Logo
Logo

केटालाई त प्रेम प्रस्ताव आउँछ भने… : युमी बलामी, मोडल


दृष्टि संवाददाता


युमी बलामी डान्समै करिअर बनाउन चाहन्छिन् । एक कुसल कोरियोग्राफर तथा मोडलिङसमेत रहेकी युमी भन्छिन्, ‘डान्सबाटै अन्तर्राष्ट्रियमा आफू र देश नाम चिनाउने उद्देश्य छ । मकवानपुर, चित्लाङकी २३ वर्षीया युमी एसएलसी उर्तिण गरेपछि व्यवसायीरुपमा डान्स तथा कोरियोग्राफी गर्दै आएकी छन् । कोरियोग्राफी गर्दागर्दै मोडलिङमा पाइला राखेकी उनी भन्छिन्, ‘डान्स मेरो प्यासन हो, जन्मँदै यो प्रतिभा लिएर आएकी हुँ ।’ घुम्ने र साथीभाइसँग डेटिङ जाने टिनएज अवस्था डान्स करिअरकै लागि बिताएकी युमी भन्छिन्, ‘टिनएज कस्तो थियो भन्ने पनि मलाई थाहा छैन ।’ युमीको नजरमा नेपालमा पनि डान्सरको भविष्य सुन्दर छ । ‘अझ कोभिड–१९ को पेन्डामिकपछि डान्सको महत्व बढेको छ’ उनी भन्छिन्, ‘अहिले डान्सले मानिसलाई स्वस्थ्य बनाउँछ भन्ने धारणाको विकास भएको छ ।’ युमीसँग जम्काभेट :

तपाइँ मोडल कि डान्सर ?

म सुरुमा डान्सर हुँ, त्यसपछि कोरियोग्राफर । कोरियोग्राफीमा लागेपछि मोडलिङ सुरु गरेकी हुँ । तर, मेरो कलाकारिताको करिअर डान्सबाटै सुरु भएको हो ।

हिजोआज बढी सक्रिय केमा हुनुुहुन्छ ?

अहिलेचाहिँ मोडलिङ र कोरियोग्राफीमा बढी व्यस्त छु । स्टेज डान्सहरु पनि गर्दै आएकी छु । समग्रमा सबै विधामा उत्तिकै सक्रिय छु ।

प्राथमिकता केलाई दिनुभएको छ ?

मेरो प्राथमिकता डान्सलाई नै दिएकी छु । म डान्सकै कोरियोग्राफी गर्ने हो । पाँच वर्षदेखि कोरियोग्राफी गर्दै आएकी हुँ । मोडलिङ सुरु गरेको चाहिँ तीन वर्ष जति भयो ।

डान्सिङ क्षेत्रमा लाग्नुभएको कति भयो ?

म स्कुलदेखि डान्स गर्थे । तर, जब एसएलसी उर्तिण गरेँ, त्यसपछि सिकेर व्यवसायी रुपमै डान्सर भएकी हुँ । डान्सर भइसकेपछि कोरियोग्राफी गर्न थालेकी हुँ ।

सानैमा डान्सप्रति कसरी प्रभावित हुनुभयो ?

म डान्सर हुनुमा एउटा घटना छ । म जब सानोमा हिड्ने सिकेँ, त्यतिखेरै डान्स गर्थे रे । मेरो बुबाको हात समातेर हिड्न सिक्दा एक फन्का नाचेकी थिएँ रे । कला भनेको जन्मँदै लिएर आउनुपर्ने रहेछ ।

म्युजिक भिडियोमा मोडलिङ गर्नुहुन्छ होइन त ?

मोडलिङ, निर्देशन र कोरियोग्राफी सबै गर्छु । जानेको कुरा किन छोड्नु भनेर सबैतिर भ्याएकी छु । मेरो अभिनयमा रुचि छ । तर, अहिलेसम्म अभिनयमा चाहिँ पाइला राखेकी छैन ।

फिल्ममा अभिनयका लागि प्रस्ताव आयो भने के गर्नुहुन्छ ?

अभिनयमा पनि मेरो रुचि भएकाले अवश्य गर्छु । तर, सिकेरमात्र त्यस क्षेत्रमा लाग्ने सोच छ । अहिले फिल्मी अभिनयका लागि तयारी गर्दैछु ।

कस्तो फिल्ममा अफर आए काम गर्नुहुन्छ ?

अहिले मलाई थाहै छैन । त्यसको लागि तयारीमात्र गर्दैछु । अझै आफूलाई निखार्नुपर्छ भन्ने लागेको छ । आफूलाई निखारी सकेपछि कस्तो भूमिका सुहाउँछ । त्यसपछिमात्र कस्तो फिल्ममा काम गर्ने भन्ने निक्यौल गर्न सकिन्छ ।

घर परिवारको साथ सपोर्ट कतिको पाउनुभएको छ ?

पहिले त पटक्कै थिएन । यो रहरले नाच्छ भन्थे । बाबुआमाले विदेश जानुपर्छ पनि भन्थे । तर, मेरो रहर डान्समै थियो ।

तपाइँ आफ्नो पेसाबाट खुसी हुनुहुन्छ ?

एकदमै खुसी छु । मैले आफूले रोजेको पेसा अँगाल्न पाएकी छु । यस्तो अवसर थोरैले मात्र पाउने गरेका छन् । अहिले आफैँले डान्स स्टुडियो पनि खोलेकी छु ।

तपाइँको डान्स स्टुडियो कहाँ छ ?

भक्तपुरको लोकन्थलीमा छ । मेरो डान्स स्टुडियोमा नाम एन.वाई. फ्यान हो । अघिल्लो लकडाउनपछि खोलेकी हुँ । बीचमा कोरोनाले केही प्रभाव पारेको थियो । तर, अहिले त राम्रै छ ।

रियालिटी शो ‘डान्सिङ स्टार’मा पनि कोरियोग्राफी गर्नुभयो । अनुभव कस्तो भयो ?

डान्सिङ स्टार फ्रेन्चाइज शो हो । नेपालमै पहिलोपटक भएको बिग शोमा कोरियोग्राफी गर्ने अवसर पाउँदा नयाँ अनुभव भयो । खुसी पनि लाग्यो ।

लक्ष्य के छ ?

डान्समै करिअर बनाउने प्रयत्नरत छु । त्यसैले डान्सबाटै विदेशमा नेपाल र आफूलाई चिनाउने लक्ष्य लिएकी छु ।

नेपालमा डान्समै करिअर बनाउन सम्भव छ ?

आफूमा प्रतिभा छ र निडर भएर लाग्यो भने सम्भव छ । अहिले नेपाल पनि डान्सको क्रेज बढ्दै गएको छ । विशेषगरी रियालिटी शोहरुले गर्दा पनि डान्सको क्रेज राम्रो छ ।

टिनएजमा डेटिङको अनुभव छ कि छैन ?

डेटिङ अनुभव छैन भन्न त मिल्दैन । मेरो टिनएजचाहिँ टिनएज जस्तो वितेन । अब चाहिँ जीवनमा रमाइलो पनि गर्नुपर्ने रहेछ भन्ने सोच आएको छ ।

प्रेम प्रस्ताव कतिको आउँछ ?

यो नर्मल हो । केटा मान्छेहरुलाई त आउँछ भने म केटी परेँ । तर, प्रेम प्रस्ताव आएपनि स्वीकार्ने वा नस्वीकार्ने आफूमा भर पर्छ । अहिलेचाहिँ म सिंगल छु ।

प्रतिक्रिया दिनुहोस्