Logo
Logo

सरोकार नै नभएका व्यक्तिले दल खारेजीको दुष्प्रचार गर्नु आपत्तिजनक : माओवादी


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीसँग सरोकार नै नराख्ने व्यक्तिले दल दर्ता खारेजीको दुष्प्रचार गरेको भन्दै आपत्ति जनाएको छ । शुक्रबार केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै नेकपा माओवादी केन्द्र दल दर्ता खारेजीका लागि सरोज बुढाथोकीले निर्वाचन आयोगमा निवेदन दर्ता गराएको सार्वजनिक भएकोमा पार्टीको ध्यानाकर्षण भएको जनाइएको हो ।

माअ‍ेवादी केन्द्रीयका कार्यलय सचिव श्रीराम ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदक रहेको र दल दर्ता दल खारेजी सम्बन्धी सामान्य कानुनी प्रक्रिया समेत जानकारी नभएको व्यक्तिले यस्तो हर्कत गर्नु हास्यास्पद देखिन्छ ।’

केही अवसरवादी, स्वार्थी लालची र अनैतिक तत्वले दुष्प्रचार गरी पार्टीलाई वदनाम गराउन सकिन्छ भन्ने दुष्प्रचार गरेको भन्दै माओवादी केन्द्रले त्यसप्रति आपत्ति जनाएको हो । पार्टीले संविधान, कानुन र विधिविधान विपरित दुष्प्रचार गरेकोमा पाटीका नेता कार्यकर्ता र शुभचिन्तकहरुलाई भ्रममा नपर्न समे आग्रह गरेको छ ।

अनाधिकृत तथा आयोगसँग सरोकार नै नराख्ने निवेदन स्वीकृत गर्दा अनावश्यक भ्रम सिर्जना हुने भएकाले आइन्दा त्यसो नगर्न माओवादीले आयोगलाई आग्रह समेत गरेको छ । पूर्वमाओवादी नेता प्रभु साहलगायतले माओवादी केन्द्र अवैधानिक भन्दै खारेजीका लागि निर्वाचन आयोगमा निवेदन दिन लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्