Logo
Logo

सत्र बुँदे घोषणापत्र जारी गर्दै त्रिदिवसीय वाङ्मय गोष्ठी सम्पन्न


- दृष्टि न्युज/संवाददाता


दमक, १९ चैत्र । आइतबारदेखि दमकमा जारी एक नं. प्रदेशस्तरीय बृहत् वाङ्मय संगोष्ठी साहित्य, कला तथा संस्कृतिसम्बन्धी सत्र बुँदे घोषणापत्र सार्वजनिक गर्दै मंगलबार सकिएको छ ।
भाषा, साहित्य, कला र संस्कृतिको विकास, सम्बद्र्धन प्र्रवद्र्धन गर्ने उद्देश्यले नेपाल प्रज्ञा–प्रतिष्ठान, दमक नगरपालिका तथा दमक प्रज्ञा–प्रतिष्ठानद्वारा संयुक्त रुपमा आयोजित संगोष्ठीको प्रदेश नं. एकका प्रमुख डा. गोविन्द तुम्याहाङले समापन गरे । समापनमा बोल्दै तुम्याहाङले वाङ्मय संगोष्ठीले प्रदेशको आत्मा झल्काएको दाबी गर्दै, ‘स्रष्टाहरूका सिर्जनाले पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने’ बताए ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले स्थानीय तथा प्रदेशस्तरमा साहित्यिक एवं सांस्कृतिक जागरण र प्रवद्र्धनको उदेश्यबाट आयोजित वाङ्मय संगोष्ठी सार्थक ढंगले सम्पन्न भएको बताए । उनले सातै प्रदेशको गौरवपूर्ण सम्पदा र संस्कृतिको अभिलेखीकरणमा प्रज्ञा–प्रतिष्ठान लागेको उल्लेख गरे ।
कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले संगोष्ठीले ऊर्जा सञ्चार गरेको बताए । उनले दमक नगरपालिका स्थानीय जाति र समुदायका भाषा, साहित्य, कला तथा संस्कृतिको विकास, संरक्षण र सम्बद्र्धनमा संवेदनशील रहेको सुनाए ।
गोष्ठीको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । सो अवसरमा उनले भाषा, साहित्य, कला तथा संस्कृति देशको सम्पदा भएको उल्लेख गर्दै यसको विकासका लागि सरकार आवश्यकता अनुसार सहयोग गर्न तयार रहेको बताए ।
त्यस्तै, एक नंं प्रदेशका मुख्यमन्त्री शेरधान राईले प्रदेश सरकारले प्रदेशको सांस्कृतिक नीति तयार पार्नका लागि कार्यदल गठन सुझाव संकलनको काम सकिएको बताए ।
कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले सात वटै प्रदेशका भाषा, साहित्य, कला र संस्कृतिलाई समेटेर नेपाल चिनाउने महाग्रन्थ प्रकाशन गर्ने प्रज्ञा–प्रतिष्ठानको योजना रहेको बताए ।
यसैगरी प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख डा. हेमनाथ पौडेलले समकालीन नेपाली कविताबारेमा, सामाजिकशास्त्र विभागका प्रमुख प्रा. दिनेशराज पन्तले सामाजिक विषयमा र बालसाहित्य तथा लोकर्वार्ता विभागका प्रमुख डा. देवी नेपालले बालसाहित्य, लोकसाहित्य र समकालीन नेपाली गजलबारे चर्चा गरेका थिए ।
संगोष्ठीमा ‘किरात मुन्धुम’ सम्बन्धी प्राज्ञ हरिश्चन्द्र लावतीले, ‘कोसी प्रस्रवणक्षेत्रको हिमाली जनजीवन’बारे राजेश्वर थापाले, ‘कोसी प्रस्रवणक्षेत्रका धार्मिक एवं पर्यटकीय स्थलहरू’बारे प्रा.डा. सोमप्रसाद खतिवडाले, ‘नेपाल उपत्यका र राजवंशी समुदायको सांस्कृतिक अन्तरसम्बन्ध’बारे डा. डिल्ली प्रसाइँले, ‘सन्थाल लोकसाहित्यको वर्तमान स्वरूप’बारे उत्तम भट्टराईले र ‘धिमाल लोकसाहित्यको अवस्था’बारे डा. सोमबहादुर धिमालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्