Logo
Logo

कालीगण्डकी डाइभर्सन जनस्तरबाटै रोक्न माग


दृष्टि संवाददाता



काठमाडौं । बहुचर्चित कालीगण्डकी डाइभर्सनसम्बन्धी विवादले चर्कोरुप लिँदै गर्दा उक्त परियोजना सधैंका लागि रोक्न जनस्तरबाट माग गरिएको छ । गण्डकी सभ्यताको जैविक विविधता र मानवीय सभ्यतामा संकट निम्त्याउने भन्दै उक्त परियोजना रोक्न माग गरिएको हो ।

कालीकण्डकीको पानी डाइभर्सन गरी तिनाउ नदीमा मिसाएर बहुउद्देश्यी आयोजना सञ्चालन गर्ने विषयमा लुम्बिनी र गण्डकी प्रदेशबीच अहिले विवाद बढेको हो । यसैबेला जनस्तरबाटै परियोजना बन्द गर्न सरकारसँग माग गरेको छ ।

बिहिबार ‘कालीगण्डकी बचाऔँ अभियान’को तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै विनाशकारी परियोजना तत्काल रोक्न केन्द्र सरकारलाई ध्यानाकर्षणसमेत गराएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘यसै नदीको नामबाट ‘गण्डकी प्रदेश’को नामकरण हुनुले पनि नदी र यो सभ्यताको अन्योन्याश्रित सम्बन्धलाई प्रष्ट पार्छ । सिँगो नदीलाई अर्कोतर्फ मोड्ने परियोजना गण्डकीवासीको आस्था र संस्कृतिमाथिको खेलबाड हो ।’

उक्त अभियानले नदी किनारमा ढुंगा र बालुवा उत्खनन गर्ने कार्य तत्काल रोक्न समेत तीनै तहका सरकारसँग माग गरिएको छ । पर्वत, बाग्लुङ, पाल्पा जिल्लाका स्थानीय तथा अभियन्ताहरूले अहिले कालीगण्डकी बचाउन आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्