Logo
Logo

जनप्रिय वडाअध्यक्ष : विकासका काममा आफैँ खट्छन् नारायण बराल


हिक्मत बम



धनगढी । विकासका लागि जनसहभागितामा आधारित योजना, दृढ इच्छा शक्ति र निस्वार्थ भावनाले जनताको सेवामा तल्लीन भएकै कारण धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नारायण बराल जनताका माझ लोकप्रिय भएका छन् ।

सरल स्वभावका बराल बुधबार बर्षातको झरीमा हिलाम्य अवस्थामा वडा नम्बर ८ को वडा कार्यालय भवनको पर्खाल सम्याउने कार्यमा डोजर चालकलाई कामको बारेमा सघाइरहेका थिए ।

जनताको काम आफ्नै काम सरह ठानेर बर्षातको झरीमा होस् या हिउँदको कठ्यांग्रिने जाडोमा नै किन नहोस्, वडाअध्यक्ष अहोरात्र जनताको सेवामा खटिने मध्ये पहिलो वडाअध्यक्षमा पर्छन् उनी ।

अधिकांश वडाबासीहरुले वडानम्बर–८ मा भरपर्दो, विश्वासिलो र विकास प्रेमी वडाअध्यक्ष पाएकोमा गर्व गर्छन् । वडाअध्यक्ष बरालले विकास निर्माणको सवालमा सत्तापक्ष, प्रतिपक्ष जोसुकै होस् सबैसँग सहकार्य र सहभागिता जुटाएर गर्ने गरेको बताइन्छ ।

संघीय, प्रदेश र स्वयं धनगढी उपमहानगरपालिकाको स्रोतले आफ्नो वडाको विकासका लागि पहल गर्ने परिपाटीको विकासमा आफूले कुनै कसर नराखी जनताको विकासको चाहनालाई धेरै पूरा गर्न नसकेपनि केही हदसम्म गर्न सफल भएको बताउँछन् वडाअध्यक्ष नारायण बराल ।
नेपाली काँग्रेसबाट लोकप्रिय मत पाएर वडाअध्यक्षमा विजयी भएका बरालले भने, ‘विकास निर्माणका हरेक कार्यमा प्रतिपक्षी दलका साथीहरु र वुद्धिजीवीहरुको राय लिएरनै गर्ने गरेको हुुँ ।’

नेपालमै सबैभन्दा बढी विद्यार्थी भएको कैलाली बहुमुखी क्याम्पस, शिवनगर खानेपानी आयोजना, धार्मिक प्राकृतिक क्षेत्र जाखोर तालमन्दीर परिसर, वनस्पति उद्यान, राना थारु वस्तीदेखि लिएर लगभग देशका ७७ वटै जिल्लाका मानिसको बसोबास रहेको वडाको शान र गर्वलाई उच्च बनाउनका लागि लागिपरेको बताउँछन्, वडाअध्यक्ष बराल ।

वडानम्बर ८ को पर्यटन, शिक्षा, स्वास्थ्य, शिक्षादेखि लिएर मानवीय अनि भौतिक विकासका लागि भ्याएको स्रोत र साधन प्रयोग गरेर भएपनि विकासका लागि पहल गरिरहेको वडाअध्यक्ष बरालले बताए ।

वडा नम्बर ८ को आधुनिक कार्यालय निर्माण सम्पन्न भइसकेको र वडा कार्यालयको परिसरमा शहिद स्मारक निर्माणको तयारीमा रहेको र आम सर्वसाधारणको सुविधाका लागि शौचालय र वडावासीलाई स्वास्थ र निरोगी रहुन् भन्नका लागि परिसरमै योगाभ्यास तथा व्यामशालाको निर्माण सम्पन्न भैसकेको वडाअध्यक्ष बरालले जानकारी दिए ।

आफ्नो पालामा सात हजार पाँच सय मिटर सडक कालोपत्रे, आठ हजार पक्की नाली, संघीय सरकारको सहयोगमा ३४ करोडमा सुविधा सम्पन्न सिटीहल, पर्यटन विकासका लागि तौलाहा तालमा पर्खाल निर्माण र प्रतिक्षालयहरु निर्माणदेखि घेरा पर्खाल लगाउने कार्य सम्पन्न भइसकेको अध्यक्ष बरालले बताए ।

वडा कार्यालयको परिसरमा १० बर्षे जनयुद्धका क्रममा राज्य र माओवादी पक्षबाट हत्या गरिएका नागरिकको सम्झनामा स्मारक निर्माण भइरहेको पनि अध्यक्ष बरालले बताए ।

यस्तै, बर्षातको समयमा डुबानको समस्यामा पर्दै आएका वडाबासीको मागलाई मध्यनजरगर्दै सुक्टीनालामा ३ किलोमिटर तटबन्ध, वडा नम्बर १ शिवनगरलाई जोड्ने नालामा कैलाली वहुमुखी क्याम्पसमा अध्ययन गर्न जाने विद्यार्थीलाई सहज होस् भनेर ट्रसब्रिज निर्माण सम्पन्न भएको अध्यक्ष बरालले जानकारी दिए ।

यस्तै, आफ्नो पालामा वडालाई पूर्वाधारको क्षेत्रमा सुविधा सम्पन्न बनाउने उद्देश्यका साथ ४ कठ्ठा जग्गामा शिवनगरस्थित नहरको छेवैमा सुविधा सम्पन्न हल, पार्क र मन्दिर निर्माणका लागि डिपिआर तयार भइसकेको र उक्त क्षेत्रमा केही समयमै निर्माण कार्य अगाडि बढाइले उनले बताए ।
वडाभित्रका युवा युवतीलाई सीपयुक्त आत्मनिर्भर जनशक्ति तयार गर्नै उद्देश्यले क्रिष्टल गहना तालिम, सिलाई कटाई तालिम प्रदान गरिनुका साथसाथै महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाईलसमेत प्रदान गरिएको छ ।

यसैगरी शिक्षा क्षेत्रको विकास र प्रोत्साहनका लागि वडाकै पुरानो माध्यामिक विद्यालय धनगढी माध्यामिक विद्यालयमा अध्ययनरत जेहेन्दार र बढी अंक ल्याउने बिद्यार्थीलाई ल्यापटप पुरस्कार, वडाभित्रका ७ वटा नीजि बोर्डिङ्ग स्कुलमा अध्ययन गर्ने ७ जना सबैभन्दा बढी अंक ल्याउने छात्रछात्रालाई समेत ल्यापटप प्रदान गर्ने कार्यक्रमको थालनी गरिएको अध्यक्ष बरालको भनाइ छ ।

कोरोनाको संक्रमणमा पनि आफुले आफ्ना वडावासीलाई स्वास्थ्य सर्तकताका लागि बेला बखत जनचेतना जगाउनेलगायतका कार्यका साथै संक्रमितहरुलाई आईसोलेशनसम्म पुर्याउने र उपचारका लागि अस्पतालसम्म पुग्न सुझाउने गरेको अध्यक्ष बरालले बताए ।

धनगढी उपमहानगरका अन्य वडाभन्दा लोकप्रयि काम गर्नमा र जनताको सेवामा अध्यक्ष लम्साल क्रियाशिल भएको देख्दा आफुहरुलाई गर्व लागेको बताउँछन्, वडानम्बर ८ का बासिन्दा सुरेन्द्र थापा । वडाअध्यक्ष नारायण बरालजस्तै जनताको असल सेवक बन्नेतर्फ सबै जनप्रतिनीधिहरु लाग्ने हो भने स्थानीयदेखि सबै तहमा विकास र सुशासनमा व्यापक सुधार र प्रगति आउन सक्ने जनताको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्