Logo
Logo

एमाले एकतामा ओली बाधक


दृष्टि संवाददाता



काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन् । एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वोच्च अदालतको आदेशविरुद्ध भ्याकेट दिएर प्रधानमन्त्री ओली एकतामा बाधक देखिएका हुन् ।

सर्वोच्च अदालतले फागुन २८ पछि बनाइएको एमाले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएर कर्णालीका चार सांसदलाई पुनर्बहालीको आदेश दिएको थियो । यसबाट एमाले एक हुने सम्भावना बढेको भन्दै ओली तथा माधव नेपाल समूहका नेताले आन्तरिक विवाद मिलाउन प्रयास गरिरहेका थिए । तर ओली पक्ष अदालतको आदेशविरुद्ध भ्याकेट हाल्न पुगेको छ ।

ओली पक्ष अदालतमा भ्याकेटको निवेदन लिएर गएपछि नेता नेपालले आपत्ति जनाएका छन् । कर्णाली प्रदेशका सांसदमाथि विधानविपरीत गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि भ्याकेटमा जाने निर्णय गरेर पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिने टिप्पणी नेपालले गरेका छन् । ‘स्थायी कमिटीका नेतामाथि कथित कारबाही, फेरि उहाँहरूसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो ।

पार्टी एकता बचाउन अधिकतम लचिलो भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रूपमा लिएको जस्तो देखियो’, वरिष्ठ नेता नेपालले भनेका छन्, ‘सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपन्थी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कत जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ, सहजै देख्न सकिन्छ । असल नियतका साथ गरिएका अनौपचारिक संवादलाई रणनीतिका रूपमा प्रयोग गर्नेहरू र एकताविरोधी तत्वहरूसँग सावधान हुन सबैको ध्यानाकर्षण गराउँछु।’

भ्याकेट निवेदन दिएपछि ओलीलाई भेटेर नेपाल पक्षका नेताले असन्तुष्टि जनाएका छन् । आइतबार राति नेपाल समूहका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र भीम आचार्यले बालुवाटारमा ओलीलाई भेटेर पार्टी एकता नभए नेपालमा कम्युनिस्टको भविष्य अन्योलमा पर्ने र त्यसको सबै दोष ओलीलाई लाग्ने भन्दै चेतावनी दिएका छन् ।

‘विवाद मिलाउने भन्ने, छलफल पनि गर्ने, अलमल्याउने अनि भ्याकेटमा पनि जाने, यसले राम्रो गरेन’, भेटमा उनीहरूले भने। संसद् विघटनपछि नै अहिलको समस्या आएको पनि उनीहरूले बताए । ‘संसद् विघटन नगरेको भए अदालतमा रिट जाँदैनथ्यो। रिट नगएको भए हस्ताक्षरको कुरा आउँदैनथ्यो ।

त्यसकारण यसमा दुवै पक्षले गल्ती महसुस गर्नुपर्छ तर सबैभन्दा पहिला अध्यक्ष भएका कारण तपाईं (ओली) ले पार्टी मिलाउने काम गर्नुपथ्र्यो । भ्याकेटमा गएर तपाईंले पार्टीलाई विभाजनतर्फ धकेल्नुभयो’, नेपाल पक्षका नेताले ओलीसँग भने। उनीहरूले अहिले जुन शक्तिले बोकेको छ त्यो शक्ति स्थायी होइन भन्दै एमाले एकता नै सबैभन्दा बलियो शक्ति भएको बताएका थिए ।

‘हाल तपाईंलाई जुन शक्तिले साथ दिएको छ त्यो स्थायी होइन, पार्टी एकता नै स्थायी शक्ति हो । यसैमा तपाईंको र पार्टीको हित हुनेछ । इतिहासले दोष अर्कोलाई थुपारेर तपाईंलाई माफी दिँदैन’, नेपाल पक्षका नेताहरूले ओलीलाई भनेका थिए। उनीहरूको कुरा सुनेपछि ओलीले सकेसम्म प्रयास गर्ने बताएको स्रोतले जनाएको छ ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्