काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ताजस्तो बनेको टिप्पणी गरेका छन् ।
शनिबार विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले आफूलाई १४९ सांसदले प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरे पनि राष्ट्रपतिले रातारात संसद विघटन गरेको भन्दै आपत्ति जनाए ।
सभापति देउवाले प्रधानमन्त्री ओलीसँग भन्दा पनि राष्ट्रपतिसँग भण्डारीसँग दुःख लागेको बताए । उनले भने, ‘राष्ट्रपति ओलीको कार्यकर्ता भइन् । १४९ सांसद आउँदा पनि रातको दुई बजे विघटन गरिन्। केपीसँग भन्दा राष्ट्रपतिसँग दुःख लागेको छ ।’
देउवाले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना हुने र आफूलाई प्रधानमन्त्री बनाउन आदेश हुने विश्वास व्यक्त गरे ।
उनले ओलीलाई अधिनायकवादीको संज्ञा पनि दिए ।
उनले भने, ‘ओली संविधानवादी लोकतन्त्रवादी केही होइन उनी मनपरी गर्ने अधिनायकवादी हुन्। संविधानमा लेखेको राष्ट्रपतिले नमानेपछि अदालत गएको हो। संविधानको अन्तिम ब्याख्या सर्वोच्चले गर्ने हो।’













