Logo
Logo

भौतिक पूर्वाधार : आर्थिक विकासको आधार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ चैत । मुलुकको विकासमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले शुक्रबारदेखि जारी अन्तर्राष्ट्रिय लगानी सम्मेलनअन्तर्गत आज दोस्रो दिनका कार्यक्रम सुरु भएका छन् ।
होटल सोल्टी क्राउन प्लाजामा भइरहेको सम्मेलनमा दिगो यातायात पूर्वाधार र कृषि तथा जडीबुटीको विषयमा छलफल भइरहेको छ । नेपालको पूर्वाधार विकासमा कसरी अन्तर्राष्ट्रिय सहयोग जुटाउन सकिन्छ भन्ने विषयमा सो क्षेत्रका जानकारले आफ्नो धारणा राख्दै नेपालमा लगानीका लागि तयार रहेको बताएका छन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अध्यक्षता आजको पहिलो सत्रमा सडक, रेल, जलयातायातलगायत क्षेत्रका लगानीका विविध आयामबारे छलफल भएको छ । भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देलले नेपाल सरकारले ठूला भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको भन्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चरणमा रहेको बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१९ र पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थल सन् २०२० अन्त्यसम्म निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको छ ।

मनकामना, चन्द्रागिरी र कालीञ्चोकमा केबलकार सफलतापूर्वक सञ्चालन आइसकेको र गण्डकी, कोशी र कर्णाली नदीमा जलयातायातको प्रवल सम्भावना रहेको औँल्याउँदै उनले यी पूर्वाधारमा लगानी गरेर उच्च प्रतिफल प्राप्त गर्न सकिने बताए ।
छलफलमा यातायात तथा भौतिक पूर्वाधार क्षेत्रका जानकारले नेपालले अपेक्षित विकास र समृद्धिका लागि तत्काल योजनाबद्ध प्रयास शुरु गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्