Logo
Logo
कांग्रेस महाधिवेशनको सरगर्मी

सुदूरपश्चिमा देउवा र पौडेल पक्षबीच रस्साकस्सी


दृष्टि संवाददाता


कैलाली । नेपाली कांग्रेसको महाधिवेशन मिति नजिकिँदै गर्दा नेता कार्यकर्तालाई चटार भएको छ । देशैभर कांग्रेस नेताहरु आफ्नो पक्षमा लबिङ गर्न थालेका छन् । कांग्रेसमा स्पष्ट दुई धार देखिएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष अहिले महाधिवेशनका लागि आफू निकटका नेता तथा कार्यकर्ताबीच तिव्र लबिङ सुरु भएको हो ।

सबैभन्दा धेरै महाधिवेशनको सरगर्मी सुदूरपश्चिम विशेषगरी सभापति शेरबहादुर देउवाको गृहजिल्लामा बढेको छ । सुदूरपश्चिमको ९ जिल्लामा ३० जनाभन्दा बढीले सभापतिमा दाबी प्रस्तुत गरेका छन् । अघिल्लो महाधिवेशनमा ९ जिल्लामध्ये ६ जिल्लाका सभापतिमा देउवा निकट नेता निर्वाचित भएका थिए भने दार्चुला, बैतडी र देउवाकै गृहजिल्ला डडेल्धुरामा भने देउवानिकट नेता पराजित भएका थिए ।

अहिले गृहप्रदेशमा उपस्थिति अझै बलियो बनाउन देउवाले चुनाव जित्ने नेतालाई टिकट दिने गरी तयारी गरिएको छ । यस्तै, यहाँ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूको दावी बलियो छ ।

सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमा आधा दर्जन बढी नेता सभापतिकोको बन्ने दौडमा छन् । वर्तमान जिल्ला सभापति नरनारायण शाहले दुई कार्यकाल पार्टी सभापति पदको जिम्मेवारी पूरा गरिसकेका छन् । त्यसैले यसपाली कैलालीले नयाँ सभापतिका लागि प्रकाश बम, नारायणदत्त भट्ट, भीम बडुवाल, खेमराज चौधरी, कमल शाह, डा.रणबहादुर रावल, दिनेशराज जोशी, गणेश देउवालगायतको नाम चर्चामा छ ।

देउवा समूहमा बम, भट्ट, रावल, चौधरी, बडुवाल र शाहको दाबी छ भने पौडेल प्यानलबाट जोशी र देउवाको दाबी बलियो छ । सभापति देउवा गृहजिल्ला डडेल्धुरामा सबैभन्दा बलिया नेतालाई सभापतिमा उठाउने योजनामा छन् । देउवालाई अहिले पनि वर्तमान जिल्ला सभापति कर्णबहादुर मल्लले काउन्टर दिने योजनामा छन् । साउदसँग मल्लले वर्तमान उपसभापति करुणकर भट्टलाई प्रतिस्पर्धामा उभ्याउने रणनीति बनाएको देखिन्छ ।

कञ्चनपुरमा वर्तमान सभापति हरि बोहराले दोस्रो कार्यकाल जिल्ला सभापतिको आकांक्षा राखेका छन् भने पदम बोगटीले पनि सभापतिको उम्मेदवार दिने बताइसकेका छन् । एनपी साउद निकट बोगटी र थापा सभापतिको दौडमा छन् ।

यस्तै, डोटीमा वर्तमान सभापति प्रदीप देउवा पुनः सभापतिको आकांक्षी देखिएका छन् । उनीबाहेक सीताराम जोशी, रामप्रसाद उपाध्यक्ष, दीपक विष्ट र भूमिराज बडू पनि सभापतिको लाइनमा छन् । उनीहरु सभापति देउवा समूहका सभापतिका आकांक्षी हुन् ।

अछाममा वर्तमान सभापति भरतकुमार स्वाँर पुन सभापति हुने दाउमा छन् भने सभापतिकै दौडमा पुष्पबहादुर शाह, मेघराज खड्का र गणेशबहादुर विष्ट देखिएका छन् ।

यस्तै, बाजुरामा मनबहादुर रावल र कविराज पण्डित सभापतिको दौडमा छन् । रावल पूर्व र पण्डित वर्तमान सभापति हुन् । रावल पौडेल र पण्डित देउवा पक्षका हुन् । रामसिंह रावल र प्रेमबहादुर शाही पनि लबिङमा छन् । बैतडीमा वर्तमान सभापति नरेन्द्रसिंह थापा पुन सभापति बन्ने दौडमा छन् ।

उता दार्चुलामा आधा दर्जन नेताहरू सभापतिका आकांक्षी देखिएका छन् । पौडेल पक्षको लागि प्रदेशमा सबै भन्दा बलियो जिल्ला दार्चुला हो । त्यस्तै ललितसिंह बोहरा, विक्रम धामी, जगदीश पाल, अमर धामी, हर्क विष्ट लगायतका नेताहरूलाई जिल्ला सभापतिका दाबेदारका रुपमा हेरिएको छ ।

पौडेल पक्षबाट बोहरा, धामी र बिस्टबीच सभापतिका लागि रस्साकस्सी छ । यस्तै, देउवा टीमबाट विक्रम धामी र पाललगायतलाई सभापतिको उम्मेदवारका रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्