Logo
Logo

सय दिनपछि सम्पर्कमा आए वडाअध्यक्ष भुषाल


- दृष्टि न्युज/संवाददाता


सन्धिखर्क, १५ चैत । अर्घाखाँचीको मालारानी गाउँपालिका–२ का वडाअध्यक्ष विष्णुप्रसाद भुसाल (विनोद) सय दिनपछि सम्पर्कमा आएका छन् । यसअघि उनी वेपत्ता भएका थिए । शुक्रबार बिहान बुटबलबाट फोन गरेर आफू सकुशल रहेको जनाएको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले जनाएका छन् ।
उनी कहाँ र किन गएका थिए, भन्ने बारेमा जानकारी नगराएको तर आफू सकुशल रहेको जनाएको अध्यक्ष आचार्यले बताए । उनी भारतमा गएर बसेको हुनसक्ने अनुमान गरिएको छ ।
गत २ पुसमा डाडाकटेरीस्थित घरबाट वडा कार्यलयको मोटरसाइकल सर्भिसिङ गर्न भन्दै सन्धिखर्क आएका भुसाल मोटरसाइकल ग्यारेजमै छाडेर सम्पर्कविहीन भएका थिए ।
प्रहरीले उनको खोजी कार्य जारी राखेको थियो । आफन्तले भनेको आधारमा कपिलवस्तुको बहादुर गञ्जको प्लाइ उद्योग, कृष्ण नगर नाकाको सीसी क्यामेराको फुटेज, बुटबल भैरहवालगायत गोरुसिंगे सन्धिखर्क सडकको जंगलमा समेत सर्च गरिएको तर उनको अवस्था पत्ता लगाउन सकिएको थिएन ।
उनी सम्पर्कमा आएको गाउँलेले जानकारी दिएको प्रहरी नायव उपरीक्षक नवराज मल्लले बताए । उनी तत्कालिन नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा मालारानी–२ बाट वडा अध्यक्षमा जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्