Logo
Logo

महर्जन कम्प्लेक्सको स्पेस बुकिङ उत्साहजनक, विदेशका नेपालीबाट पनि चासो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । महर्जन बिजनेस एसोसिएट प्रालिले काठमाडौंको न्युरोडमा निर्माण गरिरहेको सम्पदामैत्री व्यावसायिक भवन ‘महर्जन कम्प्लेक्स’को २१ वटा कबल बुकिङ भएको छ । बुकिङ खुला गरेको एक सातामै सो संख्यामा बुकिङ भएको कम्पनीको भनाइ छ ।

काठमाडौं उपत्यका, देशका प्रमुख सहर र विदेशमा रहेका नेपालीसमेतले स्पेस बुकिङ गरेको प्रवद्र्धक कम्पनीका अध्यक्ष कृष्णलाल महर्जनले बताए । उक्त कम्प्लेक्सलाई संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय युनेस्कोले समेत प्रशंसा गरेका कारण विदेशमा रहेका केही नेपालीले बुकिङ गरेको र अरु थुप्रैले चासो राखेर सोधखोज गरिरहेको महर्जनको भनाइ छ ।


युनेस्कोले २२ नोभेम्बर २०१७ को एक पत्रमा उक्त कम्प्लेक्सको ‘नियो क्लासिकल’ (नवपारम्परिक) स्वरुपको तारिफ गरिएको छ । युनेस्कोको पत्रमा उक्त कम्प्लेक्सलाई हनुमानढोका गद्दी बैठकसँग मिल्दोजुल्दो भनिएको छ । कम्पनीले गत साता ८० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको कम्प्लेक्सको स्पेस बिक्रीका लागि विज्ञापन गरेको थियो ।


लोन्ली प्लानेट, ट्रिप एडभाइजरजस्ता विश्वविख्यात पर्यटनसम्बद्ध संस्थाहरुले संसारका घुम्नैपर्ने सहरको सूचीमा राखेको काठमाडौंको केन्द्र भागमा रहेकाले उक्त कम्प्लेक्समा स्पेस किन्न लगानीकर्ता उत्साहित भएको महर्जनको भनाइ छ । ‘काठमाडौंको इन्द्रचोक, न्युरोड जस्ता ठाउँ नेपालको मात्र होइन विश्वकै गन्तव्य हो । त्यस्तो ठाउँमा सम्पत्ति जोड्ने चाहना जो कोहीमा हुन्छ । एकपटक पुग्दा मात्रै त चित्त बुझ्ने ठाउँमा आफ्नै सम्पत्ति छ भन्न पाउनु एउटा नेपालीका लागि गर्वको विषय पनि हो,’ महर्जन भन्छन्, ‘छोटो अवधिमै यति धेरै संख्यामा कबल बुकिङ हुनुको पछाडि यही नै मुख्य कारण हो ।’ पाँच दर्जन कबल रहेको कम्प्लेक्सका दुई तिहाइ कबल मात्र बिक्री गर्ने प्रवद्र्धकको योजना छ । कम्पनी अध्यक्ष महर्जनले आफूहरुप्रति देखाएको विश्वासका लागि सम्पूर्ण बुकिङकर्ता र चासो राख्ने व्यक्तिहरुप्रति कतज्ञता ज्ञापन गरेका छन् ।


उनका अनुसार कम्प्लेक्सको बाहिरी स्वरूप एकदमै सम्पदामैत्री र क्लासिकल छ । भित्र अत्याधुनिक एस्कालेटर, इलेभेटर, क्पाप्सुल लिफ्ट, सेक्युरिटी, एयर कन्डिसनिङ र फायर फाइटिङ सिस्टम छ । ‘यो कम्प्लेक्स तयार भएपछि यहाँ कहिले चमेली, कहिले पारिजात, कहिले गुलाफ लगायत फूलको सुगन्ध मगमगाउँछ,’ महर्जनले भने ।


कम्प्लेक्सको बीच भागमा ४० प्रतिशत खुला ठाउँ छाडिएको छ । कम्प्लेक्सको बाहिरी ढोका काठका र परम्परागत शैलीका छन् । भवनको सुन्दरता र सुरक्षामा कुनै सम्झौता नगरिएको महर्जनको भनाइ छ । भूकम्पीय सुरक्षाका दृष्टिले अत्यन्तै बलियो संरचना तयार गरेको उनको भनाइ छ ।


व्यावसायिक सम्भावनाको हिसाबले सहरकै सबैभन्दा बढी मानिसको चहलपहल हुने क्षेत्रमा कम्प्लेक्स रहेकोले तीन वर्षमै स्पेसमा गरेको लगानी उठ्ने सम्भावना देखेर यसमा लगानीकर्ताको आकर्षण बढेको प्रवद्र्धकको बुझाइ छ । ‘दोस्रो कुरा न्युरोडको प्रोपर्टीको एस्केलेसन भ्यालु असाध्यै राम्रो छ,’ त्यसकारण पनि यो उत्साह देखिएको हो,’ महर्जनले भने, ‘हामीले ५० वर्षपछि पाएको भाग्य ५० जना नेपालीलाई बाँड्न चाहेका छौं र त्यसमा विश्वस्त पनि छौं ।’

प्रतिक्रिया दिनुहोस्