Logo
Logo

कांग्रेसमा होला त नयाँ ध्रुवीकरण


दृष्टि संवाददाता



काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयपछिको साढे तीन वर्षमा संगठन सुदृढीकरणभन्दा आन्तरिक किचलोमा अल्झिएका नेपाली कांग्रेसका नेताहरूको ध्यान पार्टीको १४औं महाधिवेशनमा केन्द्रित बन्न पुगेको छ । केन्द्रीय समितिको बैठकले भदौ १६ देखि १९ सम्म काठमाडौंमा महाधिवेशन गर्नेगरी कार्यतालिका संशोधन गरेसँगै गुट–उपगुटमा विभक्त कांग्रेसमा नेतृत्वका लागि ध्रुवीकरण सुरु भएको छ ।

१४औं महाधिवेशनमा पनि पहिलो पुस्ता शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच नै मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएका बेला दुवैतर्फका दोस्रो तहका नेताहरूले पार्टी नेतृत्वका लागि आफूलाई अघि सारेका छन् । युवा पुस्ताका केही नेताले आगामी महाधिवेशनबाट पहिलो पुस्तालाई बिदा गर्नुपर्ने बताइरहेका बेला उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र शेखर कोइरालाले नेतृत्वका लागि आकांक्षा देखाउँदै तयारीमा जुटेका हुन् ।

पूर्वसहमतिविपरीत देउवा फेरि पार्टी नेतृत्वको दौडमा खडा भएको भन्दै असन्तुष्ट उपसभापति निधिले दोस्रो तहका आकांक्षीहरूसँग छलफल थालेका छन् । एक वर्षअघि नै देउवासँग सभापतिको उम्मेदवार बन्ने इच्छा राख्दै अन्य नेताहरूसँग पनि भेटघाट गरेका निधिले सोमबार महामन्त्री शशांक र पूर्वमहामन्त्री सिंहलाई आफ्नै निवासमा बोलाएका हुन् । आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा शशांक र सिंहलाई आफ्नो निवासमा ‘लन्च मिटिङ’ आयोजना गरेको बताइए पनि नेताहरूबीच पार्टीभित्र नयाँ समीकरणका लागि छलफल थालिएको विश्लेषण गर्न थालिएको छ ।

संस्थापन र संस्थापनइतर समूहमा पहिलो पुस्ताका नेताहरू विकल्पका विषयमा बहस चलिरहेका बेला तीन नेताबीचको छलफलले नयाँ ध्रुवीकरणको संकेत गरेको छ । कांग्रेसका पुराना नेता रामचन्द्र पोखरेलले पार्टी संगठन र मुलुकका सामु गम्भीर चुनौती रहेका बेला तीन नेताहरूको लन्च मिटिङले नयाँ छलफल आरम्भ मात्र भएको बताउँछन् ।

अहिले नै निधि शशांक र सिंह मिलेर पार्टी नेतृत्वमा प्रतिस्पर्धा गर्छन् भन्न हतार हुने बताउँदै पोखरेलले थपे, ‘शेरबहादुर देउवा र रामचन्द्र पौडेलपछि कांग्रेसमा उहाँहरू (विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंह) नै महत्वपूर्ण फ्याक्टरहरू हो । उहाँहरू तीनैजना एकै ठाउँमा बसेर छलफल गर्नु राम्रो कुरा हो । यसले महाधिवेशनको एउटा तरंग प्रारम्भ गरेको छ।’, यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्