Logo
Logo

पहिराले पुरिएर एक महिलाको मृत्यु, अर्को बेपत्ता


दृष्टि संवाददाता


दमौली । तनहुँको ऋषिङ गाउँपालिका–७ डढीवनमा पहिराले पुरिएर एक महिलाको मृत्यु भएको छ । बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिराले पुरिएर बिहीबार बिहान ती महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अन्दाजी ५२ वर्षीया देवीसरा थापा रहेको वडा सदस्य याम सारु मगरले जानकारी दिए । घरबाट भाग्ने क्रममा माथिबाट खसेको पहिराले पुरिएर उनको मृत्यु भएको हो । मृतकका श्रीमान् भने भागेर ज्यान बचाउन सफल भएका छन् ।

‘घरबाट भाग्न खोज्दा चप्पल हिलोमा गड्यो, चप्पल टिप्न खोज्दा पहिराले पु¥यो’ उनले भने, ‘मृतकको शव निकाल्न सकिएको छैन ।’ पहिराले पुरिएर आज नै ऋषिङ गाउँपालिका–८ स्थित माझकोटका करीब ४० वर्षीय खुमबहादुर थापा बेपत्ता भएका छन् । उनको खोजी कार्य जारी छ । पहिराले डढीवनमा तीन घर क्षतिग्रस्त भएको र थुप्रै घर जोखिममा परेको नेपाल रेडक्रस सोसाइटी कोटदरवार उपशाखाका सभापति ईन्द्र आलेले जानकारी दिए । उनका अनुसार ऋषिङ–५ राम्जाकोटमा एक घर क्षतिग्रस्त र दुई घर जोखिममा परेको भने ऋषिङ–६ मा दुई घर र केही गोठ जोखिममा छन् ।

त्यस्तै ऋषिङ–४ का वडा सदस्य टोलनाथ थापाको घर र पद्मयोति विद्यालय भवन जोखिममा परेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले वर्षासँगै आएको पहिराले गाउँपालिकाभित्रका थुप्रै ठाउँमा पहिरा गएका छन् भने बाटो अवरुद्ध भएका छन् ।
यस्तै, तनहुँको म्याग्दे गाउँपालिका–४ मा खोलाले बगाएर आज एक जना बेपत्ता भएका छन् । सोही ठाउँका अन्दाजी ४० वर्षीय मैत नेपालीको खोलाले बगाएर बेपत्ता भएका छन् ।

म्याग्दे खोला तर्ने क्रममा नेपालीलाई बगाएको स्थानीयवासी नुत्त भुजेलले जानकारी दिए । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बढेको खोलाले बगाएका नेपालीको खोजीकार्य जारी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्