Logo
Logo

बाढी पीडितका लागि २ करोड ८६ लाख, प्रति परिवार ५० हजार राहत


दृष्टि संवाददाता


काठमाडौं । गृहमन्त्री विष्णुप्रसाद पौडेलले बाढी पहिराबाट क्षति भएका ५ सय ७२ परिवारका लागि ५० हजारका दरले राहत दिने बताएका छन् ।

राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री पौडेलले यो वर्ष मनसुनको प्रभावबाट असार १६ गतेसम्म घरमा क्षति पुगेका परिवारलाई अस्थायी बसोबासका लागि जिल्ला प्रशासन कार्यालयमार्फत राहत रकम दिइने बताए । ‘यो वर्ष असार १६ गतेसम्म पूर्ण तथा आंशिक घर क्षति भएका ५ सय ७२ परिवारका लागि अस्थायी बसोबास गर्न प्रतिपरिवार ५० हजारका दरले २ करोड ८६ लाख रुपैयाँ उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ’ आइतबार राष्ट्रिय सभाको बैठकमा उनले जानकारी दिए ।

यो वर्ष मनसुनबाट सिर्जना भएको प्राकृतिक विपत्तिबाट ५ सय ६५ घरमा पूर्ण क्षति भएको, १ सय १२ घरमा सामान्य क्षति पुगेको जानकारी गराए । उनले क्षतिग्रस्त घरको पुनर्निर्माणमा सरकारले सहयोग गर्ने उनको भनाइ छ ।

हालसम्म सिन्धुपाल्चोक मनाङ, लमजुङ गोरखा, कास्की, अर्घाखाँची, खोटाङ तनहुँ, सर्लाही लगायतका जिल्लाहरुमा ५ सय ६५ घर पूर्ण रुपमा क्षति भएको छ भने १ सय १२ घरमा आंशिक क्षति भएको छ ।

यस्तै, सिन्धुपाल्चोक जिल्लाका ७, मनाङका २, चितवनका २ तनहुमा १ उदयपुर मोरङ र सिरहामा गरी १५ वटा पक्की पुलमा क्षति पुगेको छ । यस्तै विभिन्न जिल्लामा गरेर २३ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । ति पुलहरूको निर्माण तथा सडक खुलाउनका लागि सम्वन्धित निकायलाई निर्देशन दिएको उनले बताए ।

यस्तै, सिन्धुपाल्चोकको कोदारी राजमार्ग, मनाङ चामे बेंसीशहर सडक, बाजराको मार्तडी कोल्टी सडक र कुलेखानी हेटौंडा सडकमा भएको अवरोध हटाउने काम जारी रहेको मन्त्री पौडेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्