Logo
Logo

गंगा बरदान १८ वर्षपछि ‘धराने हावा’मा उदाए


दृष्टि संवाददाता


काठमाडौं । एक समयका लोकप्रिय लोकगायक गंगा बरदानले आफ्नो नयाँ गीत ‘धराने हावा तोङ्गबाको पानी’ सार्वजनिक गरेका छन् । यो गीत उनले झण्डै १८ वर्षका अन्तरालमा ल्याएका हुन् ।

गायक गंगा वरदानको ‘छपनीले छान छान डबकीले हान’ गीत श्रोतामाझ लोकप्रिय छ । २०२५ सालमा भोजपुरको दिङ्गलामा आयोजित जिल्लाब्यापी लोकगीत प्रतियोगितामा आफ्नै संकलनमा ‘दाई त काले भाई पनि काले’ गीत गाएर प्रथम भएका बरदानले २०३१ सालमा धरानमा आयोजित पुर्वाञ्चल ब्यापी लोकगीत तथा नृत्य प्रतियोगितामा ‘छपनीले छान छान डबकीले हान’ गीत गएर प्रथम भएका थिए । उक्त गीत निकै लोकप्रिय भयो । उनी यसै गीतले चिनिए ।

यस्तै, २०३५ सालमा रेडियो नेपालमा ‘कहाँमा काट्यो बेतको लौरी’ आफ्नै शब्द, संगीत र स्वरमा रेकर्ड गरेका थिए । त्यसपछि २०५५ सालमा गंगा बरदान भाग–१, २०५७ मा भाग–२ र २०६० मा भाग–३ एल्बम बजारमा ल्याए । त्यसयता उनले कुनै एल्बम तथा गीत बजारमा ल्याएका थिएनन् । अहिले आएर १८ बर्षपछि नयाँ गीत रिलिज गरेका हुन् ।

धरानमा हाइकिङ्ग बाबाको रुपमा समेत परिचित राजिब हलवाईको रचना तथा बरदानकै संगीत रहेको उक्त गीतको भिडियो समेत चाँडै बनाइने बताइएको छ । उमेरले ६९ टेकेका उनले गीत संगीतमै ५० बर्ष काटे ।

हाल श्रीमतीको साथ धरानमै बसोबास गर्दै आएका गायक, रचनाकार तथा संगीतकार गंगा बरदानका छपनीले छान, कहाँमा काट्यो बेतको लौरी, बजारै भरौन धरानै, सुपाडी कुटुक्क, माया गर्ने बानी उल्टै गर्छ हानी, जीउको मासु, अरु नै तर्योजस्ता थुप्रै लोकप्रिय गीत चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस्