Logo
Logo

‘चुम्लुङ हिम सांगीतिक साँझ’ हङकङमा प्रस्तुत हुँदै यी कलाकार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ चैत । एक समय भनिन्थ्यो, ‘कर्म गर्ने नेपालीका लागि हङकङ उद्गम थलो बन्दैछ ।’ तर, पछिल्लो समय नेपाली कलाकारका लागि समेत उर्वर बन्दैछ हङकङ । जहाँ हरेक महिना र साता नेपाली कलाकारले आफ्नो प्रस्तुती दिँदै आएका छन् ।
यस्तै, एक नेपाली कलाकारको टोली आउँदो १ मेमा हङकङ जाँदैछन् । किरात याक्थुङ चुम्लुङ, हङकङको आयोजनामा हुन लागेको ‘चुम्लुङ हिम सांगीतिक साँझ–२०१९’मा आधा दर्जन भन्दा बढी नेपाली कलाकारहरुको प्रस्तुती रहने भएको छ ।
चुम्लुङ हिम व्यवस्थापन समिति संयोजक रहेको कार्यक्रममा कौरा गायिका केशु गुरुङदेखि लिएर पछिल्लो समयका चर्चित संगीतकार तथा गायक ताराप्रकाश लिम्बूसम्म सहभागी हुँदैछन् । त्यसैले कार्यक्रममा कौरादेखि हाक्पारेसम्म गुञ्जिने अपेक्षा गरिएको छ ।
आउँदो १ मेका दिन हङकङस्थित याउ–माते कम्युनिटी हलमा हुने कार्यक्रममा कौरा गायिका केशु र ताराप्रकाशका आलवा सुस्मा लिवाङ, सुसन साम्सोहाङ लिम्बू, देवेन्द्र चेम्जोङ, रुपा लामा र तृष्णा नेम्बाङलगायतका कलाकार सहभागी हुँदैछन् । उनीहरुले त्यहाँ आ–आफ्नो कला र प्रतिभा प्रस्तुत गर्नेछन् ।


गायिका केशु गुरुङ

पेसाले स्वास्थ्यकर्मी रहेकी गायिका केशु गुरुङको यो पहिलो हङकङ मात्र नभएर विदेशकै पहिलो कार्यक्रम हो । विशेषगरी कौरा गीतका लागि र्चिर्चत केशुले हङकङमा यसपटक आफ्ना चर्चित कौरा गीत प्रस्तुत गर्ने भएकी छन् । ‘बुकी फूल’, ‘झिल्के भोना’जस्ता गीतका गायिका केशु भन्छिन्, ‘कार्यक्रममा कौरालगायत केही अन्य गीत पनि गाउने छु ।’
नेपालका विभिन्न स्थानमा कला प्रस्तुत गरिसकेकी केशुले आफ्नो हङकङ कार्यक्रमलाई लिएर ‘एक्साइटेड’ छिन् । यो स्वभाविक हो । तर, उनीमा आत्मविश्वास छ, र भन्छिन्, ‘म त्यहाँ रहेका नेपाली दर्शक तथा श्रोताको मन जित्ने प्रयास गर्नेछु ।’ कार्यक्रममा त्यहाँ बस्दै आएका जसलाई ‘स्थानीय’ भनिन्छ, उनीहरुको पनि प्रस्तुती रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्