Logo
Logo

रोकिएन विपी स्वास्थ्य प्रतिष्ठानको लुट


- दृष्टि न्युज/संवाददाता

0
Shares

धरान । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि स्वास्थ्यमन्त्री उपेन्द यादवले चैत्र ३ गते डाक्टर गुरु खनाललाई कार्यवाहक उपकुलपति बनाइएको भोलिपल्ट नै १३ करोडको चेक काटेपछि मन्त्री यादवले उनलाई किन भिसी बनाएको रहेछ भन्ने कुरा छर्लङ्ग भएको छ ।

गत वर्ष प्रचण्ड मन्त्रिपरिषद्ले उपकुलपति बनाएका प्राडा राजकुमार रौनियारलाई विनाकारण बर्खास्त गरेर हतारमा निमित्त उपकुलपति बनाएका खनालले कुर्सीमा बसेकै दिन १३ करोडको चेक काटेर विभिन्न ठेकेदारहरुलाई भुक्तानी गरेका छन् । टेण्डर र तलबभत्ताको लागि भनेर निमित्त भिसी खनालले १३ करोडको चेक मन्त्री यादव र सचिव चन्द्र भण्डारी प्रतिष्ठान आएकै दिन वितरण गरेको कुरा लेखाफाँटले बताएको छ । मन्त्री भएको डेढ वर्षसम्म प्रतिष्ठानमा पाइला नटेकेका मन्त्री यादव निमित्त उपकुलपतिको पद बहालीको दिन भने दलबलसहित प्रतिष्ठान पुगेका थिए । त्यस दिन एकातिर मन्त्री र सचिवको स्वागत भइरहेको थियो भने, अर्कोतिर रजिष्ट्रार तुलबहादुर श्रेष्ठले धमाधम विगतमा रोकिएको ठेक्काको भुक्तानी दिइरहेका थिए । यसरी भुक्तानी पाउनेहरुमा रजिष्ट्रार श्रेष्ठका आफनै भाइ गोपाल श्रेष्ठले सवैभन्दा बढी ३ करोड भुक्तानी पाएको बताइन्छ । उनले सरसफाइ, इन्धन आपूर्र्ति, छपाइको ठेक्का वापत सो भुक्तानी पाएका थिए । तर, प्रतिष्ठानले उनीसँग आन्तरिक सरसफाईको टेण्डरमा रित नपु¥याइ हालेकोले रद्ध भए पनि रजिष्ट्रार दाजु भएको कारण जबर्जस्ती काम गरेर प्रतिष्ठानसँग ८० लाख रुपैयाँको माग गरेका थिए । तर उपकुलपति रौनियारले प्रतिष्ठानसँग सम्झौतै नभएको ठेकदारलाई किन भुक्तानी गर्ने भनेर एक वर्षदेखि बिल रोकिराखेका थिए । जुन ठेक्कामा रजिष्ट्रार श्रेष्ठ र गोपाल श्रेष्ठकै अरुण पेट्रोलपम्पमा पूर्व भिसी बलभद्र दासको समेत शेयर रहेकोले उनलाई तुरुन्त भुक्तान गरी दिएका थिए ।

वर्षौ अघिदेखि प्रतिष्ठानको ठेक्का कब्जा जमाएर चरम ठगी गरिरहेका गोपाल श्रेष्ठ, औषधि व्यापारी चेतन अग्रवालजस्ता ठेकेदारहरुको मनपरीतन्त्र डा रौनियार उपकुलपति भएपछि रोकिएपछि उनीहरु करौडौँ खर्च गरेर भए पनि उपकुलपति खेदाउने एकसूत्रीय षड्यन्त्रमा लागेका थिए । उनीहरुले दीपक बोहरा स्वास्थ्यमन्त्री हँुदा पनि उनलाई चुनाव खर्च दिएर रौनियारलाई हटाउने प्रयास गरेका थिए । तर, मन्त्रिमण्डल विघटन भएपछि त्यो षड्यन्त्र विफल भएको थियो । वर्तमान स्वास्थ्यमन्त्री यादव आएपछि उनीहरुले झण्डै ५ करोड खर्च गरेर उल्टै रौनियारलाई भ्रष्टाचारी बनाउँदै बर्खास्त गर्न सफल भएका थिए । तर अदालतको फैसलाले उनीहरुको सबै सपना चकनाचुर भएको छ । यद्यपि, आफ्नो भुक्तानी लिन भने सफल भएका छन् ।

यसैगरी मन्त्री यादवले हतारमा निमित्त उपकुलपतिलाई दिएको पत्रको दर्ता केरमेट गरिएकाले शंकाको घेरामा बाँधिएको छ । रेक्टर खनालले चैत्र ५ गते निमित्तको अख्तियारी पाएको पत्र दर्ता गराएका थिए । तर उनले केरमेट गरेर ४ गते बनाएका छन् । जबकि अदालतको आदेश ४ गते नै भएको साथै उक्त आदेश पनि ५ गते दर्ता हुने अवस्था भएपछि उनले केरमेट गरेर ४ गते बनाइएको कुरा कर्मचारीहरु बताउँछन् ।

प्रतिष्ठानमा अर्को २३ करोडको घोटला

प्रतिष्ठानका पूर्वउपकुलपति बलभद्र दास, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र अस्पतालाका पूर्वनिर्देशक डा अरविन्दकुमार सिन्हाले अक्सिजन र मेडिकल सामग्री खरीदमा पनि झण्डै २३ करोड रुपैयाँ हिनामिना गरेको रहस्य बाहिर आएको छ ।

उनीहरुले प्रतिष्ठानभित्र अक्सिजन उत्पादन गर्ने आफ्नो मेसिन हँुदाहँुदै सो मेसिनलाई मर्मत गर्न छाडेर धरानकै औषधि व्यापारी चेतन अग्रवालको खनारस्थित दुर्गा अक्सिजन कम्पनीबाट दैनिक ६० देखि ७० हजार रुपैयाँसम्मको अक्सिजन खरीद गरेर कमिशन लिने गरेको पुष्टि भएको छ । प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई दैनिक ६ देखि ८ ठूलो सिलिण्डरसम्म अक्सिजनको आवश्यकता पर्दछ । प्रतिष्ठानको प्लान्ट बिग्रिएपछि तत्कालीन उपकुलपति दास र रजिष्ट्रार श्रेष्ठ र निर्देशक सिन्हाले अक्सिजन प्लान्ट नयाँ किन्ने प्रक्रिया अघि बढाएका थिए । सार्वजनिक खरीद नियमावलीअनुसार कुनै वस्तुको खरीद गर्नुपूर्व त्यसको सम्भाव्यता अध्ययनका साथै उपयोग र खर्च गर्ने स्रोतको पहिचान गरी सार्वजनिक सूचना जारी गर्नुपर्छ । तर प्रतिष्ठानमा कुनै पनि प्रक्रिया पूरा नगरी भिसी दास र रजिष्ट्रार श्रेष्ठले आफू निकटको कम्पनीबाट प्लान्ट किने । तर प्लान्ट जोडेर उत्पादन गर्नु छाडेर झण्डै एक वर्षसम्म चेतन अग्रवालसँग नै खरीद गरी राखेर प्रतिष्ठानलाई झण्डै ४० लाख रुपैयाँ नोक्सान पु¥याएका थिए । यो व्यापारबाट दास र श्रेष्ठलाई व्यापारीले ३० प्रतिशतको दरले झण्डै १३ लाख रुपैयाँ कमिशनवापत फाइदा गराएको कर्मचारीहरु बताउँछन् । सो अक्सिजन प्लान्टको विषयमा हेर्ने इन्जिनियर राहुल मिश्रसमेतको संलग्नता देखिएपछि वर्तमान अस्पताल निर्देशक डा गौरीशंकर शाहले उनलाई हटाएर अहिले आफ्नै अक्सिजन प्लान्टबाट उत्पादन शुरु गरिएको छ ।

को हुन् चेतन

पूर्वभिसी दास र रजिष्ट्रार श्रेष्ठले एकै पटक २३ करोड निकालेर अक्सिजन प्लान्ट, अप्रेसन थिएटरको मनिटर खरीद, भेन्टिलेटर, डेण्टल चेयर खरीदवापत एउटै व्यापारी चेतन अग्रवाललाई भुक्तानी गरेका थिए । सामानको भुक्तानी पाइसके पनि प्लान्टको मेशिन जडान गरेको थिएन, बरु खुला चौरमा नै लडाएर राखिएको थियो । धरानमा बिर्जु कवाडीको नामले परिचित स्व बिर्जु अग्रवालका छोराद्वय चेतन अग्रवाल र पवन अग्रवालले विगत २० वर्षदेखि प्रतिष्ठानको ८० प्रतिशत मेशिनरी सामान तथा औषधि र अस्पतालका सामानहरुको ठेक्का एकलौटि हात पार्दै आएको छ । प्रतिष्ठानको चालु पूँजीको ३० प्रतिशत रकम अग्रवाल वन्धुहरुकै पोल्टामा जाने भएकोले उनीहरुलाई प्रतिष्ठानभित्र डन व्यापारी पनि भन्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्