Logo
Logo

चीनमा फेरि कारखानामा विस्फोट, ७ को मृत्यु


- दृष्टि न्युज/संवाददाता


बेइजिङ, १७ चैत (एएफपी) । पूर्वी चीनको एक इलेक्ट्रोनिक्स कारखानामा आइतबार भएको विस्फोटमा सात जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।
जियाङ्सु प्रान्तको कुनशानस्थित एक इलेक्ट्रोनिक्स कारखानाको परिसरमा थुपारिएको फोहोरमा विस्फोट भएको र त्यसबाट फैलिएको आगोले कारखानाको वर्कसपमा ठूलो क्षति पुगेको थियो । ‘कुनशान वाफर टेक्नोलोजी लिमिटेडमा भएको उक्त दुर्घटनाका बारेमा छानबिन भइरहेको छ’, स्थानीय सरकारी अधिकारीहरुले बताएका छन् । यही प्रान्तमा गत साता रसायन प्लान्टमा भएको एक विस्फोटका कारण ७८ जनाको मृत्यु हुनुका साथै सयौं व्यक्ति घाइते भएका थिए ।
चीनमा नियमित झैं हुने गरेका घातक दुर्घटनाहरुले कारखानाको सुरक्षाप्रति चीनमा बेवास्ता गर्ने गरिएको देखाएको छ ।
गत नोभेम्बरमा उत्तरी चीनको झाङजियाकाउ प्लान्टमा ग्यास चुहिएर भएको दुर्घटनामा २४ जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका थिए ।

सन् २०१५ मा उत्तरी तटीय शहर तियानजिनमा भएको रसायन उद्योग विस्फोटमा १६५ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्