Logo
Logo

एमाले बैठक बस्दै, महाधिवेशनको मिति सार्ने तयारी


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी आज पनि बैठक बस्दैछ । शनिबार अपरान्ह ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको हो ।

बैठकमा पार्टीको सांगठनिक काम कारबाहीबारे छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए । उनका अनुसार आज बस्ने बैठकमा यसअघि घोषणा गरिएको दसौँ महाधिवेशनको मिति सार्ने तयारी गरिएको छ । यसअघि आगामी मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन हुने भनिएको छ ।

कात्तिक–मंसिरमा चुनावको मिति घोषणा भैसकेको अवस्थामा फागुनमा स्थानीय चुनाव गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । ‘हामीले पार्टीको महाधिवेशन पनि गर्नुपर्ने छ’ उनले भने, ‘मंसिर २ देखि ६ मा हुने भनिएको महाधिवेशनको मितिबारे आजको बैठकबाट पुनर्विचार हुने सम्भावना छ ।’

महाधिवेशनको मिति आसन्न असोजमा सार्ने कि ०७९ जेठमा लैजाने भन्ने विषयमा छलफल भइरहेको तामाङको भनाइ छ । आजको छलफलमा पनि माधव नेपाल समूहलाई बोलाइएको तामाङले बताए ।

उनले भने, ‘माधव कमरेडसहितका साथीहरुलाई पनि बोलाएका छौं । आउने नआउने उहाँहरुको कुरा हो । उहाँहरु एमालेमै हुनुहुन्छ ।’ आजको बैठकमा नआए पनि ७२ घण्टाभित्र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता नलिए कारबाही हुने तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्