Logo
Logo

सुधीर बस्नेतलाई संगठित अपराध मुद्दा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ चैत ।
ओेरिएन्टल सहकारीमार्फत ठगी गरेको आरोपमा व्यवसायी सुधीर बस्नेत पक्राउ परेका छन् । सहकारीमार्फत १४ करोड रुपैयाँभन्दा धेरै ठगी गरेको जाँचबुझ समितिको प्रतिवेदनका आधारमा उनी पक्राउ परेका हुन् । भीमसेनगोलास्थित आफन्तको घरबाट उनलाई प्रहरीले समातेको हो ।
समस्याग्रस्त सहकारीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले बताए । जाँचबुझ आयोगले बस्नेतमाथि मुद्दा चलाउन सिफारिस गरेको थियो ।


उनी सञ्चालक रहेको ओरिएन्टल सहकारीमा बचत गरेको १४ करोडभन्दा धेरै रकम फिर्ता नदिएको भन्दै उजुरी परेको थियो । सो सहकारीमा सयौँ सर्वसाधारणको पैसा डुबेको छ । आकर्षक ब्याज दिने प्रचार गरी पैसा जम्मा गर्न लगाएर उनले व्यक्तिगत रूपमा घरजग्गामा लगानी गरेका थिए । घरजग्गा व्यवसायसमेत समस्यामा परेपछि उनले पैसा फिर्ता गर्न सकेनन् र सहकारी बन्द भएको थियो ।
विभिन्न हाउजिङको नाममा ठगी गरेको आरोपमा उनी ०७० पुसमा पक्राउ परेका थिए । गत वर्ष मात्र उनी धरौटीमा जेलबाट छुटेका थिए । उनका हाउजिङका कतिपय प्रोजेक्ट अलपत्र छन् ।
बस्नेतविरुद्ध ठगी र संगठित अपराध मुद्दामा कारबाही हुने डिएसपी बोगटीले बताए ।

प्रतिक्रिया दिनुहोस्