Logo
Logo

दुई कर्मचारीका भरमा दुई जिल्ला


रासस


वीरगञ्ज । दुई कर्मचारीले कति वटासम्म जिल्लाको जिम्मेवारी सम्हाल्न सक्ला ! सम्भवत एउटा तर वीरगञ्जमा स्थापना भएको एउटा सरकारी कार्यालयका दुई जना कर्मचारीले दुई वटा जिल्लाको जिम्मेवारी एक वर्षदेखि सम्हाल्दै आएका छन् ।

लामो समयसम्म कर्मचारी व्यवस्थापन नहुँदा यस्तो समस्या आएको हो । पर्सा र बारामा सेवा पु¥याउने उद्देश्यले वीरगञ्ज महानगरपालिका-५ कुम्हाल टोलमा स्थापना भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दुई जना कर्मचारीको भरमा सञ्चालनमा छन् ।
खाद्य सामग्रीसम्बन्धी दुई जिल्लामा बजार अनुगमन, निरीक्षण, नमूना सङ्कलन, परीक्षण, मुद्दा दायर, जनचेतना अभिवृद्धि एवं परामर्शलगायत सेवा पु¥याउनका लागि सो कार्यालय स्थापना भएको हो ।

कार्यालयमा वरिष्ठ खाद्य अनुसन्धान अधिकृतसहित चार जनाको दरबन्दी भए पनि हाल एक जना खाद्य अनुसन्धान अधिकृत र एक जना कार्यालय सहयोगीबाट मात्र सेवा सञ्चालन भइरहेको कार्यालय प्रमुख बिक्की राउतले जानकारी दिए । कर्मचारीको अभावमा प्रभावकारी रुपमा सेवा प्रवाह हुन सकिएको छैन ।

प्रमुख एवम् खाद्य अनुसन्धान अधिकृत राउत अनुगमन वा विदामा गएपछि कार्यालय सहयोगी उमेश चौधरीले नै निमित्त भएर कार्यालय सञ्चालन गर्दै आएको छ ।

स्रोत साधनको अभावमा कार्यालयले गर्ने अनुगमनको काम समेत प्रभावित भएको छ । कार्यालयमा सवारी साधनको नाउँमा एउटा मोटरसाइकलबाहेक अरु छैन । संयुक्त अनुगमनमा जाँदा चार पाङ्ग्रे सवारी साधन भाडा लिएर अनुगमन गर्नुपर्ने बाध्यता रहेको सो कार्यालयले जनाएको छ ।

बारा पर्सा औद्योगिक करिडोर र ठूलो बजार क्षेत्र भएकाले सवारी साधनको अभावमा काम समेत प्रभावित भएको बताउँदै कार्यालय प्रमुख राउतले भने, ‘कार्यालयमा एउटा मात्र मोटरसाइकल भएकाले संयुतm अनुगमनमा जादाँ भाडाको गाडी लिनु पर्ने बाध्यता रहेको छ ।’
उनले स्रोत साधन र कर्मचारीको अभावमा बजार अनुगमन प्रभावित भइरहेको बताए । सवारी साधनका लागि विभागसँग पटकपटक माग गरेपनि हालसम्म कुनै उपलब्धि हुन नसकेकाले समस्या आएको उनको भनाइ छ ।

सो कार्यालयले बारा पर्साका करिब २ सय खाद्य र दाना उद्योगमा अनुगमन गरी त्यहाँबाट नमूना सङ्कलन गरेर जाँचका लागि जनकपुरस्थित प्रयोगशालामा पठाउने गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्