Logo
Logo

केरुङ–काठमाडौं रेलमार्ग : डिपिआर ६ महीनाभित्र टुंगो लाग्ने


- दृष्टि न्युज/संवाददाता



भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ शनिबार राजधानीमा आयोजित नेपाल लगानी सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायातको क्षेत्रमा लगानीबारे जानकारी दिँदै । तस्बिर : रासस

काठमाडौं, १६ चैत । सरकारले रेलमार्ग निर्माणलाई प्रमुख प्राथमिमकतामा राखेर निर्माण प्रक्रिया अगाडि बढाएको छ । आगामी ६ महीनाभित्रै केरुङ–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भई निर्माणको ढाँचा टुंगो लगाइने भएको छ ।
पूर्व सम्भाव्यता अध्ययनको काम सकिएको र केही समयभित्रै डिपिआरका लागि छलफल भई अन्तिम निष्कर्ष निकाल्ने तयारी गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सो रेलमार्गको विषयमा केही समयभित्रै आवश्यक तयारी पूरा हुने जानकारी दिए ।
उनले सो रेलमार्गको लागत हालको मूल्यका आधारमा रु तीन खर्ब बराबर हुने जानकारी दिँदै कुन आधारमा कसरी लगानी जुटाउने भन्ने बारेमा सरकारले शीघ्र निर्णय गर्नेसमेत बताए । विकासको प्रमुख आधारका रुपमा भौतिक पूर्वाधार र यातायात सञ्जाल नै रहेको उल्लेख गर्दै सरकारको प्रमुख प्राथमिकतामा समेत रेल, सडक रहेको उनको भनाइ छ । नेपालले सुरुङमार्ग निर्माणलाई समेत विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै केही आयोजनासमेत शुरु भएको उनले बताए ।
चीन र भारतलाई जोड्न भौतिक पूर्वाधार र सम्पर्क सञ्जाल विस्तारमा लागिपरेको, निजी क्षेत्रलाई समेत साथमा लिएर भौतिक पूर्वाधारको क्षेत्रमा काम गरिरहेको उनको भनाइ थियो ।
पूर्व–पश्चिम रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । ‘स्ट्याण्र्डड गेज’मा निर्माण हुने सो रेलमार्गको कूल लम्बाइ एक हजार १०० किलोमिटर बराबरको हुनेछ । उत्तर–दक्षिण जोड्ने विभिन्न सडक आयोजनाको कामसमेत अगाडि बढेको छ । चीन र भारतलाई जोड्ने भौतिक पूर्वाधारको विकासका विभिन्न सञ्जालसमेत अगाडि बढेका छन् ।
सरकारले पछिल्लो समयमा भौतिक पूर्वाधार विकासलाई प्रमुख प्राथमकिता दिएको भन्दै मन्त्री महासेठले बिना हिच्किचाहट लगानीका लागि लगानीकर्तालाई आमन्त्रणसमेत गरेका छन् । सरकारले काठमाडौँ–तराई–मधेश द्रुतमार्ग निर्माणको काम गरिरहेको तथा अन्य ठूला परियोजनासमेत सञ्चालन गरिरहेको सन्दर्भमा स्वदेशी तथा विदेशी लगानी आफूहरुको प्राथमिकतामा रहेको मन्त्री महासेठको भनाइ थियो ।
काठमाडौँ–रक्सौल रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन भइसकेको र केही समयभित्रै थप अध्ययन हुने र लगानीका उपायसमेत खोजी गरिने मन्त्री महासेठको भनाइ छ ।
यस्तै काठमाडौँ उपत्यकाभित्रको सवारी व्यवस्थापनका लागिसमेत मोनो रेल निर्माणका लागि आवश्यक प्रक्रिया शुरु भइसकेको उनले जानकारी दिए । चाइना रेल्वे इन्टरनेशनलका उपमहाप्रबन्धक वाङ जिजिङले आफ्नो देशले नेपालमा रेलमार्गको सञ्जाल जोड्ने कार्यक्रमलाई विशेष प्राथिमकतामा राखेको जानकारी दिनुभयो । उहाँले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणका विषयमा छिट्टै आवश्यक निर्णय हुनेसमेत उल्लेख गरे । उनले नेपालसँगै म्यान्मार, कजाखस्तानलगायत देशसँग पनि रेलमार्ग निर्माणलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइएको जानकारी दिए । लगानी सम्मेलनमा सहभागीले भौतिक पूर्वाधारमा लगानी गर्दा आइपर्ने चुनौती तथा अवसरका बारेमा समेत जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्