Logo
Logo

आठौँ राष्ट्रिय खेलकूदको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ चैत । आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन् । प्रदेश नम्बर ५ मा आगामी वैशाख ५ देखि ११ गतेसम्म हुने बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिताको नेपालगञ्ज रंगशालामा वैशाख ५ गते साँझ भव्य समारोहबीच राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ ।
उद्घाटन समारोहमा प्रदेशैपिच्चेका खेलाडीको मार्चपास, सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रस्तुत गरिनेछ ।
यस्तै प्रतियोगिताको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ । सोही रंगशालामा वैशाख ११ गते साँझ आयोजित कार्यक्रममा समापन गरिनेछ ।
यसअघि पूर्वाञ्चलमा आयोजना गरिएको सातौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको समापन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुभएको थियो । सोही समापन समारोहमा नवौँ राष्ट्रिय खेलकूदको मिति र स्थानसमेत घोषणा हुने राखेपले जनाएको छ ।
प्रतियोगिताका खेल भने यही चैत २७ गतेदेखि शुरु हुनेछन् । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र गैरआवासीय नेपाली संघ (एनआरएन) गरी ११ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा एक हजार ३०७ पदकका लागि पाँच हजार २११ खेलाडीले प्रतिष्पर्धा गर्ने छन् । प्रतियोगितामा ३७२ स्वर्ण, ३७२ रजत र ५६३ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्