Logo
Logo
एमाले विवाद

दुवै पक्षले अडान नछाड्दा वार्ता निरर्थक


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेमा पार्टीभित्रको अन्तरिक विवाद समाधान गर्न केही दिनयता कार्यदल जुटिरहेको छ । तर, विवाद समाधान गर्ने प्रयास निरर्थक हुँदै आएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष र बरिष्ठ नेता माधव नेपाल पक्षबीच विवाद उत्कर्षमा पुगेपछि कार्यदल ब्यूँताएर बैठक बस्न सुरु गरिएपनि नेताहरुबीच सहमति जुट्न सकेको छैन ।

बिहीबारको बैठकपछि माधव पक्षका नेता तथा कार्यदल सदस्य घनश्याम भूसालले वार्तामा कुनै प्रगति नभएको बताए । यस्तै, ओली पक्षबाट कार्यदल सदस्य सुवास नेम्वाङले पनि सहमतिको प्रयास भइरहेको तर, सहमति हुन नसकेको प्रक्रिया दिए ।

लगातार बैठक र छलफलपछि पनि निष्कर्षमा पुग्न नसक्नुको कारण भने आ–आफ्नै अडान हो । अध्यक्ष ओलीले पनि आफ्नो अडान कायम राख्दै आएका छन् भने माधव पक्ष पनि अडानमा ज्यूँकात्यूँ छ ।

विवाद समाधानका लागि सहमति हुन नसक्नुको अर्को कारण हो, अध्यक्ष ओली । अध्यक्ष ओलीले ३ जेठ २०७५ को अडान लिएका छन् । त्यो भनेको पूर्वमाओवादी तर्फका नेताहरुसहितको एमाले हो । तर, ओलीको पक्षको उक्त अडानलाई माधव पक्ष मान्न तयार छैनन् । माधव पक्षले भने २३ फागुन यताको सबै निर्णय खारेजको प्रस्ताव गरेको छ ।

अध्यक्ष ओलीले २८ फागुन यता माधव पक्षका नेताहरुलाई भूमिकाविहीन बनाउनेगरी संगठन निर्माण र दशौं महाधिवेशनसम्मका निम्ति महत्वपूर्ण निर्णय गरेका छन् । तर, ती सबै निर्णय खारेज हुनुपर्ने माधव पक्षले अडान लिएको छ ।

यस्तै, केन्द्रीय कमिटीमा सन्तुलन गर्नुपर्ने माधव पक्षको माग छ । नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्दा थपिएका ३८ केन्द्रीय सदस्य एक्लौटी गरिएको छ भने बादल समूहबाट २३ जना केन्द्रीय सदस्य थपिएका छन् । ती सबैलाई स्वीकार्दा केन्द्रीय सदस्यमा सन्तुलन मिलाउनुपर्ने नेपाल पक्षको माग छ ।

यस्तै, सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा संलग्न हस्ताक्षर फिर्ता नलिने माधव पक्षले अडान लिएको छ । तर, ओलीले जसरी पनि हस्ताक्षर फिर्ता गर्नुपर्ने बताइरहेका छन् ।

विवाद समाधानका लागि आज पनि बैठक बस्दैछ । तर, दुवै पक्ष आफ्नो अडानबाट पछि हट्न मानेका छैनन् । त्यसैले कार्यदलका सदस्यहरुले ‘सहमति नजिक पुग्यौँ’ भने पनि निष्कर्ष निस्किन सकेको छ्रन । आजको बैठक पनि विना निष्कर्ष नै टुंगिने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्