Logo
Logo

नेकपा एकता : माछामाछा भ्यागुता


- दृष्टि न्युज/संवाददाता


नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकता अझै पूरा भएको छैन । केन्द्रीय समिति र प्रदेश समितिसम्म एकता भएको छ । तर तल्लो तहसम्म एकता प्रक्रियाले पूर्णता नपाउँदा लाखौं कार्यकर्ताहरुमा अकर्मन्यता र निराशा छाएको छ ।

पार्टी एकता गर्ने घोषणा ०७४ सालको दशैँमा भएको थियो । यो घोषणा आश्चर्यजनक रुपमा र आकस्मिक रुपमा भएको थियो । त्यसरी नै एकताको बाँकी कामहरु पनि छिट्टै घोषणा हुने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको भनाइ रहेको छ । दशैंको समयमा घोषणा हुँदा पार्टी एकताको उद्देश्यसहित प्रदेश र संघीय संसद्को चुनावमा तालमेल गरेर जाने भनिएको थियो । पार्टी एकता नै गर्न समय नपुगेकोले चुनावपछि पार्टी एकता गरिने घोषणा त्यो बेला भएको थियो । यसलाई कार्यकर्ता र जनताले उत्साहकासाथ लिए । यी दुई दलहरुलाई केन्द्रमा करीव दुई तिहाईको सरकार वनाउन पुग्ने मत र ६ प्रदेशमा वहुमत सहितको सरकार वनाउन पुग्ने मत जनताले दिए ।

चुनाव सकिएपछि सरकार निर्माणको कामले पार्टी एकता केही समय पर पुग्यो । बल्ल जेठ ३ गते दुबै पार्टी एकता भएर नेकपा(नेकपा) वनेको घोषणा भयो । यस पछिको केही महिना मै पार्टी एकताका सबै प्रकृया टुंगीने अनुमान थियो । तर अहिले ११ महिना पूरा हुन लाग्दा पनि तल्लो तह सम्म पार्टी एकता प्रकृया नटुंगीनुले कार्यकर्ता र समर्थक जनतामा अन्यौलता र निराशा पैदा गरेकोछ ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका जानु अगाडि नै पार्टी एकता टुंग्याउने हल्ला पनि चलेको थियो । तर भएन । प्रचण्ड अमेरिकावाट फर्केपछि एकता टुंग्याइन्छ भन्ने नेताहरुको आश्वासनमा कार्यकर्ताहरु आशावान रहेकाछन् । यो विचमा लगानी सम्मेलनमा सरकार व्यस्त रहनु प¥यो । यसैबीच बारा, पर्सामा आएको ठूलो आँधीका कारण भएको जनधनको क्षतिले सरकार त्यसमा केन्द्रित हुन परेकोले पार्टी एकता केही समय पछि धकेलिने भएको छ । साथै यहि समयमा पन्ध्रौं योजना पारित गर्ने कार्यक्रमपनि रहेकोछ । यसमा प्रधानमन्त्री व्यस्त रहनुृ पर्ने हुन्छ । तसर्थ पार्टी एकताको अन्तिम टुंगो वैशाख नभइ नहुने हो कि जस्तो देखिन्छ ।

पार्टी एकता पूरा नहुनाले स्थानिय सरकारहरु स्वेच्छाचारी वनेको आरोप लाग्न शुरु भएकोछ । राम्रा कामहरुमा सहयोग गर्ने र नराम्रा कामहरुमा खवरदारी गर्ने काम पार्टी एकताको अभावले भइरहेको छैन । पार्टीको मेरुदण्ड भनेको पार्टीका स्थानिय कार्यकर्ताहरु हुन् । तर उनीहरु एकतावद्ध पार्टी कमिटिको अभावमा अलमलमा परेकाछन् । जनता माझ सरकार र पार्टीको पुलको काम गर्ने कार्यकर्ताहरु नै अलमलमा परेपछि जनतामा पार्टी र सरकारप्रति नकारात्मक धारणाहरु वढ्न थाल्नु अनौठो कुरा होइन । तल अहिले पनि दुई पार्टीजस्तै रहनु राम्रो कुरा होइन । नेकपा एकताको कुरा माछामाछा भ्यागुताजस्तो बनेको छ ।

केन्द्रमा पनि पार्टी एकताको स्पिरीटअनुसार काम नभएको, विभागहरुले पूर्णता नपाएको, पोलिटव्युरो अहिलेसम्म नबनेको आदिले गर्दा सरकार र पार्टीका केन्द्रीय नेताहरुबीच असमझदारी वढीरहको छ । सरकारमा रहेकाले पार्टीका अन्य नेताहरुले सहयोग नगरेको अनुभूति गर्ने र सरकारमा नरहेका पार्टीका नेताहरुले सरकार आफ्नै हिसावले चल्न थालेको अनुभूति गर्ने स्थिति आउन दिनु सही होइन । व्यक्ति स्वार्थ र गुट स्वार्थभन्दा देशको स्वार्थलाइ केन्द्रमा राखेर पार्टी एकता छिटो टुंग्याउनु नेतृत्वको प्रमुख काम बन्न पुगेको छ ।

यस्तो स्थितिमा सकेसम्म चैतको अन्तिम हप्तासम्ममा र नभए नयाँ वर्षको पहिलो हप्ता सम्ममा कुनै हालतमा पार्टी एकताका सबै काम पूरा गरिनु पर्दछ भन्ने आम कार्यकर्ता समर्थकहरुको रायलाई नेतृत्वले गम्भीरतासाथ मनन् गर्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्