प्रचण्डको वर्तमान र माओवादीको भविष्य « Drishti News – Nepalese News Portal
Logo

प्रचण्डको वर्तमान र माओवादीको भविष्य


मिलन लिम्बू


काठमाडाैं । राजनीति पुष्पकमल दाहाल ‘प्रचण्ड’कै पेरिफेरी घुम्छ । वर्तमान व्यवस्थाका एक हिस्सा भएकाले प्रचण्डको पेरिफेरि राजनीति घुम्नु असंगत हुँदैन । तर, राजनीतिक स्थायित्वसँग प्रचण्डको राजनीतिक सफलता र असफलता व्याख्या हुनेछ । त्यसैसँग व्यवस्थाको भविष्य जोडिन्छ ।

प्रचण्डले व्यवस्थाविरुद्ध हुने सबैखाले प्रवृत्तिविरुद्ध जीवनभर लड्नुपर्छ अर्थात् प्रचण्डलाई ‘नसकिने भो’ भन्ने छुट छैन ! प्रचण्ड आफैँले पतनको यात्रा रोजे बेग्लै कुरा । नत्र, उनलाई अलिकति सुविधा भोगौं भन्ने पनि सुविधा हुने छैन ।

बारम्बार प्रतिक्रान्ति हुन्छ । प्रतिक्रान्ति रोक्दै व्यवस्था अझ बलियो बनाउनु जीवनपर्यान्त प्रचण्डको जिम्मेवारी हुन्छ । आफैँले स्थापित गरेका मुद्धाहरुलाई अलपत्र पारेर अन्त कतै विलिन हुने सुविधा प्रचण्डलाई हुँदैन । तर, प्रचण्ड आफैँ कति कमजोर धरातलमा छन् भन्ने आज कसैलाई हेक्का छैन् ।

एमाले–माओवादी एकता हुनुभन्दा अगाडिका वर्षहरुमा भन्ने गरिन्थ्यो– ‘माओवादीको मुद्धा र एमालेको संगठन एक ठाउँमा भए दुनियाँमा कोही टिक्दैन ।’ अर्थात एमालेको बलियो संगठनात्मक संरचना र माओवादीको जनपक्षीय मुद्धाले सबैलाई लोभ्याएको थियो ।

एमाले–माओवादी एकतामार्फत त्यो आशा र अपेक्षा पूरा भएको पनि हो । तर, सबै प्राप्ति सधैंका लागि हुँदैन भन्ने प्रमाणित भयो । आज न एमालेको संगठन छ, न त माओवादीको मुद्धा नै । यो रापतापविहीन अवस्थाको भागीदार नेतृत्वको हैसियतमा प्रचण्ड र केपी ओली दुवै हुन् । लेखाजोखा गर्दा प्रचण्डको थाप्लोमा कम दोष पर्नु बेग्लै कुरा…।

ओलीको आडम्बरले एमाले संकटमा फस्दा प्रचण्ड नेतृत्वको माओवादी पनि उन्नयनको बाटोमा देखिँदैन । एमालेको विग्रहमा आनन्दभूत माओवादीका लागि सकारात्मक परिणामको संकेत होइन । प्रचण्ड जति चलायमान देखिन्छन्, माओवादी त्यति नै ‘गतिहीन’ छ । जुन माओवादीका लागि घातक छ ।

वर्तमान ध्रवीकरणमा एउटा शक्तिको नेतृत्वकर्ता प्रचण्ड नै हुन् । शेरबहादुर देउवा, माधवकुमार नेपाल र उपेन्द्र यादवहरु परिस्थितिले प्रचण्डसँग एउटै ध्रुवमा छन् । प्रचण्ड यस्तो अवस्थामा सुरक्षित नै महसुस गर्छन् । तर, वस्तुगत रुपमा प्रचण्ड कमजोर छन् । माओवादीको संगठनात्मक संरचनाले पुष्टि गर्ने कुरा हो ।

समकालीन नेपाली राजनीतिका ‘मियो’ प्रचण्डको आधार कमजोर छ । माओवादी कमजोर हुँदा प्रचण्ड बलवान् हुन सक्दैनन् । प्रचण्ड कमजोर हुनु व्यवस्थामाथि प्रहार बढ्नु हो ।

संविधान लेखनको क्रममा चरम ध्रुवीकरण हुँदा एमाले ठूलो विग्रहमा फस्यो । अशोक राईहरुले विद्रोह गर्दैगर्दा माओवादीहरु सबैभन्दा खुशी थिए । एमाले फुट्दा माओवादीलाई फाइदा हुन्छ भन्ने बुझाइ थियो । तर, २०७० को निर्वाचनले उल्टो परिणाम दियो ।

मुद्धाको आधारमा अशोक राई र माओवादीका मतदाता एउटै थिए । अशोक राईहरुको उपस्थितिले माओवादीकै भोट काटियो । दुवैले नजितेर हार्दा ओली नेतृत्वको एमाले झनै बलियो भयो । आज पनि एमाले फुट्दा जनमतको आधारमा माओवादीलाई फाइदा हुँदैन । एमालेजन एमाले नै रहन्छन्, माधव एमाले वा ओली एमालेको रुपमा ।

आन्तरिक विग्रहले एमाले विभाजन सन्निकट छ । एमाले विभाजन हुँदा माओवादी ठूलो कम्युनिष्ट पार्टी रहन सक्छ । तर, आकार बढेर ठूलो नभइ प्रतिस्पर्धीको आकार घट्दा माओवादी ठूलो देखिने मात्र हो । तत्कालका लागि माओवादीलाई फाइदा नै हुन्छ । तर, माओवादीको कमजोर धरातल जस्ताको त्यस्तै रहन्छ ।

सर्वोच्चले एमाले–माओवादी ब्युँताएपछि स्वीकार्नुपर्ने बाध्यात्मक परिस्थिति बन्यो । माओवादी या एमालेका लागि त्यो हारमात्र थिएन, पुर्नजीवनका लागि अवसर पनि थियो ।

हरेक हारमा अर्को जीतको सम्भावना देख्ने हो भने नेकपा खारेजी अवसर मानेर सदुपयोग गर्नुपर्ने हुन्छ । अहिलेकै अवस्थामा एमालेमा त्यो सम्भव हुँदैन । माओवादीका लागि सहज अवसर हो । तर, माओवादी त्यो अवसर सदुपयोग गर्न तयार हुन सकेकै छैन ।

माओवादीसँग अब ‘प्रोगेसीभ एजेण्डा र पपुलिष्ट प्रोगाम’ छैन । संगठनात्मक अवस्था झन–झन कमजोर बन्दै गएको छ । एमालेसँग एकता गर्दा गिजोलिएको संगठनात्मक संरचनाले अझै मेसो भेटाउन सकेको छैन । समग्रहमा माओवादी आन्दोलन नै अलमलमा छ ।

‘प्रोगेसीभ एजेण्डा र पपुलिष्ट प्रोगाम’मा स्थापित माओवादी आन्दोलनलाई गति प्रदान गर्न देशभर बलियो संगठनात्मक संरचना चाहिन्थ्यो, चाहिन्छ । त्यही कुरामा माओवादीले आफूलाई ‘करेक्सन’ गर्न सकिरहेको छैन । माओवादी काग झै कुहिरोमा अलमलियो ।

संगठनात्मक रुपमा माओवादी कमजोर हुनुका अनेक कारण छन् । माओवादीको संगठनात्मक संचरना व्यवहारिक छैन । समितिहरु उल्टो पिरामिड आकारका छन् । कार्यकर्ताभन्दा नेता धेरै छन् । कमिटीहरु चुस्त हुनसकेका छैनन् । कमिटीहरुका गतिविधि जनतासँग जोडिएका छैनन् । त्यस्तो संगठनात्मक संरचनाले पार्टी कमिटी बलियो हुँदैन ।

माओवादीमा आन्तरिक लोकतान्त्रिकरणको समस्या छ । संसदीय राजनीतिमा आन्तरिक लोकतान्त्रिकरण महत्वपूर्ण हुन्छ भन्ने कुरालाई नजरअन्दाज गरिएको छ । माओवादीका अधिवेशनहरु समयमा हुँदैनन् । आवद्यिक अधिवेशनहरु नहुँदा नेतृत्व हस्तान्तरण प्रकृया लामो समयदेखि रोकिएको छ ।

शान्ति प्रकृयामा आउँदा भ्रातृ संगठनहरुको नेतृत्वमा जो देखिएका थिए, आज पनि उनैलाई नेतृत्व भनेर देखाइँदैछ । नेतृत्व हस्तान्तरण नहुँदा कार्यकर्ता पंक्तिमा डरलाग्दो आकारमा नैराश्यताले ठाउँ बनाएको छ । माओवादीका लागि त्यो दीर्घकालीन संकटको विजारोपण हो ।

माओवादीमा योग्यता र क्षमताको आधारमा जिम्मेजारी प्रदान गर्ने परिपाटी विकास भएको छैन । कार्यकर्ता पंक्तिको उचित व्यवस्थापन गर्न नसक्नु अर्को समस्या हो । बारम्बार सत्तामा पुगेपनि आफ्ना नेता कार्यकर्ता व्यवस्थापनमा ध्यान नदिनु उचित थिएन ।

अयोग्य लडाकुको रुपमा ‘क्यान्टनमेन्ट’बाट बाहिरिएका सयौँ ‘नम्बरी’ कार्यकर्ता आज माओवादीसँग छैन । ओलीहरुले तक्मा देखाएर लोभ्याइसके । एमालेमा राजनीतिक भविष्य देख्नेहरु एमालेमा समाहित भइसके । सबै परिस्थितिहरु हेर्दा माओवादीको घनत्व घटेको मात्र देखिन्छ ।

माधव नेपालहरुसँग मिलेर नयाँ पार्टी बनाउने माओवादी लक्ष्य होला । तर, अहिलेकै अवस्थामा त्यो सम्भव छैन । प्रचण्डसँगै मिल्ने भए सर्वोच्चले नेकपा खारेज गरेको दिन पेरिसडाँडाबाट आँशु पुछ्दै माधवहरु धुम्बाराही जाने थिएनन् । माधवहरुले एमाले छाडेपनि कम्तीमा आगामी निर्वाचनसम्म एमाले नै रहन्छन् ।

‘एमालेधार माओवादीमा विलय गरायो’ भन्ने आरोप खेप्न माधव नेपालहरु अहिलेकै अवस्थामा तयार हुन सक्दैनन् । देशभर आधा एमाले हातमा लिएर बसेका माधव नेपालहरु एमालेजन जोगाउन पनि आगामी आमनिर्वाचनसम्म कोहीसँग पार्टी एकता गर्दैनन् । निर्वाचनमा सहकार्य गर्नु बेग्लै कुरा हो । त्यसैले, माधव नेपालहरु आउलान् र संगठन बलियो बनाउँला भनेर बस्नु माओवादीको गल्ती हुनेछ ।

माओवादीले आफ्नो संसदीय आधार विस्तार गर्न सकेको छैन । प्रचण्ड आफैँले पनि आफ्नो निर्वाचन क्षेत्र सुनिश्चित गर्न सकेका छैनन् । धेरै शीर्ष नेताको निर्वाचन क्षेत्र सुनिश्चित छैन । राम्रो जनमत भएका केही नेताले एमाले रोज्दा जनमत पनि त्यतै सरेको छ ।

पछिल्लो निर्वाचनको तुलनामा जनमत बढेको छैन । बरु, अधिकांश निर्वाचन क्षेत्रमा पार्टी एकताका क्रममा जनमत माओवादीबाट एमालेतर्फ ‘सिफ्ट’ भएको छ । माओवादीले जनमत बढाएर बलियो हुने प्रकृतिका कार्यक्रम बनाउन सकेको छैन । जनतासम्म पुग्ने कार्यक्रम नबन्दा जनता र नेता कार्यकर्ताको सम्बन्धमा दूरी बढ्दै छ । यसको प्रभाव आगामी निर्वाचनमा देखिनेछ ।

संगठनात्मक रुपमा कमजोर माओवादीमा एउटा आशा जिवित छ । अधिकांश नेता ‘गठबन्धन भए जितिन्छ’ भन्छन् । ‘हाम्रो जीत सुनिश्चित छ’ भन्ने नेता कार्यकर्ता माओवादीमा छैनन् । गठबन्धन भए जितिन्छ भन्नु असंगत हुँदैन तर आफू बलियो बन्ने कोसिस नगरेर अरुको भर पर्नु राजनीतिमा उचित होइन । अघिल्लो निर्वाचनमा गठनबन्धन हुँदा माओवादी उम्मेदवारले अनपेक्षित क्षेत्रहरुमा जितेका हुन् । अहिले पनि गठबन्धन भए धेरै ठाउँ जित्लान, तर सधैँ गठबन्धनले जिताउने परिस्थितिले पार्टी बन्दैन ।

परिस्थिति हेर्दा समकालीन नेपाली राजनीतिका ‘मियो’ प्रचण्डको आधार कमजोर छ । माओवादी कमजोर हुँदा प्रचण्ड बलवान् हुन सक्दैनन् । प्रचण्ड कमजोर हुनु वर्तमान व्यवस्थामाथि प्रहार बढ्नु हो । माओवादी कमजोर हुनुको अर्थ परिवर्तनकामी शक्ति कमजोर हुनु हो । अग्रगामी शक्तिहरु कमजोर हुनुको अर्थ बेला–बेला प्रतिगमनले टाउको उठाइरहनु हो ।

पुष ५ यताका घटनाहरु त्यसैका बाछिटाहरु हुन् । त्यसैले माओवादी आफ्नै खुट्टामा उभिनुपर्छ । माओवादी बलियो भए मात्र सबै खाले प्रतिगमनहरु निरुत्साहित हुन्छन् र देशले सही बाटो समाउने छ ।

प्रतिक्रिया दिनुहोस्