Logo
Logo
बालुवाटारमा एमाले बैठक

वामदेवसहित पूर्वमाओवादी नेताहरु सहभागी

पार्टीमा उत्पन्न अन्तरविरोध र समसामयिक राजनीतिक विषयमा छलफल


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल पक्षीय नेताहरुको आग्रहलाई वेवास्ता गर्दै बालुवाटामा एमालेको केन्द्रीय कमिटीको १३औँ बैठक शुरु भएको छ । बैठक सुरु हुन अघि नेपाल पक्षका नेताहरुले बैठक रोकेर सहमतिको प्रयास गर्न पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरेको थियो । तर, उक्त आग्रहलाई वेवास्ता गर्दै बैठक सुरु गरिएको थियो ।

निर्धारित समयभन्दा झण्डै एक घण्टा ढिलो गरी सुरु भएको बैठकमा पार्टीका उपाध्यक्ष वामदेव गौतम सहभागी भएका छन् ।

त्यस्तै, बैठकमा हालै केन्द्रीय कमिटीका अटाएका पूर्वमाओवादी नेताहरु पनि सहभागी भएका छन् । यही १६ गते आयोजक कमिटी भंग गरी ०७५ जेठ ३ को केन्द्रीय कमिटीमा माओवादी केन्द्र परित्याग गरी आएका रामबहादुर थापा बादलसहित २० जनालाई केन्द्रीय सदस्य बनाइएको छ ।

पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आजको केन्द्रीय कमिटी बैठकमा पार्टीमा उत्पन्न अन्तरविरोध र समसामयिक राजनीतिक विषयमा छलफल हुने जानकारी दिए । गत २३ फागुनमा सर्वोच्च अदालतले नाम विवादमा नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्रलाई पुर्ववत अवस्थामा ब्युँत्याएपछि दोस्रो पटक केन्द्रीय कमिटी बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस्