Logo
Logo

बिहेकै प्रस्ताव आएर हैरान– अञ्जु पन्त, गायिका


- दृष्टि न्युज/संवाददाता


नेपाली सांगीतिक क्षेत्रकी चर्चित र व्यस्त गायिका हुन् अञ्जु पन्त । तर, उनको परिचय यतिमै सिमित छैन किनकि, उनी समाजसेवी पनि बनेकी छन् । ‘मेलडी क्वीन’का रुपमा चर्चित अञ्जु स्वरमा जति धनी छिन्, त्यति नै मनकी पनि खानी । हजारौँ गीतमा माधुर्य स्वर दिइसकेकी अञ्जु पछिल्लो समय ‘अञ्जु पन्त फाउण्डेशन’मार्फत सामाजिक सेवामा सक्रिय छिन् । अञ्जु अहिले पर्साको पर्टेवा र सुगौलीमा असहाय र गरीबका लागि ३५ घर निर्माणमा जुटेकी छिन् । जसमा उनले सहयोग गर्न समेत अपिल गरेकी छन् । उनी भन्छिन्, ‘समाज सेवा मेरो सानैदेखिको इच्छा हो । इच्छा भएपछि व्यस्त भएपनि समय दिन भ्याइँदोरहेछ ।’ २२ वर्ष नेपाली संगीतमै बिताइसकेकी अञ्जुको पछिल्लो समय सौन्दर्यको समेत चर्चा हुन थालेको छ । पतिसँग डिभोर्स गरेपछि सिंगल रहेकी ‘स्वर किन्नरी’ अञ्जु पन्तसँग एमपी सुब्बाको जम्काभेट :

व्यस्त हुनुहुन्छ, आफ्नो कामको शेड्युल कसरी मिलाउनुहुन्छ ?

म आफ्नो कामको शेड्युल आफै मिलाउँदिनँ । रेर्कडिङदेखि लिएर नेपालमा हुने कार्यक्रमका लागि मेरो दिदीले शेड्युअल मिलाइदिनुहुन्छ । विदेश कार्यक्रमका लागि चाहिँ बुबाले मिलाइदिनुहुन्छ ।

अरुले मिलाइदिएको शेड्युलमा काम गर्न भ्याउनुहुन्छ ?

सबै शेड्युलमा काम गर्न गाह्रो हुन्छ । कहिलेकहिँ त यति धेरै व्यस्त भइन्छ कि अन्तवार्तासमेत दिन भ्याउँदिनँ । व्यस्तताकै कारण राम्ररी बसेर भलाकुसारी गर्न भ्याउँदिनँ । मेरो समय अभावले अन्तर्वार्ता दिन नभ्याउँदा कतिपय रिसाउने समेत गरेका छन् । तर, के गर्नु सबैतिर भ्याउनुपर्ने हुन्छ ।

गीतसंगीतमै व्यस्त हुनुहुन्छ । सामाजिक सेवाका लागि समय कसरी मिलाउनुहुन्छ ?

समाज सेवा गर्नु मेरो सानैदेखिको रुचि हो । तर, त्यो सानो हुँदा सम्भव थिएन । अहिले आएर आफूलाई सामाजिक कार्यमा पनि समर्पित गरेकी छु । आफ्नो इच्छाले होला, अलिकति समय निस्किँदा समेत बृद्धबद्धा र असहायहरुलाई भेट्न पुगिहाल्छु ।

दैनिक कति वटासम्म गीत गाउन भ्याउनुहुन्छ ?

दिनमा चारदेखि पाँचवटासम्म गीत रेर्कड गर्दै आएकी छु । दैनिक चार वटा गाउँदा पनि कहिलेकहिँ त गीतहरु छुटेका हुन्छन् । स्टेज कार्यक्रम नहुँदा मेरो दिन स्टुडियोमै बित्छ ।

दैनिक पाँचवटासम्म गीत रेर्कड गर्नलाई त गाह्रो होला नि ?

सुरु सुरुमा त गाह्रै हुन्थ्यो । तर, अहिले त गाइरहने बानी परिसक्यो । त्यसैले समयले भ्याएसम्म रेकर्डिङमा हुन्छ । सबै गीतकार तथा संगीतकारको पनि चित्त बुझाउनुपर्छ ।

दर्शक-श्रोताले ‘स्वर किन्नरी’को उपमा दिएका छन् । तपाइँलाई यो कस्तो लाग्छ ?

खुसी लाग्छ । अझै मलाई मेलडी क्वीन भन्ने गरेका छन् । यो दर्शक तथा श्रोताले दिएको माया हो । म एकदमै खुसी छु । २०५४ सालमै रेडियो नेपालमा आधुनिक गायनमा प्रथम भएकी हुँ । अहिले सोच्दा त्यो समय २२ वर्ष बितिसकेछ ।

अहिले आफ्नो सांगीतिक विगतलाई सम्झिँदा कस्तो लाग्छ ?

त्यो समय, जतिखेर म सांगीतिक क्षेत्रमा संघर्ष गर्दैथिएँ । त्यतिखेर एकदमै गाह्रो थियो । अहिले त्यो सम्झिँदा आनन्द लाग्छ । मिहिनेतको फल खान पाउँदा मिठो र आनन्द लाग्दोरहेछ ।

तपाइँलाई स्वरकी धनीमात्र नभएर रुपकी पनि रानी भन्छन् नि ?

यो दर्शक÷श्रोताले भन्ने कुरा हो । यस्तो भन्दा खुसी नै लाग्छ । अझै हिजोआज त स्वरकी धनी, रुपकी रानी र मनकी खानी पो भन्न थालेका छन् ।

यसरी झ्न–झन् राम्री बन्दै जानुको रहस्य के हो ?

मुख्य कुरा त सकरात्मक सोच हो । म कहिल्यै नकरात्मक कुरा सोच्दिनँ । खानपानमा खासै ख्याल गर्दिनँ । भोक लागेको बेला जे पनि खाइदिन्छु ।

सिंगल हुनुहन्छ । ‘मेलडी क्वीन’ तैमाथि रुपकी रानी, कतिको प्रेम प्रस्ताव आउँछ ?

प्रेम प्रस्तावमात्र भए त हुने नि । विवाहकै लागि प्रस्ताव आएर हैरान । तर, म यसलाई सकरात्मक नै लिन्छु । प्रेम र विवाहका लागि प्रस्ताव राख्नु पनि माया नै हो ।

छोरी परितोषिका ठूली भइसकिन् । उहाँलाई के बनाउने सोच छ ?

खै के बनाउने भनेर सोच्दैछु । मोडलिङका लागि पनि उनलाई प्रस्तावहरु आइरहेको छ । सुरुमा मोडल नै बन्छ होला ।

चलचित्रमै गाउन व्यस्त हुनुहुन्छ । आफ्नो गीत वा एल्वम ल्याउने सोच छैन ?

ल्याउँदैछु । मेरो आफ्नै संगीतमा ‘धेरै माया नदेउ मलाई’ बोलको गीत ल्याउँदैछु । जुन गीतको भिडियोमा म आफै मोडलिङ गर्दैछु ।

प्रतिक्रिया दिनुहोस्