Logo
Logo

सिभिलका चिकित्सक यतिसम्म गर्छन्


- दृष्टि न्युज/संवाददाता



काठमाडौं । चिकित्सकलाई बिरामीले भगवानका रुपमा सम्मान गर्छन् । तर नेपालमा भने केही चिकित्सकको बदमासीका कारण यो पेशा त्यति सम्मानित हुनसकेको छैन । नक्क्ली सर्टिफिकेटधारीवाला चिकित्सकदेखि पेशालाई व्यापार बनाउनेहरुका कारण चिकित्सा पेशाप्रति सर्वसाधरणको विश्वास घट्दै गएको छ ।

सिभिल अस्पतालका एक चिकित्सकको हर्कतका कारण एक दम्पती हाल ठूलो पीडामा छ । डाक्टर गोपाल केसीका कारण दम्पतीले आफ्नो बच्चा गुमाएका हुन् । घटना गत असोजको हो, तर डाक्टरको गल्ती हालै पत्ता लागेपछि छानबिन सुरु भएको छ ।

नयाँबानेश्वर बस्ने पुष्पा केसी बिरामी भएर गत असोज १४ गते सिभिल अस्पतालको इमर्जेन्सीमा भर्ना भएकी थिइन् । डा केसी उनको उपचारमा संलग्न भएका थिए । गर्भवती रहेकी उनी अत्यधिक पेट दुखेपछि अस्पताल भर्ना भएकी थिइन् ।

तर, इमर्जेन्सीमा भर्ना भएको केही समयमै सामान्य रिपोर्ट नै नहेरी उनलाई पाटन अस्पताल रिफर गरियो । पाटन अस्पतालले समेत भर्ना नलिएपछि पुष्पालाई उनका श्रीमान् जीवन खनालले किष्ट अस्पताल पु¥याए । किष्टमा चिनजानका व्यक्ति भएकाले उपचार गराए । तर, पेटभित्रको बच्चा जोगाउन सकेनन् ।

हालै आएर उनले उपचार गराउँदाको पुराना कागजपत्र हेर्दा उनी स्तब्ध भए । सिभिल अस्पतालका चिकित्सक डा केसीले रिफरपत्रमा ‘बिरामीका आफन्त असहयोगी र धम्क्याउने छन्,’ भनेर नोट लेखेका थिए । सोही नोटका कारण पाटन अस्पतालले भर्ना लिन नमानेको कुरा पछि उनले थाहा पाए । डा केसीकै कारण समयमा उपचार हुन नसक्दा आफ्नो बच्चा गुमेको भन्दै जीवनले हालै मेडिकल काउन्सिललगायत निकायमा उजुरी गरेका छन् । अस्पतालमा आफूहरुले कुनै अभद्र व्यवहार नगरेको भए पनि किन त्यस्तो लेखे भन्दै पुष्पाका श्रीमान् जीवन यतिबेला न्याय खोज्दै भौतारिएका छन् ।

सिभिल अस्पतालका यस्ता घटना विगतमा पनि पटक–पटक भएका छन् । बिरामीलाई अनावश्यक औषधि चलाउँदा प्यारालाइसिस भएको भन्दै सिडिओ अफिसले त्यहाँका चिकित्सकलाई २० लाख क्षतिपूर्ति तिराउन केही महिनाअघि मात्र आदेश दिएको थियो ।

गल्ती गर्ने चिकित्सकलाई मेडिकल काउन्सिलले कारबाही नगर्दा यस्ता किसिमका गल्ती बढ्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्