Logo
Logo

करोडपतिलाई ठगीको लत


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । कुनै यस्तो समय थियो, काठमाडौंमा प्रहरीको नयाँ प्रमुख आउने बित्तिकै व्यवसायी तेजकरण जैन गाडी उपहार दिन जान्थे । टेकुमा तेज एण्ड करण इन्टरप्राइजेज नामक कम्पनी चलाउँदै आएका करोडपति व्यवसायी जैन पछिल्लो समय काठमाडौंमा नयाँ प्रहरी प्रमुख आउने बित्तिकै प्रहरी हिरासतमा पुग्ने गरेका छन् ।

गाडी कारोबारका नाममा उनले यति धेरै जनालाई ठगी गरेका छन् कि, हरेक हप्ताजसो उनीविरुद्ध प्रहरीमा उजुरी पर्ने गरेको छ । पछिल्लो तीन वर्षमा उनी पाँच पटक पक्राउ परिसकेका छन् । केही दिनअघि काठमाडौं परिसर टेकुले उनलाई फेरि पक्राउ गरेको छ ।

सेकेण्डह्याण्ड गाडीको खरिदबिक्रीका नाममा उनले सयौंलाई ठगी गरेका हुन् । पुराना गाडी महंगोमा बेचिदिने भन्दै कागज गरेर आफ्नो नाममा ल्याउने गर्दछन् । तेस्रो व्यक्तिलाई बेच्ने र तर किन्ने व्यक्तिको नाममा पनि गाडी पास गर्दैनन् । एउटै गाडीबाट दुई जनालाई ठगी गर्दछन् । कसैलाई खरिदको नाममा तथा कसैलाई बिक्रीका नाममा उनले ठगी गर्दै आएको प्रहरीले जनाएको छ । हाल राजेन्द्र डंगोल, प्रल्हाद खकुरेल, मिङमा तेन्वी शेर्पा, जुद्धबहादुर गुरुङ र प्रदीप अग्रवालले उनीविरुद्ध उजुरी दिएका हुन् । बेच्न दिएको गाडीसमेत फिर्ता नपाउने एक पीडितले बताए । तेस्रो पक्षलाई उनले त्यसरी गाडी बेचिदिने गरेका थिए । कतिपयसँग पैसा लिने तर गाडी नदिने गरेको समेत प्रहरीले जनाएको छ ।

पाँच महिनाअघि मात्र कालिमाटी वृत्तले उनलाई पक्राउ गरेको थियो । सेनाका दुईतारे जर्नेललगायतलाई ठगी गरेको अभियोग उनीमाथि लागेका थिए । सुरुमा जेल चलान भएका उनी उच्च अदालतबाट छुटेका थिए ।

फेरि उनी यतिबेला प्रहरी हिरासतमा पुगेका छन् । पैसा दिने भनेर झुलाउने गरेपछि पीडितहरु प्रहरीमा गएका हुन् । अझ धेरै पीडितहरुले उजुरी दिएका छैनन् । पटक–पटक जेल पर्दा पनि जैन सुध्रिएका छैनन् । अनुसन्धानमा आबद्ध प्रहरी भन्छन्– उनलाई ठगीको लत नै लागिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्