नेपाल र जापान घुलमिल गराउने ‘ग्याब्रियले’ « Drishti News – Nepalese News Portal
Logo
साहित्य

नेपाल र जापान घुलमिल गराउने ‘ग्याब्रियले’


प्रदीप सापकोटा



गद्यमा लेखिएको आख्यानयुक्त प्रबन्धको एउटा छोटो रुपलाई कथा मानिन्छ । एक सानो समयको बसाईमा पढिसकिने गद्यभाषाको लोकप्रिय विधा कथामा कथाकारले आफ्नो वरिपरिको परिवेश, भोगाई, दृश्य आदिको कथ्यलाई कथाको रुप दिएका हुन्छन् । संसारकै साहित्यको एक प्रचलित विधा कथा नेपाली साहित्यमा पनि सशक्त विधा मानिन्छ ।

कथाकार हरिश कल्पितले देखे भोगेको दुनियाँ जस्तो छ उस्तै छन् उनका कथाहरु । यत्रतत्र सर्वत्र वगेका घट्नाक्रमहरुको सजिव प्रस्तुती लाग्छन्, उनका कथाहरु । कथा भित्रका पात्रहरु सत्चरित्र र वैगुनी चरित्र दुवै बोक्नेहरु छन् । पात्रहरुले कथालाई जीवन्त बनाएका छन् ।

कथाहरुमा प्रयुक्त भएका पात्रहरु सजिव लाग्छन् । भाषागत शुद्धता, आकर्षक शब्दावली, विम्बहरुको उपयुत्त प्रयोग, कथाको कलात्मक वर्णन, सरल, स्पष्ट र मिठासपूर्ण भाषाको प्रयोग कथासंग्रहको उत्कृष्ट पक्ष मान्न सकिन्छ । शीर्षक चयनको पक्ष हेर्दा छोटा र मिठा लाग्छन् ।

कथाहरुले हाम्रो विश्व समाजको मज्जाले शल्यक्रिया गरेको देखिन्छ । कुनै–कुनै कथाले पाठकलाई भावुक बनाँउछ । कुनै कथा सुखान्त लाग्छन् भने कुनै कथाहरु हृदय विदारक र दुःखान्त । सुन्दर तरिकाले विषयबस्तुलाई प्रस्तुत गर्न सक्नु कथाकारको विशेषता हो । र प्रायः कथाहरु मौलिकताले भरिपूर्ण छन् ।

विषयका आधारमा हेर्दा सामाजिक र प्रेमपरक कथाहरु यस संग्रहमा परेका छन् । तत्वगुरुको आधारमा भन्दा घट्नाप्रधान, चरित्रप्रधान देखिन्छन् कथाहरु । कथाकार हरिशको ‘ग्याब्रियले’ कथासंग्रहमा यथार्थवादी, आदर्शवादी र प्रयोगवादी प्रवृति प्रयुक्त गरिएको पाइन्छ । प्रभावका आधारमा हेर्ने हो भने उनका कथाहरु दुखात्मक, सुखात्मक र रोमाञ्चक आदि देखिन्छ ।

उनका कथा तत्वहरु जस्तै कथावस्तु, कथानकपात्र चरित्र, कथाको परिवेश, पात्रहरुको संवाद, भाषाशैली आदि हेर्दा कथा घट्ना र चरित्रको सुसज्जित रुपले विन्यास गरिएको पाइन्छ । कथाका पाठकहरुलाई अब के होला भन्ने कौतुहलता र रोचकता प्रदान गरिएको पाइन्छ ।

कथावस्तुहरु यथार्थपरक ढंगले बुनिएको छ । कथाका पात्र र परिवेश प्रायः जापान र यहाँको जीवनशैली, व्यस्त दैनिकी आदिको प्रष्ट चित्रण गरिएको छ । कथाकारले आफुलाई सामाजिक यथार्थवादी कथाकारको धरातलमा उभ्याएका छन् ।

कथाहरुले हाम्रो विश्व समाजको मज्जाले शल्यक्रिया गरेको देखिन्छ । कुनै–कुनै कथाले पाठकलाई भावुक बनाँउछ । कुनै कथा सुखान्त लाग्छन् भने कुनै कथाहरु हृदय विदारक र दुःखान्त । सुन्दर तरिकाले विषयबस्तुलाई प्रस्तुत गर्न सक्नु कथाकारको विशेषता हो । र प्रायः कथाहरु मौलिकताले भरिपूर्ण छन् ।

रोचक रुपमा पस्किएका कथाहरु प्रेम, आपसी मनमुटाव र द्धन्द, अवचेतन मनभित्रका दमित इच्छा र आकांक्षा जस्ता कुराहरु भेटिन्छन् । जटिल रुपमा कुनै कथामा कही पनि वाक्य विन्यास गरिएको छैन । समाज र परिवारमा हुने वा भएका घट्नालाई विषयवस्तु बनाएर प्रस्तुत गर्न कथाकार सफल देखिन्छन् ।

– पहिलो कथा ‘मोहभंग’ परिवारमा सासु–बुहारी बीचको आत्मिय सम्बन्धको बारेमा छ । जहाँ बुहार्तनको लैस गन्ध छैन् र पनि झल्कन्छ विस्तारै । बुहारीको कर्तब्य वोध, महिला पात्र लक्ष्मीको बाँझोपनमा मातृत्वको महसुस, गोविन्द पुरुषपात्रको कर्तव्यविमुखता र सुभद्राको अहंमता छचल्किएको छ । विहे कथामा परिवार जोड्न उच्च खानदान, उच्च ओहोदा, सम्पत्तिको आधारमा हैन चरित्रवानसँग नाता सम्बन्ध जोड्न पर्छ भन्ने कुरामा जोड दिएर सन्देश प्रवाह गरेको पाइन्छ ।

यस संग्रहको तेस्रो कथा ‘पुष्पलता’मा प्र्रेमी अनुरागसँग जीवन विताउने चाह, एउटा प्रेमीले सबैभन्दा बढी आफ्नी प्रेमिकालाई माया गर्ने भए पनि क्यान्सर जस्तो भयानक रोग लागेकोले विवाहित भनेर उसको जिन्दगी बरबाद गर्न नचाहेको प्रेमीको कथा हो यो ।

‘प्राप्ती मात्र प्रेम होइन, त्याग पनि प्रेम हो’ भन्ने सन्देश यस कथाले प्रवाह गरेको छ । ‘मोहजाल’ कथामा अतुल र उस्माको प्रेम प्रसंग छ । चखेवा चखेवीको जस्तो जोडी । पछि अमेरिका मोह, उतै विवाह गरेको खवरबाट उस्माको हर्ट एट्याकमा मृत्यू भएको प्रसंग छ । बुबाको रहर थियो उनीहरुको विवाह गरिदिने तर सम्भव भएन । पछि कार दुर्घटनामा अमेरिकामा बुढी वितेपछि दिक्दार भएर छोरा बोकेर अतुल फर्कन्छ स्वदेश त्यो पनि आमाको श्राद्धको दिन ।

– उहाँ आउनु भो ममी मृगका झैं चञ्चल आँखा, सुलुत्त परेको नाक, सुन्तलाका केस्रा झैं रसिला ओठ लाम्चो अनुहार, सुराहिदार गर्दन, छिनेको कम्मर, हरियो साडीमा सजिएकी तिनी स्वर्गकी परि झैं आफ्नो रुप लावण्यमा आफैं मोहित हुन पुग्छिन् । यसरी एउटा व्यक्तिको सुन्दरताको विभिन्न विशेषणहरुको प्रयोग गरिएको छ यो कथामा । यस कथामा माओवादी आन्दोलनको प्रसंग जोडिएको छ । कथाकी नायिका गृष्मा आफ्नो प्रेमी एम्बुसमा मारिएको खवरले विस्मरणमा पुगको अवस्था देखाएको छ । यो वियोगान्त कथा हो ।

– ‘ग्राबियले’ यो कथा संग्रहको शिर्षक कथा हो । लिथुनियन थोमस र जापानीज केटी मिकाको कथा हो यो । उनीहरुको छोरी ग्राब्रियले जसको अर्थ ‘ईश्वर नै मेरो शक्ति’ भन्ने हो । जापानी समाजको स्पष्ट चित्रकथा हो यो । जापानमा पैसालाई अधिकतम महत्व दिने कुरा देखिन्छ कथामा । एक छोरीको यादमा विह्ल बाउ थोमसको कथा हो यो । कथाकारले सम्बन्धलाई जापानमा जाने भुइंचालोसँग तुलना गरेका छन् । कथामा कथाकारले सम्बन्ध चिसिनाले थोमसको जिन्दगी नराम्ररी हल्लाएको देखाएका छन् ।

यसैैगरी अर्काे कथा ‘मेरी प्यारी छोरी’मा आमाको मन न हो जति वरालियोस अन्ततोेगोत्वा आफ्नै सन्ततीमा आएर पोखिन्छ भन्ने कुराको सुस्पष्ट पारेका छन् । यो अर्काे यथार्थपरक कथा हो । ‘वधाई छ देवयानी’मा कथाकारले प्राप्ती मात्र प्रेम होइन गुमाउनु पनि प्रेम हो भनेर सन्देश प्रवाह गर्न खोजका छन् ।

– कृष्ण सर, कथामा शिक्षकको रुपमा शहरमा प्रवेश गरेको कृष्ण मुख्य पात्र हो । आफ्नी बैनीलाई ट्यूसन पढाउन आउने कृष्णसरसँग सुशीलाको विवाह हुन्छ । यो वियोगान्त कथा हो यसका मुख्य पात्र कृष्णलाई क्यान्सर जस्तो जटिल रोग लागेको हुन्छ । मुख्य पात्र अनिमा र उनको परिवार सम्बन्धको कथा हो, अनिमा । आफ्नो सखी अरुणाको विहामा सुशान्तसँग देखभेट पछि अरुणा र स्वयं आमाको जिद्दिले विवाह हुन्छ ।

उता विवेक अरवपति बाबुको एक्लो छोरो तर अनिमा निर्धन एक विधवा आमाकी छोरी । कालिगण्डकीमा भएको विमान दुर्घटनामा विवेकको निधन हुन्छ । ‘पोइ टोकुवाई’को आरोपमा अनिमा घरबाट निकालिन्छिन् । बच्चा सुभाष सहित उनी माइतमा हुँदा सुशान्तले जस्तो कठिन परिस्थितिसँग जुध्न परेपनि स्वीकार्ने कुरा गर्छ तर उनी आफ्नो छोराको मायाले त्यो प्रस्ताव स्वीकार गर्न सक्दिनन् ।

‘केईको सेनसेई’ कथा जापान र जापानी परिवेश चित्रण गरिएको कथा हो । जसमा जापानीज भाषा पढाउने शिक्षिका केईको कोकुरियो, ट्रेनमा भेटिएकी नेपाली केटी गौरी, माकी, रेइको हिराचुका र म पात्रहरुको वरिपरि घुमेको कथा हो । माकीको नेपाल प्रतिको मोह पनि छ यहाँ । जहाँ गएपनि राष्ट्र र राष्ट्रियता, संगीत आफ्नै स्मरण गर्छ मान्छेले भन्ने कुरा यो कथामा देखाउन खोजिएको छ ।

जापान र जापानी परिवेश र पारिवारिक माहोल, वुद्ध धर्म प्रति जापानीजहरुको मोह र आस्था आदि कुराहरु पनि यो कथामा प्रष्ट्याइएको छ । विवरणात्मक देखिने यो कथा संस्मरण जस्तो लाग्छ ।

– ‘भ्रमजाल’ कथामा अमोल र अनुको असफल प्रेम छ । तर बुबा आमाको करजोरले विवाह हुन लागेकोमा कष्टसँग भागेर अमेल भेट्न पुगेकी अनुलाई तत्काल अपनाउन अस्वीकार गरेकोले अमितसँग विवाह बन्धनमा बाँधिएकी अनुको प्रेमी अमोल पटक–पटक सपनामा आइरहन्छ । अमेरिकामा बसेकी अनुले सपनामा अमेरिकाबाट छिट्टो आउ भनि अमोलले भनेकोमा उनी चिच्याँउछिन् । उनका पतिले भने नेपाल जान हतारिएर रोएको महसुस गर्छ । टिकट कन्फ्रम भैसकेको बताँउछ ।

लोग्नेको यो सरलपनामा पानी–पानी हुन्छिन्, उनी । उनलाई पतिको साह्रै माया लाग्छ । यो कथाको सुखान्त समापन गरेका छन्, कथाकारले । यो कथा संग्रहको अन्तिम कथा हो, एडमको प्रेम । एउटा गे हो एडम । कथाको परिवेश जापान वरिपरि केन्द्रित रमाइला प्रसंगहरु जोडिएको छ, कथामा । जापानीजहरुमा अमेरिका मोह हुन्छ भन्ने कुरा जानकारी दिएको छ, कथाले । म पात्रले एडमसँगको सम्बन्धको कुरा जोडेका छन् ।

– यसरी ‘ग्याब्रियले’का कथाहरु सकिएका छन् । १३ वटा विभिन्न शीर्षकका कथाहरु यस संग्रहमा समावेश छन् । प्रायः कथाहरु प्रेमलाई विषयवस्तु बनाईको छ भने वियोगान्त कथा बढी परेका छन् यहाँ । यसका अलावा घर परिवार, समाज आदिका घट्नालाई लिइएका कथाहरु छन् । कथाहरु बान्की परेका, रोचकताले भरिपूर्ण छन् ।

प्रेमको उच्छवासमा लेखिएका कथाहरु उम्दा लाग्छन् । परम्परागत पद्धतिभन्दा केही भिन्न पद्धति लिएर हरिशका कथाहरु देखा परेका छन् । यस संग्रहका कथाका भूगोल स्वेदश मात्र छैन् विदेश पनि छ । स्थानीयताले छोएका कथा छन् । कथा भएपनि यथार्थकै वरिपरि जीवित मौलिक विषवस्तुको छनौट, सविस्तार स्पष्ट वर्णन गरिको कथाहरु छन् । कथाहरु सत्यको निकट लाग्छन् । कथाका रुप, आकार, तिनका शैली र शिल्प फरक–फरक लाग्छन् । कथालाई रोचक बनाउन सौन्दर्यले कतै–कतै लेपन गरिएको पाइन्छ । कथाकारको कल्पनाशिलता पनि गजबकै लाग्छ ।

यति हुँदा हुँदै पनि कथाहरुमा कतै–कतै एकरसता पो छ कि भन्ने भान पर्छ । कतै कतै अनावश्यक वर्णन गरे जस्तो लाग्छ । तर सरल भाषा संवाद, सिलसिलेवार कथानकता, जीवन दर्शन, सामाजिक परिवेश, प्रेम, पारिवारिक सम्बन्ध, नारी मनोदशा, जिन्दगीका दुर्घटनाहरु र उतार चढाव आदिलाई साँगोपाँगो प्रतिविम्वित गर्न सक्नु नै कथाकारको सफलता हो । कथाहरु राम्रा, पठनिय र सन्देशमूलक छन् । एकै बसाईमा पढ्न सकिने उनका यी कथाहरुले जापान र नेपालका रहनसहनसँग घुलमिल गराएका छन् ।

पनौती, काभ्रे
[email protected]

प्रतिक्रिया दिनुहोस्