Logo
Logo

नेपाल साफ आयोजना गर्न तयार छ : प्रधानमन्त्री

थ्री नेसन्स कपको उपाधि विजेता राष्ट्रिय फुटबल टिमका खेलाडी पुरस्कृत


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) आयोजना गर्न नेपाल तयार रहेको बताएका छन् ।

आइतबार प्रधानमन्त्री निबास बालुवाटारमा थ्री नेसन्स कपको उपाधि विजेता राष्ट्रिय फुटबल टिमका खेलाडीलाई पुरस्कृत गर्दै प्रधानमन्त्री ओलीले साफ खेलकुद नेपालले गर्न सक्ने भन्दै तयारीमा जुट्नुपर्ने बताए । उनले खेलाडीहरुमा जितको उत्साह रहेको भन्दै उहाले साफ पनि नेपालमा हुने र नेपालले जित्ने उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई साफ आयोजनाको तयारी अघि बढाउन समेत निर्देशन दिए । आयोजक राष्ट्र बंगलादेशले प्रतियोगिताबाट हात झिकेपछि नेपालमा साफ आयोजना गर्न एन्फाले दाबी पेश गरेको छ ।

प्रधानमन्त्री ओलीले नेपाललाई खेलकुदमा जित्ने बानी परेको र यसलाई निरन्तरता दिनुपर्ने बताए । खेल र खेलाडीको बिकासका लागि राज्य सदैव तयार रहेको प्रधानमन्त्री ओलीको भनाई छ । खेलाडीको जित नै देशको जित भएको भन्दै प्रधानमन्त्री ओलीले अर्को पुरस्कार लिने तयारीमा लाग्न आग्रह गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई जनही ४ लाख नगदसहित पुरस्कृत गरे । सरकारले यस अघि नै घोषणा गरेको पुरस्कार आइतबार खेलाडीलाई प्रदान गरेको हो ।

पुरस्कार पाउनेहरुमा २३ जना खेलाडी, प्रशिक्षक बालगोपाल महर्जन, सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोल किपिङ प्रशिक्षक बिकास मल्ल रहेका छन् । पुरस्कार ग्रहणपछि राष्ट्रिय टोलीका कप्ताल किरण चेम्जोङले सरकारले आफुहरुको हौसला बढाएको बताए ।

गत चैतमा भएको प्रतियोगीतामा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको थियो । दशरथ रंगशालामा भएको उक्त फाइनल हेर्न प्रधानमन्त्री ओली रंगशाला पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्