Logo
Logo

महिलाको पछि लाग्दा इन्सपेक्टरको फुली गुम्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाली समाजमा प्रहरीको अन्य पेशामा भन्दा बेग्लै रवाफ छ । प्रहरीसँग समाजका धेरै व्यक्ति नजिकिने गर्दछन् । जसमा राम्रा÷नराम्रा दुवै मान्छे हुन्छन् । प्रहरीसँग निकट रहन चाहनेहरु राम्राभन्दा नराम्रो व्यक्तिहरु धेरै हुन्छन् भन्ने कुरा धेरै घटनाले उजागर गरेको छ ।

त्यसकारण प्रहरीले कस्ता व्यक्तिसँग सम्बन्ध राख्ने भन्ने कुराले ठूलो महत्व राख्नछ । तर, कतिपय प्रहरीहरु प्रभावमा परेर नराम्रा व्यक्तिहरुसँग निकट भइहाल्छन् । त्यही खराब संगतका कारण धेरै प्रहरीको करिअर बिग्रिएको पनि छ ।

एक खराब महिलासँगको संगतका कारण हालै एक इन्सपेक्टर डिएसपी हुनबाट बञ्चित भएका छन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका इन्सपेक्टर दिनेश भण्डारी गलत संगतकै कारण विवादमा परेपछि बढुवामा छुटेका हुन् ।

इन्सपेक्टर भण्डारीसँगको चिनजानलाई आधार बनाएर विराटनगरकी कमला खरेल भण्डारीले साढे २३ लाख रुपैयाँ ठगी गरेकी हुन् । जसमा अप्रत्यक्ष रुपमा इन्सपेक्टरको समेत सहयोग देखिएपछि उनीमाथि समेत छानबिन भइरहेको छ । छानबिनमा इन्सपेक्टरले पैसा लिएको देखिन्न र महिलासँग विनाकारण नजिक भएको देखिन्छ । सोही विवादमा परेपछि सिनियर भएर पनि बढुवामा छुटेका छन् ।

गत १ पुसमा टोखामा भएको एक आवेग प्रेरित हत्याका अभियुक्तलाई छुटाउने भन्दै कमलाले आफन्तसँग पैसा लिएकी थिइन् । महाराजगञ्ज वृत्तमै रहेको सो मुद्दा मिलाइदिने भन्दै इन्सपेक्टर भण्डारीसँग पटक–पटक भेट्दथिन् । इन्सपेक्टरसँगै भेटेको देखेपछि पक्राउ परेका व्यक्तिका आफन्तले निर्धक्क भएर उनीलाई पैसा दिएका थिए । तर, पक्राउ परेका सबैलाई अदालतले जेल पठाउने आदेश दिएपछि ठगी प्रकरण बाहिर आएको हो ।

आफ्नो श्रीमानमाथि सौता लागेको भन्दै मुगु घर भएकी अजिता मल्ल शाहीको विष्णुमाया मल्ल, भगवती मल्ल, रीता केसी र गण्डिपराज मल्लले घाँटी थिचेर हत्या गरेका थिए । उनीहरुको एक आफन्त लण्डनमा थिए । जसको चिनजान कमलासँग थियो । उनले प्रहरीदेखि अदालतसम्म घुस खुवाएर सबै मिलाइदिने भन्दै पटक–पटक पैसा लिएकी थिइन् । इन्सपेक्टर भण्डारीलाई देखाएर उनले पैसा लिएकी हुन् ।

लाखौं खर्च गर्दा पनि आफ्ना मान्छे नुछुटेपछि पक्राउ परेका व्यक्तिका आफन्तहरु माथिल्लो तहका प्रहरी अधिकारीकहाँ पुगेका थिए । सोही आधारमा घटनाको छानबिन सुरु भएको हो । प्रहरीले कमला र उनकी बहिनीलाई समेत पक्राउ गरी ठगी मुद्दामा कारबाही अघि बढाएको छ । इन्सपेक्टर भण्डारीको प्रत्यक्ष संलग्नता नदेखिएको तर अनावश्यक व्यक्तिसँग सम्बन्ध राखेकाले उनीमाथि पनि विभागीय कारवाही हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्