Logo
Logo

‘थुइक्क मेरो ४० वर्षे सेवा’ भन्दै उपसचिव सञ्जेलले अवकाश लिए


दृष्टि संवाददाता


विराटनगर । श्रम कार्यालय विराटनगरमा हाजिर हुनेवित्तकै चर्चामा आएका उपसचिव प्रेमप्रसाद सञ्जेल निजामती सेवाबाट अवकाश भएका छन् । ५८ वर्षे उमेरहदका कारण सञ्जेलले असार १५ गते अनिवार्य अवकास पाएका हुन् ।

अवकाश भएर जाँदाजाँदै उनले सरकारको नेतृत्वकर्तालाई मात्र नभएर आफैँलाई समेत गाली गरेका छन् । सुधारको प्रयत्न गर्दा पनि नसकेपछि आफैंलाई गाली गर्दै भनेका छन्, ‘थुइक्क मेरो ४० वर्षे सेवा, मेरो देशको नीति, विधि र प्रविधि, निजामती सेवा, मेरो नेता, कर्मचारी र म ।’

निजामती सेवमा रहँदा राज्य संयन्त्रलाई खुला चुनौती दिएपछि उनी निकै चर्चामा आएका थिए । श्रम कार्यालय विराटनगरमा हाजिर भएलगतै सरुवा भएका कारण उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका थिए । राजनीतिक पहुँचका आधारमा हाजिर भएको तीन महिनामै सरुवामा परेपछि सर्वाेच्च अदालतबाट मुद्दा जितेर काममा फर्किएपछि सोही दिन उनी कार्यालयबाट अवकास लिएका छन् ।
भ्रष्टाचार विरोधी अभियन्ताको पहिचान बनाएका सञ्जेल निडर र हक्की स्वभावका छन् । अवकासपछिको जीवनमा के गर्ने भन्ने उनले सोच बनाइसकेका छैनन् । तर, आफू जापान जान सक्ने बताएका छन् ।

२०३९ साल फागुन ३ गते खरिदार हुँदै निजामती सेवा प्रवेश गरेका सन्जेल २०४६ साल असार २७ गते नायब सुब्बामा बढुवा भए । उनी २०६६ साल कात्तिक २९ गते उपसचिवमा बढुवा भएपछि सहसचिवको बढुवा प्रकृयामा सहभागी भएनन् ।

४० वर्षे सेवा अवधीमा सञ्जेल राजतन्त्र र गणतन्त्र दुवै व्यवस्था कार्यान्यवन गर्ने तहमा बसेर काम गरे । आफ्नो सेवा अवधीमा राजादेखि राष्ट्रपतिसम्मलाई गाली गर्न भ्याएका थिए ।

निजामती सेवामा रहँदा भ्रष्टाचारविरुद्ध अभियान चलाए पनि सुधार नआएको बताउँदै उनले आफू जहाँ बस्यो त्यहाँ भ्रष्टाचार हुन नदिएको दाबी गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन् :

स्थायी नोकरीमा मात्र ४० बर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरी विदा लिएँ

भ्रष्टाचारी, कालो कमाउने, घुस्याहा, भुस्याहा, छुस्याहा, जँड्याहा, कप्ट्याहा, द्रब्यपिसाच, घोसे, घोप्टे, कपटी, चाप्लुसे देशमारा, जनताको रगत चुसाहा, अफिसको रगत चुसाहा, कमिसन खोर, कर्मचारीहरु र तिनका दृश्य अदृश्य राजनैतिक संरक्षकहरु र ….हरु/जागिरबाट/सेवाबाट/पेशाबाट/कामबाट र .. बाट अवकाश भै/ वा खारेजभै ‘सँधैको लागि’ घर जान बिदा हुँदा जनताको रगत चुसेर भित्री शरिर जुकाको जस्तो रगतले ढाडिएर रातोपिरो पारेर बाहिरी शरिर र ‘घुस्याहा कालो अनुहार’ तत्काल छोप्न आसेपासेद्वारा कालो अनुहारमा अविर दलाएर तथाकथित बिदाई समारोहको ‘प्रायोजन’ गर्छन् । मैले त्यस्तो तथाकथित काम बहिस्कार गर्ने चलन आफैँबाट शुरू गरेँ । स्थायी नोकरीमा मात्र ४० बर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरी विदा लिएँ । धन्यबाद ।

नेपालमा नेता मात्र होईन कर्मचारी पनि उत्तिकै खराब छन् । ४० बर्ष जागिर खायो रे । अरुले नगरेको तर तैले गरेको एउटा काम भन त भन्दा अफिस गएर फर्केँ भन्छ । पाए घुस खान्छ । नपाए अफिसको कमिसन खान्छ । भ्रस्टचार गर्छ । बाल बचेरा बिदेशमा पढाउँछ । यस्ताले त भैँसी पालेर बसे कसो होला ? स्थायी नोकरीमा मात्र ४० बर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरी विदा लिएँ ।

नेपालका सबै कर्मचारी साथी,तिमीले आफ्नैदेश सुधार्न के कसम खायौँ ? अझै घुस, कमिसन, नजराना, इनाम, बक्सौनी, रिश्वतको नाममा आफ्नै देश र गरिब नेपाली जनताको रगत चुस्दै छौ ? मैले भ्रष्टाचारबिरुद्ध लड्दा जेल, ज्यान र जागिरमाथि हिँडने आबश्यक परेका बखत बात, हात र लात चलाउने, समयले जे निर्णय गर्छ, सोही मान्ने कसम खाएर सरकारी जागिर÷स्थायी नोकरीमा मात्र नोकरीमा ४० बर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरी विदा लिएँ । धन्यबाद

प्रतिक्रिया दिनुहोस्