Logo
Logo

संरक्षकविहीन बालबालिका सरकारले जिम्मा लिने


दृष्टि संवाददाता


काठमाडौं । कोरोना महामारीका कारण आमाबुवा वा संरक्षक गुमाएर संरक्षकविहीन बनेका बालबालिकाको सम्पूर्ण जिम्मेवारी सरकारले लिने भएको छ  । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रिय बालअधिकार परिषद्ले सूचना जारी गरेर देशभर त्यस्तो अवस्थामा रहेका बालबालिकाको विवरण पठाउन आग्रह गरेको छ  ।

महामारीका कारण संरक्षकविहीन बालबालिकाको विवरण सङ्कलनका लागि केन्द्रीय स्तरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव शान्तिराज प्रसाई र राष्ट्रिय बालअधिकार परिषद्का कार्यक्रम व्यवस्थापक नमुना भुसाल सम्पर्क व्यक्ति तोकिनुभएको छ  ।

हाल स्थानीय तहले कोरोनाका कारण आमाबुवाको मृत्यु भएको र उनीहरूको हेरचाहका लागि अन्य संरक्षकसमेत नभएका बालबालिकाको विवरण मन्त्रालय तथा परिषद्मा पठाउन सुरु गरेको छ । देशभरका स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका संरक्षकविहीन बालबालिकाको यकिन तथ्याङ्क सङ्कलनका लागि धमाधम सार्वजनिक सूचना पनि जारी गरिरहेका छन्  ।

राष्ट्रिय बालअधिकार परिषद्का कार्यक्रम व्यवस्थापक एवं उक्त कार्यका लागि सम्पर्क व्यक्ति तोकिएका नमुना भुसालले हालसम्म चाररपाँच बालबालिकाको विवरण आएको र अन्य आउने क्रममा रहेको जानकारी दिनुभयो  ।

राष्ट्रिय बालअधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले अनाथ बालबालिका, सडक बालबालिकालगायत जोखिममा परेका सबै बालबालिकालाई सरकारले संरक्षण गर्दै आएकोमा महामारीले संरक्षकविहीन अवस्थामा पुगेका बालबालिकाको संरक्षणको काम पनि थालेको बताउनुभयो ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्