Logo
Logo

पत्रकारको आवरणमा ठगी र यौनशोषण गर्ने पक्राउ


- दृष्टि न्युज/संवाददाता



दाङ, १५ चैत । पत्रकारको आवरणमा ठगी गर्ने र जबरजस्ती करणी अभियोग लागेका एक व्यक्ति पक्राउ परेका छन्।

लाखौ रुपैयाँ ठगी र जबरजस्तीकरणी अभियोगमा पक्राउ परेका घोराही उपमहानगरपालिका वडा नम्बर ११ बेलगनारका महेश भनिने भुवन धिताललाई जिल्ला प्रहरी कार्यालय दाङले शुक्रबार सार्वजनिक गरेको हो।

धिताललाई ठगी र जवरजस्तीकरणी गरेको पिडितहरुको जाहेरीका आधारमा विभिन्न कागजात सहित पक्राउ गरिएको एसपी बेलबहादुर पाण्डेले बताए । ५ जना पिडितहरुको सामुहिक जाहेरी र जवरजस्ती करणीमा ३ जना महिलाबाट छुट्टा छुट्टै निबेदन परेपछि प्रहरीले धिताललाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका धितालको साथबाट ८२ थान चेक, १ करोड ६९ लाखको चेक रकम, २ वटा खाली चेक, ३२ वटा तमसुक, १ करोड २४ लाखको तमसुक रकम, ४ वटा ढुकुटी खेलाएको रजिष्टर बरामद गरेको प्रहरीको भनाइ छ।

त्यसैगरी, ४ वटा खाली तमसुक, एक थान जलजला अनलाईनको पत्रकार परिचय पत्र, २ थान मोवाईल, १८ हजार ५ सय नगद, २ वटा सुनको औठी, १ थान ब्रासलेट, एक थान घडि सहित बा १५ च ७६६८ नम्बरको फोर्ड गाडी र भे ८ प ३९५५ नम्बरको होण्डा स्कुटीसमेत बरामद गरी प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ परेका धितालले शैक्षिक स्तर कमजोर भएका, एकल, श्रीमान विदेश गएका महिला समुहमा बसेर पैसा उठाउने र लगानी र्गयो भने राम्रो कमाई हुन्छ भनि सुरुमा ढुकुटी खेलाउदै व्यक्ति ठगिमा अग्रसर भएको प्रहरी अनुसन्धानले देखिएको छ।

साथै आफु पत्रकार भएको, प्रहरीका हाकिमहरु सँग राम्रो सम्बन्ध भएको, वेज्जत गर्न सक्छु भन्ने, पत्रपत्रिकामा छपाइदिन्छु भनि डर देखाएर ३६ प्रतिशत सम्म व्याज असुल गर्ने, खाली चेकमा हस्ताक्षर गर्न लगाउने र विभिन्न बहानामा यौन शोषण समेत गरेको प्रहरीमा उजुरी परेको प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए।

पक्राउ परेका धिताललाई दाङबाट भाग्ने क्रममा दाङ र बाँकेको सिमानाबाट पक्राउ गरिएको प्रहरीको भनाई छ। प्रहरीले धिताल माथी अनुसन्धान गर्न दाङ देउखुरी जिल्ला अदालतबाट ५ दिनेमा म्याद थप गरेको जनाएको छ भने थप अनुसन्धानका लागि सम्पत्ती शुद्धिकरण बिभागलाई समेत पठाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्