आफ्नै आँखा अगाडिको युद्ध « Drishti News – Nepalese News Portal
Logo
साहित्य

आफ्नै आँखा अगाडिको युद्ध


छविरमण सिलवाल


‘युद्धग्रस्त अफगानिस्तानमा कार्यरत कवि हृदयको एक नेपाली सर्जकले आफ्नै आँखाबाट युद्धको दृश्य कस्तो देख्यो र भोग्यो भन्ने कुराको यथार्थ प्रस्तुति हो यो कृति । विश्वका ठूला ठूला त्यसमा पनि सुरक्षा चुनौती थप जटिल मानिने यस्ता अन्तराष्ट्रिय प्रोजेक्टहरुमा सम्बद्ध हुँदा विभिन्न देशका अपरिचित मानिसहरुसँगको सङ्गत, व्यवहार र सहकार्यमा कस्ता–कस्ता घटनासँग कुस्ती खेल्नुपर्छ भन्ने कुराको दिग्दर्शन पनि यस पुस्तकको उल्लेख्य पक्ष हो ।’

वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार रोचक घिमिरेको यी भनाइहरुले ‘अफगानी रणमैदान’का बारेमा प्रष्ट पारेको छ । उहाँकै यी भनाइ सँगै ‘अफगानी रणमैदान’का बारेमा केही कुराहरु गर्ने जर्मको गरेको छु ।

सकभर हामी युद्ध नहोस भन्ने चाहन्छौं । तर हाम्रो चाहनालेमात्र नहुँदो रहेछ । ‘कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धी’ भन्ने उखान त्यसै बनाएका होइनन् हाम्रा पुर्खाले । मान्छेको अहम्ले कैयौ निर्दोषको ज्यान गएका छन् । यो श्रृङ्खला विश्वव्यापी रोग नै बनेको छ । अहम्का महलहरु ठडिई रहेका छन्, र त्यहीँ महलबाट आँसुका भेल निकालेर व्यापार गरिरहेका छन्, मान्छेहरु धर्मको ।

नेपालको पूर्व एकनम्बर रामेछापको रस्नानुमा (२०२६)मा जन्मेका केदार सुनुवार साहित्यिक क्षेत्रमा ‘केदार सङ्ेत’ नामले प्रख्यात छन् । संकेतको कलम युद्ध साहित्यमा वढी चल्नुको पछाडि उनको कर्म क्षेत्रले नै जुराएको अवसर हो । लाहुुरे बन्ने नेपालीको सपना संकेतको विपना बनेकोले नेपाली युद्ध साहित्यमा उनी अब्बल देखिएका हुन् ।

ब्रिटिस सेनाबाट सेवा शुरु गरेर निवृत्त भइसकेका सङ्केत बेलायतमा बसोवास गर्छन । फुर्सदको समयको सदुपयोग गर्दै गरेका बेला भूपू ब्रिटिस सेनाहरुलाई रोजगारीको अवसरले तानिन्छन् । सेलेक्ट भएपछि लाग्छन् पुनः कर्मभूमि अफगानिस्थानतर्फ । त्यहीँ कर्मभूमिबाट नेपाली साहित्यलाई एउटा कृति दिए ‘अफगानी रणमैदान’ नामक युद्ध साहित्यको अब्बल कृति । युद्ध साहित्यमा कलम चलाउने सष्टा कम छन् । त्यसमा पनि युद्ध मैदानबाटै साहित्य लेख्ने त धेरै नै कम छन् । त्यसमध्ये केदार सङ्केत अग्रपंक्तिमा आउँछन् ।

युद्ध मैदानमा डटेर साहित्य लेख्नु र युद्ध मैदान निहालेर लेख्नुमा धेरै फरक छ । त्यसैले सङ्केत युद्ध मैदानमा डटेरै बन्दुक र वारुदको गन्ध सहदै साहित्य लेखिरहेका छन् । त्यसको ज्वलन्त उदाहरण हो– अफगानी रणमैदान ।

रातभरी क्याम्प आक्रमण गर्न आएका तालीवानीहरुसँग लडेर संगैका साथीहरु सहादत भएको कुरा हामीलाई कथा जस्तो लाग्छ, तर उनको लागि त्यो क्षण वास्तवमै दुःखदायी थियो । संकेतले ति क्षणहरुलाई कसरी शब्दमा उन्न सके, कल्पना गर्न सकिन्न । एउटा कविहृदयले ति लडाइँ कसरी लड्न सके होलान ? यो प्रश्नको जवाफ ‘अफगानी रणमैदान’ले दिन्छ ।

लडाइँको बखत संकेत आफ्नो कविहृदय विर्सन्छन् । लडाइँ सकेर बाँचेपछि ‘म कवि हुँ’ भन्ने सम्झदा रहेछन् । र, त्यहीँ घाइते मुटु लिएर कागजका पन्नामा आफ्ना अनुभवहरु पोख्दा रहेछन् । यस्तै कटु अनुभवको पोका खोल्दा बनेको एउटा पुस्तकको हो– अफगानी रणमैदान ।

पाँच भागमा बाढिएका संकेतका आत्मपरक उपन्यास ‘अफगानी रणमैदान’भित्र युद्धकामात्र कुरा नभइ युद्धसँग सम्वन्धित सुखद तथा दुःखद पक्षलाई मिहिनरुपमा प्रस्तुत गरिएको छ । सैनिक जीवनमा हुने रमाइला पक्षले स्थान पाएका छन् । र, ज्यानै दाउमा राखेर बन्दुक र वारुदसँग खेलेका कुरुपपक्षभित्र पनि रमाइलो र आफ्ना परिवारको भविश्य सुनिश्चित गर्न लागि परेका जवानहरुको दैनिकी अफगानी रणमैदानमार्फत आएका छन् ।

मानिस कर्मक्षेत्रमा जहाँ गए पनि उसले आफ्नो धर्म, आस्था बोकेर गएको हुन्छ, आफ्नो संस्कृतिलाई साथमै लिएर हिडेको हुन्छ भन्ने यथार्थबोध पनि यस कृतिमा सजिएका सुन्दर पक्षहरु हुन् ।

अफगानीस्तान जानेक्रममा दुवईमा भएको रमाइलो, एउटा साथी गर्लफेण्ड भेट्नकोलागि इजराइल गएको तर अध्यागमनले इन्ट्री नदिएपछि पुनः अफगानिस्तान फर्केको, लेखकले काठमाडौँमा गरेको रमाइलो यात्राले उपन्यासलाई रोमाञ्चक मोडमा पुर्याएको छ ।

रमाइलोकै विचमा खल्ति रित्तेको कुराले वर्तमान समयका मान्छेहरुको चरित्रको ऐना देखाउँछ । लेखकको एउटी फ्यानले उनलाई पच्छ्याको क्षणले कताकता काउकुती लाग्छ । लामो समय आफ्नो परिवारसँग विछोड हुनुपरेका ति क्षणहरुलाई उनीहरुले मनोरञ्जनमार्फत विर्सिएका हुन्छन् । जव उनीहरु समुहमा रमाइलो गर्छन्, त्यसबेला सबै कुराहरु विर्सिन्छन् ।

एक्लाएक्लै भएपछि उनीहरुको वेदना अर्कै हुन्छ । विरानो मुलुक र कहाँ कतिबेला आफू शिकार भइन्छ भन्ने उनीहरुको चिन्ताले पाठक अमुक बन्छन् । आफ्नो परिवारको भविश्य उज्वल बनाउँने क्रममा उनीहरु आफ्नै जीवनको आहुति दिइरहेका छन्, यो युद्धको नराम्रो पक्ष हो । नराम्रोभित्र पनि राम्रोको खोजी गर्दै रहेका आम सिपाहीहरुको एउटा दुखान्त कथा हो– अफगानी रणमैदान ।

विश्वका ठूला–ठूला सुरक्षा चुनौती जटिल मानिने अन्तर्राष्ट्रिय प्रोजेक्टहरुमा सम्बद्ध हुन पाउँनु संकेतको पहिलो अवसर थियो । यस्ता ठूला प्रोजेक्टहरुबाट केही सिक्ने र संसारका मान्छेहरुसँग निकट हुने नयाँ अवसर उनलाई प्राप्त भयो । उनले नयाँ कुराहरु सिक्ने अवसर गुमाउँन चाहेनन् । त्यसको प्रत्यक्षलाभ भने संकेतलाई साहित्यमा मिल्यो ।

त्यस्ता ठूला अन्तर्राष्ट्रिय प्रोजेक्टहरुमा देखिएको विकृतिका पाटाहरु बर्गेल्ती छरिएका हुने रहेछन् । ति पक्षहरुलाई पनि उनले अफगानी रणमैदानमार्फत उजागर गरेका छन् । वेनामी पत्रको आतङ्क, यौनकाण्डले बेलाबखतमा तनाब गराएका प्रसङ्गले त्यहाँको बेथितिको पटाक्षेप गरेको पाइन्छ ।

जागिर खान जानेहरुले मोटो रकम तिरेर आएको कुराहरुले निरिह मान्छेहरुका पीडालाई संसारका कसैले पनि सम्बोधन गर्न नसकेको देखिन्छ । दलाली मनोवृद्धिले संसारलाई नै गाजेको नमिठो प्रसङ्ग र पैसा तिरेर गएका अनुभवहीन व्यक्तिहरुले संस्थालाई दिएको नोक्सान समग्र व्यक्तिहरुले भोग्ने नमिठा प्रसङ्गहरु पनि पुस्तकभित्र रहेका छन् ।

राती उनीहरु सुतिरहेको अवस्थामा तालेवानहरुले आक्रमण गरेको, भीआईपीलाई लिएर उडेको हेलिकप्टरमा आगलागी भएको, काबुलको सपिङमलमा गएको बेला आक्रमणमा परेर झण्डै ज्यान गुमाउँनु परेको लगायत जोखिमयुक्त घटनाबाट बच्न सफल घटनाहरुले पुस्तकलाई जीवन्त बनाएको छ ।

तालेवानीहरुको मुख्य गढ मानिने अफगानीस्तानमा अहिले पनि हत्या श्रृङ्खला जारी छ । किन मान्छेहरु जानेर पनि अन्जान बनेका हुन् । यस्तै आगोको रापिलो भुंग्रोमा रहेर पनि नेपाली साहित्य लेखनलाई निरन्तरता दिएका केदार संकेतको यो पुस्तक युद्धसाहित्यको उम्दा कृतिको रुपमा देखिएको छ । यस कतिमार्फत धेरै कुराहरुको जानकारी लिन सकिन्छ ।

बहादुर सिपाहीका बहादुरीलाई नजिकबाट नियाल्न सकिन्छ । धेरै यथार्थतालाई थोरै कल्पनाको जलपले आत्मकेन्द्रित भएर लेखिएको यस कृतिले बन्दुकको नालबाट शब्दका गोलीहरु निकालेर चट्ट मिलाएर राखिएको अक्षरका खेतीका रुपमा लिन सकिन्छ । साङ्ग्रीला पुस्तक प्रालिद्धारा प्रकाशित ‘अफगानी रणमैदान’ पढेपछि मानिसले बेग्लै अनुभूति गर्छन् ।

प्रतिक्रिया दिनुहोस्