Logo
Logo

बिपतका बेला अभिभावक बन्यो सरकार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ‘बारा र पर्सा जिल्लाका केही स्थानमा अहिले साँझ आएको डरलाग्दो आँधी र हुरीबाट जनधनको अकल्पनीय क्षति भएको जानकारी आएको छ । यस आकस्मिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु । उद्धारमा सुरक्षाकर्मीहरू परिचालित भइसकेका छन् । उद्धारमा गम्भीर हुन र घाइतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशन दिइसकेको छु ।’ आइतबार राति १०ः३७ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर ह्यान्डलबाट यस्तो सूचना सार्वजनिक भयो । लगत्तै अर्को सूचना आयो, ‘हालसम्म २५ जनाको ज्यान गएको र करिब ४०० घाइते भएको जानकारी आएको छ । मृत्युवरण गर्नेहरूप्रति शोकव्यक्त गर्दछु । र, शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’ ४० मिनेटभित्रै प्रधानमन्त्रीले अर्को सन्देश जारी गरे, ‘आवश्यक उद्दार र राहतका लागि हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ । मौसमले साथ दिए तत्काल उद्धार गर्न काठमाडौंको एयर बेसमा ‘नाइट भिजन हेलिकोप्टर’ तयारी अवस्थामा राखिएको छ । सुरक्षाकर्मीसँगै उद्धारमा संलग्न रहन म, सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दछु ।’

पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आइतबार दिउँसो गृहजिल्ला झापा लागेका थिए । मंगलबार मात्रै काठमाडौं फर्कने उनको कार्यक्रममा थियो । तर, आइतबार साँझ आएको विनाशकारी आँधीबेहरी र असिना पानीले ठूलो जनधनको क्षति भएपछि उनले सम्पूर्ण औपचारिक कार्यक्रम रद्द गरे । सोमबार बिहानै प्रभावित क्षेत्रतिर दौडिए । आइतबार साँझ क्षतिको पहिलो सूचना पाएलगत्तै उनले उद्धारमा जुट्न निर्देशन दिइसकेका थिए । प्रधानमन्त्री झापामै रहे पनि उद्धारका लागि दिइएको निर्देशनपछि नेपाली सेनाको हेलिकोप्टर राति पौने ११ बजे बारातर्फ उड्नका लागि तयारी अवस्थामा राखिएको थियो । तर, मौसमको प्रतिकूलताका कारण होलिकोप्टर उड्न सकेन । आइतबार राति पटकपटक प्रधानमन्त्रीका ट्वीट आइरहे । यस्तो लाग्थ्यो, राति अबेरसम्म प्रधानमन्त्री निदाएनन् । रातको अन्धकारमा विपद्को सामना गरिरहेका आफ्ना नागरिकको पीडाबाट प्रधानमन्त्री मर्माहत थिए । ‘आइतबार बेलुकीदेखि नै प्रधानमन्त्री बेचैन देखिनुहुन्थ्यो । क्षतिको विवरण आउन थालेपछि, मृत्यु भएका र घाइते भएकाहरूको संख्या बढ्दै गएपछि उहाँ निकै छटपटिनुभएजस्तो लाग्थ्यो,’ झापामै रहेका प्रधानमन्त्रीका एक सहयोगीले दृष्टिसँग भने, ‘अबेरसम्मै सुत्नुभएन । पटकपटक सूचना लिने र निर्देशन दिने काम गरिरहनुभएको थियो ।’

कम्तीमा ३१ जनाको मृत्यु भएको र ६ सयभन्दा बढी घाइते भएको सो त्रासदीपूर्ण घटनाले प्रधानमन्त्रीलाई गहिरो दुःखी बनाएको थियो । प्रधानमन्त्रीको निर्देशनपछि साँझदेखि बाराको फेटा गाउँपालिकामा सुरक्षाकर्मीको टोली परिचालित भएको थियो । घाइतेलाई तत्काल अस्पतालसम्म पु¥याउन आवश्यक सम्पूर्ण प्रवन्ध गर्न प्रधानमन्त्रीले निर्देशन दिएका थिए । तर, ठाउँठाउँमा रुख, विजुलीका पोल ढलेका, यातायातका साधन पल्टिएका कारण सहज आवागमनको अवस्था थिएन । बाँसका भाटामा कपडा बाँधेर बनाइएका स्ट्रेचरमा राखे र गाउँले युवाहरूले सयौँ घाइतेलाई अस्पताल पु¥याए । बाराको कलैयासहित वीरगन्जका ठूला चारवटै अस्पताल भरिए । चिकित्सक, औषधि र बेडको अभावमा घाइते छटपटाउन बाध्य भए । प्रधानमन्त्री ओलीले राति नै आसपासका जिल्लाबाट समेत चिकित्सक झिकाउन र उपचार सेवा प्रभावकारी बनाउन निर्देशन दिएका थिए । आइतबार राति सम्भव नभए पनि सोमबार बिहानै चिकित्सकहरूको टोली लिएर काठमाडौंबाट हेलिकोप्टर उडे । सडक मार्गबाट तत्काल राहतका सामग्री लिएर ट्रकहरू प्रभावित क्षेत्रतर्फ लागे ।

पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम छाडेर सोमबार बिहान हेलिकोप्टरबाट सिमरा विमानस्थल झरेका प्रधानमन्त्रीले बाराको कलैया अस्पतालमा उपचार गराइरहेका घाइतेको अवस्था बुझेका थिए । उनले पर्साका विभिन्न अस्पतालमा उपचार गराइरहेका सयौँ घाइतेको पनि स्वास्थ्यअवस्था बुझे भने उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिए । यस्तै, हेलिकोप्टरबाटै हावाहुरी प्रभावित फेटा गाउँपालिकाको निरीक्षण गरे । आँधीहुरीबाट जनधनको ठूलो क्षति भएपछि फेटा शोकमा डुबेको थियो । प्रधानमन्त्री ओलीको अनुहारमा समेत त्यो पीडा झल्कन्थ्यो । घाइते सम्पूर्णको उपचारको व्यवस्था सरकारले गर्ने घोषणा गरेका प्रधानमन्त्रीले सोमबार साँझ मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाए । प्रधानमन्त्रीको सक्रियतामा मृतक परिवारलाई तत्काल राहत, मृत्युभएकाहरूको अन्त्येष्टि, घर भत्काएपछि घरबारविहीन भएकाहरूलाई तत्काल पुनस्र्थापनाका लागि प्रभावकारी व्यवस्था र खाद्यान्न, औषधि, लत्ताकपडाजस्ता अत्यावश्यकीय वस्तुको अभाव हुन नदिन आवश्यक प्रवन्ध गर्ने निर्णय भयो । प्रधानमन्त्रीकै सक्रियतामा संघीय सरकारले ४६८ वटा त्रिपाल हावा हुरी प्रभावित जिल्लामा सोमबारै पठायो ।

प्रधानमन्त्रीको सक्रियता देखेर कतिपयले जनताले साँचो अभिभावक पाएको टिप्पणी गरेका छन् । ‘समृद्ध नेपाल, सुखी नेपालीको संकल्पका निम्ती कोशेढुंगा मानिएको अन्तर्राष्ट्रिय लगानी सम्मेलन सम्पन्न गराउन अहोरात्र खटिएका प्रधानमन्त्रीले विपतमा परेका बेला आफैँ सक्रियता देखाएर अभिभावकीय भूमिका निभाएका छन्,’ सोमबार दिनभरी नै सामाजिक सञ्जालमा यस्ता प्रतिक्रिया आइरहे । तीन वर्षअघि २०७२ साल वैशाख १२ मा आएको विनाशकारी भूकम्पका वेला राज्यको अनुभूति गर्न नपाएका लाखौँ नेपालीले यसपटक प्रधानमन्त्री स्वयम् प्रभावित क्षेत्र पुग्नु, घाइतेलाई भेट्नु, उद्धार तथा उपचारको प्रबन्ध मिलाउनु र सिंगो देशलाई उद्धारमा परिचालन गर्नुले सामाजिक सञ्जालमा देखिएका टिप्पणीलाई सही सावित गरेको छ ।

राष्ट्रपतिद्वारा शोक व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ बारा र पर्सालगायत जिल्लामा भीषण हावाहुरीका कारण ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दैैै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सोमबार वक्तव्य जारी गर्दै प्राकृतिक विपत्तिमा परी घाइते भएकाहरूलाई तत्काल उपचार र असहज अवस्थामा रहेकाहरूलाई राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्नुभएको छ । ठूलो संख्यामा जनसमुदाय घाइते भएकामा राष्ट्रपतिले गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

यस्तै, राष्ट्रपतिले हावाहुरी, बाढीपहिरो, डढेलो, आगलागीजस्ता प्राकृतिक प्रकोपबाट जोगिन र जोगाउन सम्बद्ध सबै पक्षलाई समयमा नै पूर्वसावधानी अपनाउनसमेत ध्यानाकर्षण गराउनुभएको छ । उहाँले भौतिक पूर्वाधार विकास गर्दा जोखिम न्यूनीकरणका सबल उपाय अवलम्बन गर्न सरोकार भएका सबै पक्ष सचेत रहनुपर्नेमा जोड दिनुभएको छ ।

यसैबीच संघीय संसद्मा प्रतिनिधित्व गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद्ले आफ्नो एक दिनबराबरको तलब हुरीबतास पीडितका लागि सहयोग गर्ने भएका छन् । प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका सांसदहरूको एक दिनको तलब राहत कोषमा जम्मा गर्ने व्यवस्था मिलाउन उपनेता सुवास नेम्वाङलाई निर्देशन दिएका थिए । यसअघि नेकपा सांसद योगेश भट्टराईले दलका उपनेता सुवास नेम्बाङलाई भेटेर पार्टीका सांसदहरूले सहयोग गर्ने प्रस्ताव राखेका थिए ।

नेकपाले समेत आफ्ना सम्पूर्ण संयन्त्रलाई उद्धार, राहत र सहयोगमा परिचालन गरेको छ । साथै, पीडितलाई उद्धार, राहत र क्षतिपूर्तिका साथै घाइतेको उपचार गर्न सरकारलाई आग्रह गरेको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले सोमबार जारी गरेको विज्ञप्तिमा घटना हुनासाथ सरकारका तर्फबाट उद्धारमा देखाइएको तत्परताले थप मानवीय क्षति हुनबाट बचाएको उल्लेख गरिएको छ । विज्ञप्तिमा मृतकका शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गर्दै उक्त घटनामा परी घाइते हुनेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्