Logo
Logo

जोधपुरमा खस्यो भारतीय लडाकू विमान


- दृष्टि न्युज/संवाददाता


जोधपुर, १७ चैत (एएनआई) । भारतीय वायुसेनाको एउटा मिग–२७ लडाकू विमान राजस्थानको जोधपुरमा आइतबार विहान दुर्घटनाग्रस्त भएको छ । नियमित उडानका क्रममा रहेको उक्त विमानका पाइलट भने सकुशल उत्रिएको भारतीय सेनाले जनाएको छ ।
वायुसेनाले विमान दुर्घटनाका बारेमा अनुसन्धान गर्न आदेश दिएको छ । जोधपुरबाट करिब १२० किलोमिटर दक्षिणमा दुर्घटनाग्रस्त भएको मिग–२७ विमानमा इन्जिनमा खराबी आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गत मार्च ८ तारिखमा पनि राजस्थानको बिकानेर इलाकामा मिग–२१ लडाकू विमान दुर्घटनाग्रस्त भएको थियो ।
रुसमा निर्मित मिग लडाकू विमानहरु एकपछि अर्को दुर्घटना हुने गरेका छन् । गत फेब्रुअरी १ तारिखमा पनि रुसमा निर्मित मिराज २००० लडाकू विमान पनि दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा दुबै पाइलटको ज्यान गएको थियो ।
यसैगरी गत फेब्रुअरी १२ मा राजस्थानको पोखरण क्षेत्र नजिक मिग–२७ लडाकू विमान दुर्घटनाग्रस्त भएको थियो ।

भारतमा फ्रान्समा निर्मित राफेल समेतका नयाँ मोडेलका लडाकू विमानहरु भित्र्याउन पहल गरिए पनि त्यो सफल हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्