गैंडाकोट । भारतीय नागरिकलाई नक्कली नागरिकता बनाइदिएको आरोपमा प्रहरीले नवलपुरको गैंडाकोट नगरपालिका–६ का वडाध्यक्षसहित आठ जनालाई पक्राउ गरेको छ ।
भारतीय नागकिर जमिर देवनलाई गैंडाकोट–६ का स्थानीय जमिर मिया हुन् भन्दै नक्कली सिफारिसको आधारमा नागरिकता बनाइदिएको अभियोगमा वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटासहित आठ जनालाई इलाका प्रहरी कार्यालय गैंडाकोटले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वडाध्यक्ष सापकोटासहित भारतीय नागरिक ३३ वर्षीय जमिर देवन, नक्कली बाबु बनेका ५२ वर्षीय सफी अल्ला मियाँ, वडा सदस्य पवित्रा सापकोटा र चार जना साक्षीहरु रहेको प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिइन् ।
गैंडाकोट नगरपालिका–६ का वडाध्यक्ष सापकोटाले २०७७ चैत १ गते पहिचान विनै वंशजका आधारमा नागरिकता बनाउन झूठो विवरण पेश गरी नक्कली सिफारिस बनाइदिएका थिए ।
भारतीय नागरिक देवनलाई आफ्नै छोरा भन्दै नागरिकतामा उल्लेख आमा भनिने ममिता खातुनले सानैमा छोडेर गएको भनी झुठो विवरण पेश गरेर मियाँले नागरिकता बनाइदिएको प्रहरीको भनाइ छ ।
नक्कली बुबा आमाको नाता कायम गरी वडाध्यक्ष सापकोटाले जन्मदर्ताको प्रमाणपत्र समेतको सिफारिस लिई वंशजको आधारमा मिति २०७७ चैत ८ गते जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट पुस्ता पूर्वबाट नेपाली नागरिकताको प्रमाणपत्र बनाइदिएका थिए ।
जन्मदर्ता बनाएको १५ दिनभित्रै नागरिकता बनेको देखिएको प्रहरीको भनाइ छ । आरोपी देवनका जेठानले पनि उनी भारतीय नागरिक भएको स्वीकार गरेका छन् ।











