Logo
Logo

युरोकप २०२० को नकआउट समीकरण पूरा, क्वाटरफाइनलका लागि १६ टोलीबीच प्रतिस्पर्धा हुँदै


दृष्टि संवाददाता



काठमाडौं । युरोपेली महादेशीय फुटबल प्रतियोगिता युरो २०२० को समूह चरणका खेलहरु सकिएको छ । २४ टोलीबीचको प्रतिस्पर्धामा ८ टोलीको यात्रा नकआउट चरणमा पुग्न सकेन ।

१६ टोलीबीच क्वाटरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुँदैछ । शनिबारदेखि नकआउट चरणका खेलहरु सुरु हुनेछन् भने पहिलो खेलमा समूह ए को उपविजेता वेल्स र समूह बीको उपविजेता डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ ।

अन्तिम १६ का केहि खेलहरु भने निकै नै प्रतिस्पर्धात्मक हुने अपेक्षा गर्न सकिन्छ । किनभने केहि पूर्व च्याम्पियनको यात्रा यो चरणमै समाप्त हुनेछ । जस्तै इंग्ल्याण्ड र जर्मनीले अन्तिम १६ मै भिड्दैछन् । गएराति भएको खेलमा हंगेरीसँग बराबरी गरेपछि समूह एफको दोस्रो स्थानमा पुगेको जर्मनीले समूह डी को शीर्ष स्थानमा रहेको इंग्ल्याण्डसँग खेल्न लागेको हो ।

समूह ई को उपविजेता बनेको स्पेनले समूह डी को उपविजेता क्रोएसियासँग क्वाटरफाइनल प्रवेशकै लागि खेल्ने भएका छन् । दुवै टोलीले समूहमा अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् । तर दुवैले समूहको अन्तिम खेलमा प्रभावशाली जित निकालेपछि उनीहरु लयमा फर्किएको अनुमान छ ।

समूह बी को विजेता बेल्जियमले समूह एफमा तेस्रो भए पनि छनोट भएको पोर्चुगलसँग खेल्नेछ । युरोको साविक विजेता पोर्चुगलले गएराति भएको खेलमा विश्वविजेता फ्रान्ससँग २–२ गोलको बराबरी खेलेको थियो ।

समूह ए मा शतप्रतिशत जितसहित विजेता बनेको इटलीले समूह सी को उपविजेता अस्ट्रियासँग प्रतिस्पर्धा गर्नेछ । समूह सी बाट विजेता बनेर नकआउट चरणमा पुगेको नेदरल्याण्ड्सले समूह डीमा तेस्रो स्थानमा रहेर पनि नकआउटमा छनोट हुन पाएको चेक रिपब्लिकसँग खेल्नेछ ।

समूह एफबाट विजेता बनेको फ्रान्सले समूह ए मा तेस्रो स्थानमा रहेर पनि छनोट भएको स्वीटजरल्याण्डसँग खेल्नेछ । समूह ई को विजेता स्वीडेनले समूह सी मा तेस्रो स्थानमा रहेको युक्रेनसँग खेल्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्