Logo
Logo

मुख्य योजनाकार जोगाउँदै भरियामात्रै सार्वजनिक गर्छ प्रहरी ?


- दृष्टि न्युज/संवाददाता


समाजमा व्याप्त आपराधिक क्रियाकलापको नियन्त्रण, रोकथाम र अपराधीलाई कडाभन्दा कडा कारवाही गर्दै समाजमा शान्ति सुरक्षा प्रदान गर्ने महत्वपूर्ण जिम्मेवारी नेपाल प्रहरीको हो ।
तर कतिपय मुद्दाहरु जो समाज र राष्ट्रकै लागि घातक छन् र तीनलाई जरैबाट निर्मूल नपारेसम्म समाजमा सुव्यवस्था कायम हुन सक्दैन । ती र त्यस्तै मुद्धाहरुको छिनोफानो गर्न नेपाल प्रहरीको कैलाली युनिट वा सुदूरपश्चिम प्रहरी संगठन पूर्णरुपले असफल प्राय बन्न पुगेको आम जनगुनासाहरु सुनिन थालेका छन् ।
मंगलबारका दिन मात्रै गैँडाको खागसहित पक्राउ परेका एक जनालाई कैलाली प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्ने व्यक्ति बाजुराको साविकको ब्रह्मतोला गाविस वडा नम्बर ४ घर भएर हाल धनगढी उपमहानगरपालिका वडा नम्बर ५ जाइमा बस्दै आएका ५१ वर्षीय चक्र भण्डारी रहेका रहेका छन् ।
प्रहरीले मंगलबार गैँडाको खागसहित उनलाई पक्राउ गरेको थियो । भण्डारीले वन्यजन्तु ओखेटोपहार अवैध चोरीसिकारी ओसारपसार तथा बिक्रीवितरण गरिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का गगन रौउलेको घरमा लुकाइछिपाइ राखेको अवस्थामा गैंडाको खागसहित उनलाई पक्राउ गरिएको जनाएको छ ।
पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार पत्रकार सम्मेलन गर्दै गैँडाको खागसहित आरोपित चक्र भण्डारीलाई सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालयका कैलालीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता हरि वलीले खाग तस्करीमा भण्डारी मात्रै नभएर अरु पनि हुन सक्ने भएकाले यसबारेमा अनुसन्धान भइरहेको सो अवसरमा जानकारी दिएका छन् ।
प्रहरीले अपराध अनुसन्धानका क्रममा भण्डारीलाई पक्राउ गरेको भनेर पत्रकार सम्मेलनमा जानकारी गराउन सक्छ भने उनीसँगै अरु को–को हुन् र हुनसक्छन् भन्ने कुराको किन जानकारी दिन सक्दैन त्यो भने सोचनीय बिषय बनेको छ ।
कैलाली प्रहरीले यसअघि पनि पटक–पटक यस प्रकारका लागुऔषधदेखि लिएर बहुमूल्य वन्यजन्तुका ओखेटोपहारहरुसहित तस्करीमा संलग्नलाई पक्राउ गरिसकेको छ । पक्राउ परेका मानिस सार्वजनिक गर्दाका बखत हचुवाको भरमा भरियालाई मात्र सार्वजनिक गर्ने र त्यसको मुख्य योजनाकार कहिल्यै पनि सार्वजनिक गरेको इतिहास छैन कैलाली जिल्ला प्रहरीमा ।
कैलाली जिल्ला प्रहरी कार्यालयले खासगरी लागुऔषध, जडिबुटी तस्करी, गाँजा, चरेस, बाघका, भालु, हात्ती, गैंडाका छाला, हडड्ीदेखि लिएर लोपोन्मुख जंगली जनावरका ओखेटोपहार ओसारपसारमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको भेटिएको छ ।
पत्रकार सम्मेलनमा प्रहरीका प्रवक्ता हुन् या जिल्ला प्रहरी प्रमुख नै किन नहुन् । उनीहरुले पत्रकार सम्मेलनलाई रेडिमेट बनाएर सार्वजनिकीकरण गर्ने गरेका भेटिएको छ ।
पत्रकार सम्मेलनमा मूल योजनाकारको खोजी भइरहेको भन्दै घटनाका बारेमा जानकारी दिने गरेको भएता पनि हालसम्म मुख्य योजनाकार को हो ? र कहिले पक्राउ पर्छन् भन्ने बारेमा समेत आमसञ्चार जगतको पखाईलाई प्रहरीले कहिल्यै पनि सबुतसहित बाहिर ल्याउन सकेको देखिँदैन ।
प्रहरीले पक्राउ गरेर सार्वजनिक गरिने व्यक्तिहरु हालसम्म मजदुर, आम सर्वसाधारण र भरिया मात्र रहने गरेको पाइएको छ भने उनीहरुलाई पत्रकार सम्मेलनमा देखाएर कारागार चलानको प्रक्रिया पूरा गर्ने कार्य मात्र प्रहरीले गर्नु र खास योजनाकारको खोजी
गरेर जसरी भरियालाई सार्वजनिक गरिन्छ सोही अनुरुप मुख्य योजनाकारलाई प्रहरीले किन बाहिर ल्याउन सक्दैन त्यो रहस्यको बिषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्