूत्रमा बाँधेर एउटै नेपालीय भावना उजागर गर्न त्यस संस्थाले ठूलो भूमिका खेलेको छ ।

त्यो कार्यक्रमको एउटा अलगै सुन्दर पक्ष के हो भने, यो कार्यक्रममा कोही पनि प्रमुख अतिथि हुने छैनन् । र, सभापति पनि हुँदैन । हरेक महिनाको कार्यक्रमको व्यवस्थापन गर्ने जिम्मेवार व्यक्ति तोकिन्छ र एकजना विशिष्ट स्रोता । यसरी कार्यक्रम संयोजकमार्फत विशिष्ट स्रोताको चयन हुन्छ, जसले कार्यक्रममा अलिक भिन्न भूमिका निभाउनु पर्ने हुन्छ । यस्तो विशिष्ट स्रोता कतिपय हकमा त्यही रहेका साहित्यकार, लेखकहरु हुन्छन् भने कहिले नेपालबाट आउने व्यक्ति पनि । जस्तो ३२औं श्रृंखलामा म त्यै भूमिकामा थिएँ ।

यस्तो विशिष्ट स्रोताले सबैका कुरा सुनिसकेपछि अन्तिममा बोल्नुपर्ने हुन्छ, जसले एउटा गम्भीर र सटिक टिप्पणी गर्नु पर्ने नै हुन्छ । त्यो भूमिका निभाउँदा मेरो मन थामिएन । पक्कै पनि, ममा पनि उही भावना उर्लियो । दोहास्थित समुद्री छालहरुमा लहरिएँ म, जहाँ मेरै छेउमा ठूलो छालले छोएर गयो ।

सुख भोग्न, दुःखलाई सामना गर्नु पर्छ… रे । जसरी एकपटक पनि घर छोडेर नहिँडेको मान्छेले कुनै संकटको सामना गर्न सक्दैन… रे । ठिक त्यसरी नै, मैले जति देशमा पुगेर बसेका नेपालीहरुलाई भेटको छु । उनीहरुमा देशप्रेम र भक्तिसँगै नेताहरुसँग गुनासो गरेको पाएको छु । उनीहरुमा ब्याप्त गुनासो मिश्रित स्वरमा एक प्रकारको सुखद् भविस्यको परिकल्पना सुनेको छु । त्योभन्दा पनि देशमा अवसर नपाएर बाहिरिएको श्रम शक्तिको पाखुरालाई नियाल्दा मुलुकको सुन्दर भविष्यको आँकलन गरेको छु ।

यही मन र भावना पोखेर मैले त्यहाँ एउटा यस्तो कविता सुनाएँ–

यो मरुभूमि
कतारमा बसेर नेपालीहरुले
पसिना बगाएको देख्दा
लाग्यो हाम्रो देश त अति नै सुन्दर रहेछ
यहाँको तीब्र विकास र योजना हेर्दा
लाग्यो देश बनाउन धेरै दिन नलाग्ने रहेछ

आज यहाँ नेपालीहरुको लावालस्कर देख्दा
लाग्छ यो पनि मिनी नेपाल नै हो
नेपालीहरुले बगाएको रगत, पसिना देख्दा
लाग्यो देश बनाउन धेरै दिन नलाग्ने रहेछ

जब घर परिवार माया मारेर कोही
अर्काको देशमा पसिना बगाउन सक्छ भने
रातारात मरुभूमिमा साग उमार्न सक्छ भने
उसले आफ्नो देशमा किन केही गर्न सक्दैन र ?

छि: कतार ?
हाम्रो देशको अर्थतन्त्रको भार थाम्ने रेमिट्यान्स भित्र्याउने देश दुबई, कतार गयो भने गाउँमा नाक खुम्च्याउने मान्छे हुन्छन् । तर, ती देशले गरेको प्रगतिलाई चाहिँ कसले नियाल्ने ? अचम्म नमाने हुन्छ । यतिसम्म कि समुद्रभित्र सहर बसाउने दुबई सरकारका धेरै योजना पूरा भई सकेका छन् भने कतिपय धमाधम भईरहेका छन् ।

छि…कतार ? भनेर हामी हेप्छौं । तर, कतारले विश्वमा गरेको प्रगतिलाई हामीले नियालेका छैनांै । कतारले पनि आफ्नो देशको दीगो विकास र स्थायित्वका लागि धमाधम निर्माणका काम गरिरहेको छ । दिनानुदिन कतारको बजार असंख्य वृद्धि हुँदै गइरहेको छ ।
अब बिस्तारै कतारले विश्वलाई नै हुँकार गर्नेछ ।

सिग्देलको प्रकाशित यात्रा संस्मरण (एक दिन समय कथा)बाट

प्रतिक्रिया दिनुहोस्