Logo
Logo

नासुले बेचे कारोना खोप


दृष्टि संवाददाता

1.6k
Shares

काठमाडौं । कोरोना खोपको हाहाकार भइरहेको नेपालमा आएको केही खोपमा समेत ठूलो चलखेल भएको छ । पछिल्लो पटक चीनबाट ल्याइएको भेरोसेल खोप नियमविपरीत हजारौं पहुँचवालालाई लगाइएको छ ।

कतिपय खोप त बिक्रि समेत भएको पाइएको छ । विराटनगरमा सिनेमा हलमा उद्योगी व्यापारीलाई गोप्य रुपमा खोप लगाउँदा आर्थिक चलखेल समेत भएको खुलेको छ । औषधि भण्डार कोशीमा कार्यरत नासु काशिनाथ पराजुलीले त्यसको सेटिङ मिलाएका थिए । विराटनगरको सिटी हलमा एक सय भन्दा धेरै धनाढ्यलाई खोप लगाइएको थियो ।

सो कुरा खुलेपछि नासु पराजुलीलाई मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको थियो । अहिले उनी पुरानै कार्यालयमा फर्कनका लागि लबिङमा लागेका छन् । किनकी उनी ट्रेड यूनियनका नेता हुन् । एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य भएकाले नै उनलाई त्यति गम्भीर घटनामा पनि कारबाही गरिएन । बरु एमाले नेताहरुमार्फत दबाब दिएर उनी औषधि भण्डारमै सरुवा हुन चलखेल गरिरहेका छन् । उनले एक खोप बराबर २० हजारसम्म लिएको स्रोत बताउँछ । उनी प्रदेशकी सामाजिक विकास मन्त्री उषाकला राईका समेत निकट कर्मचारी हुन् ।

काठमाडौंमा पनि ठूलो मात्रामा खोप दुरुपयोग भएको छ । खासगरी काठमाडौं महानगरपालिकाका कर्मचारीले दुरुपयोग गरेका थिए । काठमाडौंमा ६० देखि ६४ वर्ष उमेरका व्यक्तिलाई खोप लगाउने भनिएकोमा बीचैमा रोकेर अन्य पहुँचवालालाई लगाइएको थियो । सत्तामा रहेका व्यक्तिहरुले खोपको दुरुपयोग मात्र होइन, आर्थिक चलखेल समेत गरेका छन् । सशस्त्र प्रहरीको अस्पतालमा पनि खोप दुरुपयोग भएको खुलेपछि स्वास्थ्य सेवा विभागले खोप नै कब्जा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्