एउटा आडम्बरी शासकको पतन « Drishti News – Nepalese News Portal
Logo

एउटा आडम्बरी शासकको पतन


मिलन लिम्बू


इतिहासले एक पटक अवसर दिन्छ । अवसर सदुपयोग गर्नेहरु इतिहासमा महान् हुन्छन् । दुरुपयोग गर्नेहरु इतिहासमा कलंकका पात्र बन्छन् । केपी शर्मा ओलीले पुष्टि यही गरे– अवसर दुरुपयोग गर्नेहरु साँच्चिकै कलंक हुने रहेछन् !

धार्मिक ग्रन्थहरुमा मात्र होइन, मानव जीवनमा पनि कलंकहरुको अवसान हेर्न लयाक हुन्छ । इतिहासमा जसरी ‘शासकहरुको अवसान’को क्षण हेर्न लायक थियो, आज त्यसरी नै बालुवाटार र शीतल निवासको अनुहार हेर्न लायक छ ।

आँखामा झलझली छ, इतिहासकै ठूलो कम्युनिष्ट पार्टीको अध्यक्ष र लगभग दुई तिहाइ जनमतसहितको प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओली ‘अदम्य साहस’का साथ बालुवाटार प्रवेश गरेका थिए । तर, परिस्थिति यस्तो बन्यो, उनै बाहुबली ओली कलंकको बदनामी भिरेर कुनै हिमालय पर्वतको फेदी ताक्नुपर्ने बेला आयो । जहाँ, धर्मभीरुको रुपमा कलंक छोप्न सकियोस् ! एउटा आडम्बरी शासकलाई आफ्नो राजको अवसानपछि त्योभन्दा अरु विकल्प सुहाउँदैन ।

नेपाली जनताले विकास र समृद्धि चाहे । जसका लागि राजनीतिक स्थायित्व चाहिन्छ भन्ने बुझे । त्यसैले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकताको म्याण्डेटसहित जतनाले मत दिए । नेतृत्वको रुपमा केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाए ।

नेपाली कम्युनिष्ट आन्दोलनका लागि योभन्दा सुखद् अवसर थिएन । तर, ओली आडम्बरले आम जनताको चाहनामा तुषारपात भयो । न आज इतिहासकै ठूलो कम्युनिष्ट पार्टी बाँकी रह्यो, न त दुईतिहाइ मतसहितको कम्युनिष्ट सरकार नै । आम जनताका लागि योभन्दा दुःखद अरु हुँदैन । कम्युनिष्ट आन्दोलनलाई योभन्दा ठूलो घात भएको छैन ।

शक्तिको उन्माद साँच्चिकै हानिकारक हुन्छ । इतिहासकै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी र दुईतिहाइ बहुमतको उन्मादमा ओलीले जेजस्तो राज चलाए, त्यसले ओलीलाई पतनबाहेक अन्त पुर्याउने थिएन र पुर्याउँदैनथ्यो । आज ओली जहाँ पुगेका छन, त्योभन्दा अरु पुग्ने ठाउँ अब बाँकी छैन ।

बाहुबली अवतारमा बालुवाटार छिरेका ओली भिजेको मुसा झै निरीह भएर बाहिरिए । इतिहासमा जसरी ‘शासकहरुको अवसान’ हेर्न लायक थियो, आज त्यसरी नै बालुवाटार र शीतल निवासको अनुहार हेर्न लायक छ ।

पार्टी एकताको क्रममा ओली–प्रचण्डबीच आधा–आधा समय प्रधानमन्त्री हुने सहमति भयो । दुबै अध्यक्ष रहेर पार्टीको नेतृत्व गर्ने सहमति भएको थियो । यसमा पार्टी पंक्ति वा अरु कसैको एक शब्दमा पनि विमति थिएन । तर, सत्ता शक्तिको आशक्तिमा ओलीले सहमति भूलेर पूर्णकाल प्रधानमन्त्री हुने माग राखे । प्रचण्डले ‘हुन्छ’ भनिदिए । त्यो दिनदेखि नै हो, ओली उन्मादको पारो उकालो चढेको हो ।

पार्टीको काम प्रचण्डले गर्ने र पार्टीको अधिनमा रहेर सरकारमार्फत पार्टीको घोषणापत्र अनुसारको काम ओलीले गर्ने शर्तमा प्रचण्डले प्रधानमन्त्री पद छोड्दा ओली र पार्टी दुवैका लागि गलत निर्णय थिएन । तर, ओलीले प्रचण्डको त्यो निर्णयलाई कम्युनिष्ट पार्टी सिध्याउने अस्त्रको रुपमा प्रयोग गरे । आम जनता र नेता कार्यकर्ताको चाहनामा डडेलो झोसे !

सरकारलाई पार्टीको अधिनभन्दा बाहिर राखेर ओलीले जुन दिनबाट गतिविधि सुरु गरे, सोही विन्दुबाट ‘ओली युग अवसान’को गन्ती सुरु भएको थियो । उनले जति निर्णयहरु गरेका थिए ति सबै ओली पतनका सारथी बने । पार्टी भित्रको मतभेदलाई प्रतिनिधिसभा विघटमा लगेर टुङ्ग्याउनु अपराध थियो ।

फागुन ११ मा सर्वाेच्चले प्रतिनिधिसभा पुनःस्थापना गरेकै दिन ओली अराजकताको अन्त्य भएको हो । तर, स्वार्थ समूहको योजनाका केही शक्ति सिफ्ट हुँदा ओली बौराए । पुनः सार्वभौम संसदमाथि ओलीबाट प्रहार भयो । संविधान समाप्त पार्ने गतिविधि भयो ।

प्रतिनिधिसभा पुनःस्थापना गर्ने फागुन ११ को फैसलापछि ओलीलाई पुनःसत्तामा रहन जुन सुविधा थियो, अब रहेन । २०७८ असार २८ को फैसलाले ओलीलाई प्रधानमन्त्रीकै रुपमा रहन सुविधा दिएन । सर्वोच्चले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्नु नै ओलीको सत्ता यात्रामा पूर्णविराम लाग्नु थियो ।

गल्तीहरुबाट पाठ सिक्ने हो । आत्मालोचना गर्दै आफूलाई ‘करेक्सन’ गर्ने हो । ओलीलाई त्यो अवसर थियो । तर, न पाठ सिक्न चाहे, न आफूलाई करेक्सन गर्न नै । बरु एकपछि अर्को गर्दै बदलाको भावबाट प्रेरित भएर गतिविधि गर्दै गए । प्रतिशोधहरुले कहाँ पुर्याउने रहेछ भन्ने अनुभूति सबैभन्दा धेरै ओलीले गरेको हुनुपर्छ, यो अवधिमा ।

पार्टीको मतभेद प्रतिनिधिसभा विघटनमा टुङ्ग्याउनु गल्ती थियो । फागुन ११ को फैसलाले ‘करेक्सन’ हुने अवसर प्रदान दियो । तर, ओली करेक्सन हुन तयार भएनन् । बदलामा इतिहासकै शक्तिशाली कम्युनिष्ट पार्टी खारेज गराए ।

कम्युनिष्ट पार्टी खारेज भएपछि भएका विरोध र आलोचनाहरुबाट आफूलाई करेक्सन गरेनन् । बरु, प्रतिशोधको आगो बाले । माधव नेपालहरुमाथि निरन्तर प्रहार गरे । आनुकूलतामा राष्ट्रपतिलाई प्रयोग गरेर अवैधानिक प्रधानमन्त्रीको पगरी गुथे । पुनः प्रतिनिधिसभा विघटन गरे । ओलीका यी सबै गतिविधि अवसान यात्राका आधार थिए, कारण बने ।

सम्भावनाहरु सधैँका लागि अन्त्य हुँदैनन् । कुनै न कुनै विन्दुमा सम्भावना रहन्छ । ओलीका लागि सबै सम्भावना सकिएका होइनन् । तर, सम्भावना पनि आफूमा निर्भर हुन्छ । ओलीले आफूलाई करेक्सन गर्न चाहे राजनीतिक शक्तिमा रहने सम्भावना रहन्छ । त्यस्तो अवस्थामा एकीकृत एमाले पनि सम्भव छ ।

जसका लागि माधवहरुसँग ‘अहिलेसम्मका सबै कदमहरु गल्ती थिए’ भन्न ओली तयार हुनुपर्छ । आत्मलोचना गर्दै ‘आगामी दिनमा यस्ता गल्ती हुने छैनन्’ भन्नलाई ओली तयार हुनुपर्छ । नत्र, ओलीको लागि आगामी दिन उज्यालो छैन ।

ओली प्रवृत्ति अन्त्य आवश्यक

कम्युनिष्टहरु सैद्धान्तिक र वैचारिक विमर्शबाट टाढा भइसके । विचार विहीनहरुको समूह कम्युनिष्ट पार्टी हुँदैन । आफूलाई कम्युनिष्ट भनेर दावी गरेपनि बुर्जुवाभन्दा फरक छैनन् । नेपालका कम्युनिष्ट आज यस्तै देखिन्छन् ।

सिद्धान्त र विचारबाट प्रेरित कम्युनिष्ट आदर्श र मूल्य मान्यताबाट च्यूत हुँदैनन् । तर, यहाँका कम्युनिष्ट एकपटक होइन, पटक–पटक च्यूत भएका छन् । त्यसैले त कम्युनिष्ट पार्टीहरु संकटमा छन्, कम्युनिष्ट आन्दोलन संकटमा पुग्यो ।

नेपाली कम्युनिष्ट आन्दोलनको एउटा हिस्सा नेकपा एमाले चरम संकट सामना गर्दैैछ । आन्तरिक मतभेदहरु चरम विन्दुमा पुगेका छन् । परिस्थितिले एमाले एक नरहन पनि सक्छ । एमालेको वर्तमान अन्तरविरोधलाई ठिक ढंगले व्यवस्थापन गर्न सकिएन भने कम्युनिष्ट आन्दोलनलाई सकारात्मक दिशावोध गर्न सक्दैन । एमालेको वर्तमान समस्यालाई सैद्धान्तिक रुपमा व्यवस्थापन गर्न सक्नुपर्छ ।

एमाले समस्या देख्दा केपी शर्मा ओली र माधवकुमार नेपालबीचको ‘जुँगाको लडाइँ’जस्तो देखिन्छ । तर, यो समस्या कम्युनिष्टहरु आदर्श र मूल्यमान्यताबाट च्युत हुनुको परिणाम हो । विचारधारबाट विखुम हुनुको कारण हो । यस्तो परिस्थितिबाट एमाले बचाउनु र कम्युनिष्ट आन्दोलनलाई दिशावोध गर्न कम्युनिष्ट आन्दोलनमा मौलाएको सैद्धान्तिक वैचारिक विचलनको गम्भीर समीक्षा गर्नुपर्छ ।

परिस्थितिले वर्तमान राजनीतिक संकटको कारक केपी शर्मा ओली देखिए । यसमा उनका व्यक्तिगत गुणले धेरै भूमिका खेल्नु बेग्लै कुरा हो । तर, ओली प्रवृत्ति विकासमा समकालीन कम्युनिष्ट आन्दोलनका सबै नेतृत्व जिम्मेवार हुन् । यहाँ हरेकसँग धेरथोर ओली प्रवृत्ति छ ।

जुन प्रवृत्ति नै कम्युनिष्ट आन्दोलन संकटमा पार्ने अस्त्र बनेको छ । सोही अस्त्र प्रयोग गरी इतिहासकै ठूलो कम्युनिष्ट पार्टी ध्वस्त पारियो, कम्युनिष्ट नेतृत्वमा बनेको सरकार ध्वस्त पारियो । अब कम्युनिष्ट आन्दोलन नै समाप्त पार्ने खेल चल्दैछ ।

कम्युनिष्टहरु आफूलाई ‘करेक्सन’ गर्न तयार हुनुपर्छ । ओली र ओली प्रवृत्तिका कारण कम्युनिष्ट आन्दोलनले ब्यहोरेको क्षतिबारे गम्भीर समीक्षा गर्नुपर्छ । यस्ता प्रवृत्ति अन्त्यका लागि पहल हुनुपर्छ ।

कम्युनिष्टहरु इमानदार भएर जनतासँग जोडिने हो भने केही सालमा फेरि यस्तै बलियो मत पाउन सक्छन् । तर, सत्तामा पुगेपछि फेरि पतन नै हुने हो भने किन दुःख गर्ने ? सत्ता हातमा लिएर बहुसंख्यक श्रमजीवि वर्गको पक्षमा काम गर्ने नै हो भने आजकै विन्दुबाट सच्चिनुपर्छ र आवश्यक पनि छ ।

प्रतिक्रिया दिनुहोस्