Logo
Logo

निधिको उम्मेदवारीले असर नगर्ने देउवाको निष्कर्ष


दृष्टि संवाददाता



काठमाडौं । आसन्न १४औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवा आफैँ अघि सरेको अवस्थामा उपसभापति विमलेन्द्र निधि सभापतिको उम्मेदवारमा टिकिरहन्छन् या छोड्छन् रु अहिले सबैको चासोको विषय बनेको छ । तर, निधिले पनि आफूले सभापतिको दाबी नछाड्ने बताएका छन् । निधि देउवाले नसघाएको अवस्थामा संस्थापनबाट आफूनिकटलाई लिने र संस्थापनइतर समूहको समर्थन बटुलेर अघि बढ्नेमा दृढ देखिएका छन् ।

शनिबार देउवासमक्ष निधिले आफूले कसैलाई पनि नछाड्ने भनेपछि देउवानिवासमा सोमबारसम्म त्यही विषय चर्चाको विषय बन्यो । अधिकांश केन्द्रीय सदस्यहरूले देउवासँगको छलफलमा उपसभापति निधिलाई मिलाएर संस्थापनतर्फबाट सर्वसम्मत रूपमा सभापतिको उम्मेदवार बन्न सुझाब दिएका छन् । विद्यार्थी राजनीतिदेखि पार्टी विभाजन भएर एक्लिएको अवस्थामा समेत आफूसँगै रहेका निधिको चुनौतीले देउवामाथि दबाब परेको छ ।

महेन्द्रनारायण निधिको उत्तराधिकारीका रूपमा मधेसबाट उदाएका निधि संस्थापन समूहमा उपसभापति मात्रै होइनन्, देउवाको समेत उत्तराधिकारी मानिन्छन् । तर, अहिले उनी सभापतिको दाबी गर्दै गर्दा उनको पछि एकजना पनि केन्द्रीय सदस्य उभिएका छैनन् । ‘अहिले कोही खुलेका छैनन्, तल्ला तहको अधिवेशन सकिँदै गर्दा माहोल बन्छ, त्यसपछि खुल्ने रणनीति छ, हामीसँग राम्रै संख्या र समर्थन छ,’ निधिनिकट स्रोतले भन्यो ।

तर, देउवाले भने निधिले साथ छाडे पनि आफूलाई तात्विक फरक नपर्ने निष्कर्ष निकालेका छन् । देउवाले शनिबार प्रदेश १ र २, आइतबार बाग्मती र गण्डकी तथा सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका नेताहरूसँग आफ्नो उम्मेदवारी र टिमको अवस्थाबारे छलफल गरेका थिए । सो क्रममा केन्द्रीय सदस्यहरूले भने निधिलाई मनाएर नै अघि बढ्न सुझाब दिए । ‘विमल दाइले पनि दाबी गर्नुभएको छ, उहाँको समेत समर्थन लिएर टिमबाट सर्वसम्मत उम्मेदवार बनेको अवस्थामा उहाँलाई सभापति बन्न कुनै अवरोध रहँदैन,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने ।, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्