Logo
Logo

लगानी भित्रिनेमा सरकार विश्वस्त


- दृष्टि न्युज/संवाददाता



विराटनगर, १७ चैत प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सम्पन्न लगानी सम्मेलनबाट सरकार निकै उत्साहित भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सम्मेलनमा एशियाली विकास बैँक, विश्व बैँकदेखि संसारका विभिन्न देशका प्रतिनिधिको उल्लेखनीय सहभागिताले पनि नेपालमा लगानी भित्रिनेमा सरकार विश्वस्त रहेको बताउनुभयो ।



प्रधानमन्त्री ओलीले गत वर्षलाई सरकारले आधार वर्ष मानेर काम गरेको र यस वर्ष तीव्र विकास गर्ने वर्ष भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले आधार वर्षमा संरचना र कानून निर्माणमा समय खर्च गर्दा पनि नेपालमा आर्थिक वृद्धिदर ८ प्रतिशत हुनु निकै उपलब्धि हो भन्दै अब विकास तीव्र गतिमा हुन्छ भन्नेमा ढुक्क हुन आग्रह गर्नुभयो । 

प्रधानमन्त्री ओलीले राजनीतिक दलका रुपमा दर्ता नभएका समूहलाई राजनीतिक दल भन्न नमिल्ने बताउँदै नेत्रविक्रम चन्द्र नेतृत्वको समूहले गरिरहेका अराजक गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएको स्पष्ट गर्नुभयो । 

अदालत र सरकार अलग अलग विषय भएकाले सञ्चारकर्मीलाई सोहीअनुसार बुझ्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले सञ्चारकर्मीले सरकार र अदालतबीच झगडा लगाउने समाचार सम्प्रेषण गर्न नहुने बताउनुभयो । 
सङ्घीय सरकार र प्रदेश सरकारबीचको सम्बन्ध बिगार्ने काम पनि सञ्चारकर्मीबाट हुनुहुँदैन भन्दै प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसलाई औचित्यका आधारमा जिम्मेवारी दिने तर भागबण्डाका पक्षमा सरकार नरहेको प्रष्ट पार्नुभयो । उहाँले अन्तर विरोध र द्वन्द्व बढाउने किसिमको समाचार सम्प्रेषण गर्नु राम्रो होइन भन्दै प्रधानमन्त्री ओलीले सञ्चारकर्मी सकारात्मक हुनुपर्छ भन्नुभयो । 
(रासस) ः

प्रतिक्रिया दिनुहोस्