Logo
Logo

‘प्रधानमन्त्रीको अफर आइसक्यो तर गठबन्धनलाई धोका हुँदैन’


दृष्टि संवाददाता

5.7k
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको अफर गरे पनि आफूले विपक्षी गठबन्धनलाई धोका नदिने बताएका छन् । शेरबहादुर देउवाको साटो आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको, तर आफूले स्वीकार नगर्ने उनले बताए ।

गठबन्धनका शीर्ष नेताहरुले शनिबार पत्रकारहरुसँग भएको छलफलमा एमाले नेता नेपालले भने, ‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ होइन, आइसक्यो । शेरबहादुरजीलाई बीचैमा पत्तासाफ गर्नुस्, तपाइँ भइहाल्नुस् भन्ने कुरा पनि आएको छ, माधव नेपाल धोका दिने मान्छे होइन। ’

आफूलाई प्रधानमन्त्री बन्ने कुरा ठूलो नभएको उनको भनाई थियो । ‘गठबन्धनको तर्फबाट जुन प्रक्रिया अघि बढिसकेको छ, त्यसमा धोका दिने पक्षमा म छैन, अदालतबाट हस्ताक्षर फिर्ता लिने कुरा पनि संभव छैन,’ उनले भने, ‘प्रधानमन्त्री पद दिएपछि माधव नेपालको मन विचलन हुने हो कि भन्ने पनि होला । त्यो सम्भावना छैन, प्रचण्ड र हामीबीच फुट ल्याउन उहाँले नेकपामा हुँदा पनि अनेक चाल खोज्नुभएको हो । उहाँको यस्तो खुवी भएको मान्छे हो ।’

उनले आफूहरु संविधान र लोकतन्त्र जोगाउनका लागि एमालेको विद्रोही पक्ष भएको बताए । उनले भने, ‘केपी ओलीलाई सत्ता भएपछि त्यसभन्दा बाहेक अरु केही चाहिँदैन, ‘त्यसैले उहाँ भन्नुहुन्छ, कुर्सी ताक्नुभयो भने कुर्सी नै भाँचिदिन्छु। नरहे बाँस, नबजे बाँसुरी। त्यसैले उहाँले संसद् नै विघटन गर्नुभयो।’

सम्बोधनका क्रममा उनले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीमा सत्ता उन्माद रहेको भन्दै नेता नेपालले भने, ‘शक्ति, सरकार र पैसाको मात लागिसकेपछि मान्छेलाई नियन्त्रण गर्न गाह्रो हुँदोरहेछ, ओलीलाई यही भएको हो ।’

प्रतिक्रिया दिनुहोस्